|

चितवन : चितवनको धार्मिकस्थल देवघाटधाममा पालिएका गाई जंगलबाटै चोरीगरी लैजान लाग्दा प्रहरीले बुधबार अपरान्ह दुई जनालाई रंगे हात पक्राउ गरेको छ।

देवघाटस्थित बागिश्वरी आध्यात्मिक परिषद योगिनरहरीनाथ आश्रममा पालिएका स्थानीय जातका गाई चराउन लगेका बेला जंगलबाटै चोरी गर्न लाग्दा अपरान्ह ३ बजे दुईजना पक्राउ परेको चितवनका प्रहरी नायव उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए।

यसरी पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका-१२ का ४६ वर्षीय शंकर लामा र गाडी चालक भरतपुर १७ का गणेश तिमिल्सिना रहेको आचार्यको भनाई छ।  उनका अनुसार जंगलबाट ना ४ च ४०४४ नम्बरको गाडीमा गाई हालेर लैजान लागेका बेला उनीहरूलाई पक्राउ गरिएको हो।

दुईवटा माउ गाई, एउटा बाच्छी र दुर्इवटा बाच्छा गाडीमा राखेर लैजान लागेका बेला उनीहरू पक्राउ परेका हुन्। उक्त गाडी नियन्त्रणमा लिएर गाईलाई आश्रममा पठाइएको प्रहरीले जनाएको छ।

यसअघि पटकपटक गाई हराउन थालेपछि आश्रमले विगत एक महिनादेखि निगरानी बढाएको आश्रमको गौ संरक्षण केन्द्रका संयोजक टंकनाथ पौडेलले बताए।

यसअघि पटकपटक गरेर करिब ३० वटा गाई हराइसकेको उनको भनाई छ। पक्राउ परेका दुईजनालाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। आश्रममा करिव २०० गाई रहेको छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.