|

हेटौँडा : प्रदेश ३ सरकारले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ बजेट ल्याएको छ। ३ नम्बर प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले शुक्रबार बजेट प्रस्तुत गरेका हुन्।

बजेटमध्ये चालुतर्फ १३ अर्ब ८६ करोड २५ लाख ९१ हजार रुपैयाँ अर्थात ३८.९२ प्रतिशत र पूँजीगततर्फ २१ अर्ब ७५ करोड ३० लाख ९ हजार रुपैयाँ अर्थात ६१.०८ प्रतिशत विनियोजन गरिएको छ। बजेटमा आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट नौ अर्ब ३३ करोड ३६ लाख ७३ हजार, संघीय समानीकरण अनुदानबाट पाँच अर्ब ९६ करोड ९७ लाख, राजस्व बाँडफाँडबाट ८ अर्ब ९९ करोड ६६ लाख २७ हजार, सशर्त अनुदानबाट १० अर्ब ६१ करोड ५६ लाख र नगद मौज्दात ७० करोड रुपैयाँ व्यवस्थापन गरिने ढुंगेलले बताए। बटेजमा प्रदेशका ११९ स्थानीय तहको लागि समानिकरण अनुदान बाँडफाँड गर्न एक अर्ब रुपैयाँ छुट्याइएको छ।

सशर्त अनुदानतर्फ विभिन्न प्रकृतिका योजनाका लागि तीन अर्ब ६३ करोड ८२ लाख रुपैयाँ रकम विनियोजन गरिएको छ र विनियोजन गर्दा प्रति स्थानीय तह एक करोड रुपैयाँभन्दा कम नहुने गरी व्यवस्था मिलाइएको जनाइएको छ। विशेष अनुदानप्रति जिल्ला एक स्थानीय तहका हिसाबले विशेष अनुदानको रुपमा बाँडफाँड गर्न ६५ करोड रुपैयाँ विनियोजन गरिएको छ र यो रकम प्रति स्थानीय तहलार्इ विशेष कार्यक्रमका लागि पाँच करोड रुपैयाँ रकम विनियोजन गरिनेछ। बजेटमा ५० योजनाको सम्भाव्यता अध्ययन गरिने जनाइएको छ भने हेटौँडा र सिन्धुपाल्चोकमा बहुप्राविधिक महाविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने जनाइएको छ।

त्यसैगरी, ५ लाख रुपैयाँसम्मको योजनामात्रै उपभोक्ता समितिमार्फत सम्पन्न गर्ने जनाइएको छ। हेटौँडा–कुलेखानी र रसुवाको वेत्रावतिमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने जनाइएको छ। काठमाडौंमा लिफ्ट पार्किङको सम्भाव्यता अध्ययन गरिने जनाइएको छ। एक घर एक रोजगार, उद्योग वर्ष घोषणा, प्रदेश लागनी बोर्ड, दूध विकास बोर्ड जस्ता कार्यक्रम बजेटमा समावेश गरिएको छ।

बजेट प्रतिक्रिया

प्रदेश ३ को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बजेटमा बढि सम्भाव्यता अध्ययनको मात्रै कुरा गरे पनि ठोस बजेट विनियोजन गर्न नसकेको बताए। संघीयतापछिको पहिलो बजेट भएकाले यसका नकारात्मक पाटोबारे खोतल्नु भन्दा कार्यान्वयनमा दवाव दिनु जरुरी रहेको बताए।

प्रदेशसभा सदस्य सन्तबहादुर प्रजाले सिमान्तकृत, लोपोन्मुख समुदायलाई बजेट नछोएको भन्दै शव्दमात्रै खर्चिएको बताए। प्रदेशसभा सदस्य रमेश पौड्यालले बजेटमा रोजगारीको सिर्जना जस्ता केही सकारात्मक विषय भएपनि बजेटमा धेरै अध्ययनका विषय समेटिएपनि बजेट उल्लेख नहुनु जायज नभएको बताए। उनले रातो किताव वितरण नगरेको प्रतिसमेत आपत्ति जनाए।


यस्तो छ बजेटको पूर्णपाठ

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.