|

  • रमेश रावत

अछाम : छाउगोठमा सर्पले डसेर मृत्यु भएकी तुर्माखाद गाउँपालिका-४ की पार्वती बुढाको शव उत्खनन् गरिएको छ। आइतबार राति छिमेकिको छाउगोठमा सुतिरहेकी १८ वर्षीया पार्वतीलाई सर्पले डसेर मृत्यु भएको थियो। मृत्युपश्चात् उनको शवलाई आफन्तले प्रहरीलाई जानकारी नै नदिर्इ घर नजिकै कर्णाली किनारमा गाढेका थिए।

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पार्वतीको मृत्यु छाउगोठमा भएको कुरा बाहिर आएपछि प्रहरीले घटनाप्रति चासो दिएको हो। मंगलबार इलाका प्रहरी कार्यालय कमलबजारबाट प्रनानी देवबहादुर चन्दको नेतृत्वमा स्थलगत अनुसन्धानमा गएको प्रहरी टोलीले छाउगोठमै पार्वतीको मृत्यु भएको निश्कर्ष निकालेपछि उनको शवलाई बुधबार उत्खनन् गरी जिल्ला सदरमुकाम पुर्‍याइएको हो।

छिमेकी बहिनी राधिका बुढासँगै सुतेकी पार्वतीको दाँया हातमा सर्पले टोकेको थियो। विकटको बस्ती भएकाले समयमै उपचार नपाउँदा उनको मृत्यु भएको हो। जिल्ला अस्पतालमा शवको पोस्टमार्टम गरिएको छ।

यस्तो थियो घटनास्थल

जिल्ला सदरमुकामदेखि करिब ६ घण्टाको (सवारी) दूरीमा रहेको उक्त स्थान अछाम र सुर्खेतको सिमानामा पर्छ। अपराह्न प्रहरी टोलीसँगै हामी पुग्दा स्थानीयहरू त्रसित बने।

उनीहरू छाउगोठमै राखेको कारण आफूलाई कारवाही हुन्छ की भन्ने चिन्तामा थिए। मृतक पार्वतीको खरले छाएको घरमा कोही पनि थिएनन्। हामी पुगेपछि बुढा अपांग बुवा हर्क बुढा बारीबाट निस्किए। सिधा गरेर हिड्न नसक्ने उनले हामी देख्नासाथ आशु झारे र आफ्नो छोरीको मृत्युबारे केही बोल्नै सकेनन्। मृतक पार्वतीको भन्दा करिब ५० मिटरमाथि तिर छिमेकी हिरा बुढाको घर छ। हिरा बुढाको घरदेखि करिब २० मिटरको दूरीमा केही दारकाठ नमिलाएरै राखिएको थियो। केही ढुंगाहरू छरिएका थिए। त्यो ठाउँ छाउगोठ भएको ठाउँ हो। पार्वतीको मृत्युपछि उक्त छाउगोठ भत्काइएको रहेछ। घरभन्दा करिब ७०० मिटर नजिकै कर्णाली किनारमा पार्वतीको शवलाई गाडिएको थियो।

सँगै सुतेकी बहिनीको भनाइ

पार्वतीलाई महिनावारी भएको चार दिन भएको थियो। पार्वतीसँगै उनकी बहिनी राधिका बुढा पनि उक्त छाउगोठमा सुतेकी थिइन्। उक्त दिन राधिकालाई पाँच दिन पुगेको थियो। त्यो गाउँमा ७ दिनसम्म छाउगोठमा बस्ने परम्परा छ।

राति करिब १२ बजेतिर पार्वती ब्युँझिएर राधिकालाई चिच्याउदै उठाइन र राधिकालाई हातको घाउ देखाउँदै भनिन् 'मलाई केही किराले टोक्यो कि क्या हो!' नभिन्दै पार्वतीको शरीर सुन्निन थाल्यो। राधिका र पार्वतीले सर्पले डुसेको अनुमान गरे। घरको मान्छेलाई ब्युँझाइन र टोलभरि हल्ला फैलियो। टोलका केही जम्मा भए। जम्मा भइन्जेल पार्वती बेहोश भई सकेकी थिइन। टाढा लैजाने सडकको अभाव तथा यातायातको साधन नभएकाले करिब पाँच घण्टासम्म पार्वतीको कुनै पनि उपचार हुन सकेन र विहान ५ बजे पार्वतीले प्राण त्याग गरिन्।

घरपरिवारको विजोग

६० वर्ष क्रस भएपनि ८० काटेजस्ता देखिने अपांगता भएका बुवा छन्। बूढी आमा पनि घरमा कामकाज गर्न नसक्ने भएकाले आमा बुवाको पालन पोषण पार्वतीकै जिम्मा थियो। पार्वतीको मुत्युपछि आमा केही दिनको लागि रुँदै माइतीघर गएकी छन्। बूढा बुवा दिउँसो नजिकैको चिया पसलमा गएर आफन्तसँग दिन बिताउँछन्। पार्वतीको शव उत्खनन् गरिएपछि पीडित परिवारमा झनै पीडा थपिएको छ।

जिल्लामा १३ पुग्यो छाउगोठमै ज्यान गुमाउनेको्सं ख्या

छाउपडी प्रथाविरुद्धमा विभिन्न कार्यक्रमहरू जोडातोडका साथ चले पनि कार्यक्रम प्रभावकारी नभएको सरोकारवाला बताउछन्। जिल्ला प्रहरी कार्यालयले राखेको तथ्यांकअनुसार २०६३ सालदेखि हालसम्म १३ जना महिला तथा किशोरीले छाउगोठमै ज्यान गुमाएका छन्।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक रुकेश तण्डुकारले जानकारी दिएअनुसार यी हुन छाउगोठमा ज्यान गुमाउने महिला तथा किशोरीहरू–

१.  गौरी बुढा :  तुर्माखाद गाउँपालिका ४

२. रोशनी तिरुवा : बान्निगढी जयगढ गाउँपालिका १

३. डम्मरा उपाध्याय : बान्निगढी जयगढ गाउँपालिका ४

४. शर्मिला भुल : चौरपाटी गाउँपालिका, रिडिकोट

५. लक्ष्मि बुढा : ढकारी गाउँपालिका १

६. झुमादेवी शाही : पञ्चदेवल विनायक नगरपालिका ८

७. डिक्रा देवि ढकाल : कमलबजार नगरपालिका ६

८. रतनदेवी तिरुवा : चौरपाटी गाउँपालिका ४

९. झुप्री ढोली : चौरपाटी गाउँपालिका ४

१०. पार्वती दमाई : चौरपाटि गाउँपालिका ४

११. हंसा जैसी : तुर्माखाद गाउँपालिका ५

१२ हंसदेवी जोशी : तुर्माखाद गाउँपालिका ६

१३ पार्वती बुढा : तुर्माखाद गाउँपालिका ४

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.