|

दैलेख : तपार्इं मदिरा पिउँदै हुनुहुन्छ भने अब तपार्इंले तीनपुस्ते नाम थर र वतन लेख्नुपर्नेछ। यदि व्यापारी हो भने हरेक पसलका बोर्डहरू मदिरासहित वा मदिरारहित भनेले उल्लेख गर्नुपर्ने  छ। जिल्ला प्रशासन कार्यालय दैलेखले दैलेखका विभिन्न स्थानीय निकाय र उद्योग वाणिज्य संघसँग सहकार्य गरेर यस्तो कार्ययोजना निर्माण गरेर गृह मन्त्रालयमा पठाएको हो।

मदिरा सेवनका कारण समाजमा हुने विभिन्न खाले घरेलु हिंसा, अपराधिक गतिविधि नियन्त्रण गर्न यस्तो कार्ययोजना निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिएका छन्।

मदिरा बिक्री गर्ने पसलहरूमा पनि तीन प्रकारका रंगमा बोर्ड निर्माण गरिने छ, विदेशी ब्राण्डको मदिरा भए एउटा, स्वदेशी र विदेशी भए एउटा स्वदेशी मात्र भए एउटा कलरको पसलको बोर्ड बनाउने, सरकारी निकायमा मदिरा सेवन गरेर आएका व्यक्तिहरूले सेवा नपाउने, कुनै सरकारी कर्मचारी मदिरा सेवन गरेर कार्यालयमा पुगे तत्काल कारवाही गर्ने जस्ता कुराहरू कार्ययोजनामा उल्लेख गरिएको छ। यसका लागि दैलेखका ११ वटै तहका निर्वाचित जनप्रतिनिधिहरूसँग समन्वय भएको छ। उद्योग वाणिज्य संघले पनि यसलाई सकारात्मक रूपमा लिएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए।

जिल्ला प्रशासन कार्यालय दैलेखले पठाएको कार्यजोनालाई कार्यान्वयनमा ल्याउन चामुण्डाबिन्द्रासैनी नगरपालिकाले कार्यपालिका बैठकबाट पास गरेर सूचना जारी गरिसकेको नगर प्रमुख सूर्यबहादुर शाहीले जानकारी दिएका छन्। शाहीले भने 'हामीले अवैध मदिरा नष्ट गर्ने, वैध मदिरालाई व्यवस्थित गर्नका लागि काम सुरु गरिसकेका छौँ।'

दैलेखको आठवीस नगरपालिकाले मदिरा नियन्त्रणलाई कडाइका साथ अगाडि सार्ने योजना बनाएको नगरप्रमुख खड्कराज उपाध्यायले बताएका छन्। मन्दिर र विद्यालय क्षेत्रभन्दा १०० मिटर टाढा राख्ने, बिरामी, बृद्ध र बालबालिकाहरूले मदिरा खरिद गर्न नपाउने, मदिरा बिक्रीका लागि छुट्टै जोन बनाउने कुरामा नगर सभाले छलफल गरेर अगाडि बढेको उपाध्यायले बताए।

नारायण नगरपालिका दैलेखका नगरप्रमुख रत्नबहादुर खड्काले जिल्लामा अवैध मदिरा नियन्त्रण गर्न नसके धेरै कुरा बिग्रने अवस्था देखिएको बताउँदै अन्य मदिराको बिक्री वितरण, व्यवस्थापनका बारेमा जिल्ला प्रशासन दैलेख उद्योग वाणिज्य संघसँग बैठक बसेर ठोस निश्कर्षमा पुग्ने बताएका छन्। नगर सभावाटै कानुन पास गरेर व्यवस्थापनको लागि पहल गरिने खड्काले बताए।

दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर बिकले नारायण नगरपालिकासँग सहकार्य गरेर दैलेख सदरमुकाम र आसपासको मदिरा बिक्री वितरणलाई व्यवस्थित गर्नेबारे छलफल भएको बताए। 'जिल्ला प्रशासन कार्यालय दैलेखले कार्ययोजना पठाएको छ। सदरमुकाममो पुरानो बजार, देवकोटा चौक र गणेशचौकमा पायक पर्ने स्थानमा बिक्री केन्द्र राख्ने, साइनवोर्ड कलरअनुसार राख्ने बारेमा छलफल भएको छ तर ठोस निश्कर्ष आएको छैन', उनले भने।

लागुऔषध नियन्त्रणमा पनि सक्रिय हुनुपर्ने सुझाव

जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन र स्थानीय सरकार मिलेर दैलेखमा बढ्दै गएको लागुऔषध समाधानका लागि पनि पहल थाल्नुपर्ने बारेमा स्थानीयले सुझाव दिएका छन्।  विद्यालय उमेरका कतिपय युवाहरू चुरोट, गाँजा, रक्सी सेवन गर्दै लागुऔषध प्रयोगकर्ता भैसकेको जानकारी जिल्ला प्रहरी कार्यालयलाई हुँदा पनि यसवारे रोकथाम गर्न नसकेको प्रति स्थानीय नगरिक समाज र जनप्रतिनिधिहरूले समेत चिन्ता व्यक्त गरेका छन्। लागुऔषधको कारोवार गर्नेलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग स्थानीय वासिन्दाहरूको रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.