|

काठमाडौं : भूकम्पलगत्तैको लाङटाङ, बीच अवधिको लाङटाङ र पछिल्लो अवधिको लाङटाङको एउटा सग्लो र सकारात्मक कथा झल्कने ‘लाङटाङ जर्नी ः ट्रेजेडी टु इन्स्पिरेसन’ शीर्षकको कार्यक्रम राजधानीमा सम्पन्न भएको छ। 

लाङटाङ सद्भावना दूत अशोक सिलवालको आयोजनामा भृकुटीमन्डपस्थित नेपाल पर्यटन बोर्ड (एनटीवी)को अडिटोरियम हलमा सम्पन्न कार्यक्रममा सिलवालले उनी निर्देशित ‘घर फर्किरहेका मान्छे’ र ‘लाङटाङ अपडेट : वेकिङ एन्ड वाकिङ्’ शीर्षकका दुई वृत्तचित्र प्रदर्शन मात्र गरेनन्, भूकम्पपछि पटक पटक लाङटाङ जाँदाको रोचक र मार्मिक अनुभव पनि सुनाए। 

‘घर फर्किरहेका मान्छे’ शीर्षकको पहिलो वृत्तचित्रमा सिलवालले उनीसँगै लाङटाङ फर्किंदै गरेका स्थानीयको कथालाई समेटेका छन्। दोस्रो वृत्तचित्र ‘लाङटाङ अपडेट : वेकिङ एन्ड वाकिङ्’ भूकम्पपछि लाङटाङ ट्रेक गर्दै गरेको पहिलो विदेशी पदयात्री समूहको सांकेतिक कथा हो।

‘मृत्युबाट जीवनमा फर्केको लाङटाङको लयलाई कार्यक्रममार्फत् देखाउने मेरो प्रयास हो। भूकम्प र हिमपहिरोको वियोगबाट उठेको यो हिमालयको कथा अरू थुप्रै गाउँ र ठाउँका लागि प्रेरणा बन्नेछ’, कथावाचन र श्रव्य–दृश्यसहितको कार्यक्रमको सुरुमा निकै भावुक भएर बोल्नसमेत नसकेका लाङटाङ सद्भावना दूत सिलवालले हलमा सयौं अतिथि दर्शकलाई सम्बोधन गदै भने, ‘तपाईंहरूको यो बेजोड उपस्थिति भूकम्पको भयानक त्रासदीबाट उत्रेर जीवनको उज्यालोमा फर्किएका लाङटाबासीप्रतिको सम्मान पनि हो।’ 

एनटीवीसँगको साझेदारीमा आयोजित कार्यक्रममा काठमाडौंमा अध्ययनरत लाङटाङका विद्यार्थीहरूको पनि उल्लेख्य उपस्थिति थियो। 

भूकम्पले पूरै बगाएको लाङटाङ अहिले पुरानै स्वरूपमा आइसकेको छ। अझ त्यसभन्दा पनि बढी सुविधासम्पन्न भएको छ। पहिले बिजुली बत्ती थिएन, अहिले क्यान्जिङमा उत्पादित बिजुलीले क्यान्जिङ, सिन्धुम, मुन्डु, लाङटाङ गाउँ र गुम्बा डाँडा उज्यालिएको छ। क्यान्जिङमा वाइफाई सेवा पहिलो पटक सुरु भएको छ। 
‘भूकम्पमा श्रीमान गुमाएकी एक जना स्थानीयले श्रीमती गुमाएको अर्को पुरुषसँग विवाह गरेर मृत्यपछि पनि नयाँ व्यवस्थित जीवन सुरु गरेको भेटेँ’, सिलवालले दर्शक अतिथिलाई सोधे, ‘के यो अँध्यारोबाट उज्यालोतिरको यात्रा होइन?’ उनले त्यसो भन्दा हलमा उपस्थित दर्शकले निकै बेरसम्म ताली बजाएका थिए।

२०७२ बैशाख १२ को विनाशकारी भूकम्प र लगत्तैको हिमपहिरोपछि मानवविहीन बनेको पर्वतीय पर्यटनको एउटा विशेष केन्द्र लाङटाङमा पैदलै पुग्ने सिलवाल पहिलो पत्रकार हुन्। टुर/ट्रेकिङ गाइड एवम् प्रशिक्षकसमेत रहेका सिलवालले वृत्तचित्र, आलेख, अन्तर्वार्ता आदिको माध्यमबाट भूकम्पपछिको लाङटाङको वस्तुस्थितिलाई प्रकाशमा ल्याई पदयात्रा पर्यटनमा आधारित त्यहाँको हिमाली जीवनलाई पुरानै लयमा फर्काउन महत्त्वपूर्ण योगदान पुर्याएका थिए। 

लाङटाङ क्षेत्रको पर्यटकीय पुनःस्थापनाका लागि अभियानकै रूपमा लागिरहँदा उनलाई समग्र लाङटाङबासीको तर्फबाट लाङटाङ मेनेजमेन्ट एन्ड रिकन्स्ट्रक्सन कमिटीले लाङटाङ सद्भावना दूतको उपाधिसहित सम्मान गरेर त्यस क्षेत्रको पर्यटकीय विकासमा सक्रिय हुन अझ ठूलो जिम्मेवारी दिएको थियो। लाङटाङ क्षेत्रको पुनःस्थापनामा विशेष योगदान पुर्याएको भन्दै ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र राष्ट्रिय पर्यटन व्यवसायी संघ नेपाल (निट–नेपाल)ले पनि उनलाई पुरस्कृत गरेर अझ बढी सक्रिय रहन प्रोत्साहन गरेका थिए। 

कार्यक्रममा सिलवालको लाङटाङ प्रेम र प्रस्तुति देखेपछि नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, कवि नवराज लम्साल, चिन्तक डम्बर खतिवडा, निट–नेपालका अध्यक्ष दीपक महत, स्थानीय तेम्बा लामा आदिले सिलवालको लाङटाङ उत्खनन् र त्यसको लोभलाग्दो फलोअपको प्रशंसा गरे। 
सिलवालले पहिलो पटक आफूसँगै लाङटाङ गएका जनार्दन खतिवडा र बलराम न्यौपानेलाई सहयात्री सम्मान गरे भने पहिलो पटक लाङटाङ यात्राको आयोजना गर्ने निट–नेपाल, अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन प्रतियोगिता गर्दै आएको टान र भूकम्पलगत्तै गठित लाङटाङ मेनेजमेन्ट एन्ड रिकन्स्ट्रक्सन कमिटीका प्रतिनिधिलाई पनि सम्मान गरेका थिए। 

लाङटाङबासीको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रममा टे«किङ एजेन्सिज् एसोसिएसन, गोसाइँकुन्ड गाउँपालिका– ४ (लाङटाङ)का वडा सदस्य, टानका अध्यक्ष नवराज दाहाल, नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष सन्तवीर लामा, नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली, गुरुङ पर्यटन समाजकी अध्यक्ष कमला गुरुङ, पर्यटन सेवा संघका अध्यक्ष रामशरण थपलिया, नेपाल पर्यटन बोर्डका सदस्य अवधेशकुमार दास, किपका अध्यक्ष विमल नहर्की, टानका पूर्वअध्यक्ष रमेश धमला, पर्यटन प्रहरी इकाई प्रमुख रूपा थापा, नेपाल पर्यटन बोर्डका पूर्वसदस्य गणेश सिम्खडा, एनएमए पूर्वअध्यक्ष आङछिरिङ शेर्पा, एनएमए पूर्वमहासचिव ठाकुरराज पाण्डे, टानका पूर्वमहासचिव मोहन लम्साललगायत अधिकांश सरोकारवाला पदाधिकारीहरूको उपस्थिति थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.