|

विराटनगर : वैदेशिक रोजगारमा जाने भनेर म्यानपावर र एजेन्टबाट ठगिएकासँग पैसाको भरपाइ र आवश्यक कागजपत्र नहुँदा कानुनी रूपमा कारबाहीमा समस्या हुने गरेको छ। रोजगारमा जाने भनेर ठगिएका युवासँग आवश्यक कागजपत्र नहुँदा कानुनी प्रक्रियामा अगाडि बढ्न समस्या देखिएको हो।

सरकारी निकायले जानेर बुझेर मात्र रकम बुझाउन पटक-पटक आग्रह गर्दै आए पनि युवा युवतीले अटेर गर्दा ठगीका घटना कम हुन नसकेको सरोकारवाला बताउँछन्। रोजगारमा जानुअघि कानुनी परामर्श तथा वैदेशिक रोजगारसम्बन्धी आधरभूत जानकारी नलिँदा रोजगारको बहानमा ठगिधन्दा मौलाउँदै गएको देखिन्छ। 

वैदेशिक रोजगारमा जानेहरू म्यानपावर र दलालबाट ठगिएको उजुरी लिएर प्राय दैनिकजसो आउने गरेको मानव अधिकारको लागि जनमञ्च पिपुल फोरम मोरङ विराटनगरकी अधिवक्ता कला त्रितालले जानकारी दिए। रोजगारमा जाने भनेर ठगिएका युवासँग आवश्यक काजगपत्र नहुँदा कानुनी प्रक्रियामा अगाडि बढ्न समस्या हुने गरेको उनको भनाइ छ। ‘ठगिएको गुनासो लिएर हाम्रो कार्यालयसम्म धेरै आउँछन्,’ अधिवक्ता त्रितालले भने, ‘रोजगारमा जाँदा एजेन्ट वा मेनवापरलाई बुझाएको नगदरसिद वा भौचर नहुँदा कानुनी प्रक्रियामा अगाडि बढ्न समस्या हुने गर्दछ।’ 

ठगी मुद्दाको उजुरी गर्दा पीडितले पैसा दिँदा प्राप्त भएको भरपाई, आफ्नो नागरिकता वा पासपोर्टको प्रतिलिपि, रोजगारदातासँग भएको सम्झौता, कम पारिश्रमिक बुझेको कागज वा बैंक स्टेटमेन्ट, भिषाको प्रतिलिपि, विदेश जाँदा आउँदाको हवाई जहाजको टिकट, विदेशमा र स्वदेशमा स्वास्थ्य परीक्षण गरेको प्रमाण भए पीडितले सजिलै न्याय पाउने अधिवक्ता त्रितालले बताए। ‘वैदेशिक रोजगारमा जानेले यी कुरामा जहिले पनि ख्याल गर्नुपर्दछ। यदी काजगपत्र भए पीडितले तिरेको पैसासमेत म्यानपावरबाट फिर्ता हुन्छ,’ त्रितालले भने। 

वैदेशिक रोजगारको क्रममा ठगी वा शोषणमा परेका पीडित व्यक्तिलाई निःशुल्क कानुनी सहायता तथा कानुनी परामर्श सेवा प्रदान गर्दै आएको पिपुल फोरम मोरङमा एक वर्षमा ४३ वटा ठगीको उजुरी आएको कार्यालयले जनाएको छ। कानुनी परामर्श र प्रमाण पेश गरी कार्यालयमार्फत वैदेशिक रोजगार विभागको कार्यालयको एक वर्षमा ४३ वटा मुद्दा दर्ता भएको अभिलेखमा देखिन्छ। 

म्यानपावर र दलालबाट ठगिएको घटना वैदेशिक रोजगार विभागले मात्र हेर्ने भएकोले पीडितले राहत ढिलो पाउने गरेको बताइएको छ। सरकारी नियमकारी निकाय प्रभावकारी हुन नसक्दा ठगहरू खुल्लेआम हिंड्ने गरेको पीडित बताए। ठगि मुद्दामा पीडितलाई क्षतिपूर्तिदेखि घटनाको प्रकृति हेरेर कैदको व्यवस्था ऐनमा उल्लेख रहेको छ । ठगि मुद्दा विशेष सरकारी वकिलले हेर्दै आएका छन्। 

 निःशुल्क कानुनी परामर्श 

वैदेशिक रोजगारमा जान चाहने र गएर आएका युवालाई मानव अधिकारको लागि जनमञ्च (पिपुल फोरम) मोरङले एक हजार बढीलाई निः शुल्क कानुनी सेवा प्रदान गरेको छ। पिपुल फोरमले सञ्चालन सञ्चालन गरेको अभियानअन्तर्गत मोरङको विभिन्न ठाउँमा पुगेर एकहजार बढीलाई कानुनी सेवा प्रदान गरेको हो।वैदेशिक रोजगारनमा जाने इच्छुक युवालाई कानुनी सेवामा जानकारी नहुँदा ठगीनबाट जोगिनको लागि निः शुल्क रुपमा कानुनी सेवा प्रदान गर्दै आएको अधिवक्ता त्रितालले जानकारी दिए। 

वैदेशिक रोजगारमा गएका कतिपय युवा मेनपावरबाट ठगीएर बसेका हुन्छन्। तर, उनीहरूलाई कानुनी प्रक्रियाबारे जानकारी नहुँदा आफनो लगानी उठाउन नसकेको त्रितालले बताए। रोजगारमा जानेको लागि यस्तो अभियान प्रभावकारी हुने उनको भनाइ छ। अभियानको क्रममा मोरङको पोखरीया, टंकीसिनवारी,  दर्वेसा, मझारे, भुर्किया, बुधनगर, तेतरीयामा पुगेर युवालाई वैदेशिक रोजगारसम्बन्धी निःशुल्क कानुनी परामर्श दिएको जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.