|

गोरखा : गोरखा नगरपालिकाको लाकुरीस्वाँरादेखि बुंकोटको कालीगैरी घुम्तीसम्मको तीन किलोमिटर सडक कालोपत्रे गर्ने समयावधी सिद्धिए पनि अझै काम सुरु भएको छैन। २०७३ मंसिरमा २०७४ असारमा काम सक्ने गरी जिम्मा पाएको काष्ठमाण्डप निर्माण कम्पनीले सडक कालोपत्रे गर्ने समयावधी सकिए पनि काम नगरेको हो।

समयमै काम सम्पन्न नगरेपछि जिल्लाको ११ किलो छेपेटार भालुस्वाँरा सडक आयोजनाका प्रमुख अमृतमणि रिमालले काष्ठमाण्डपको ११ लाख ६० हजार रुपैयाँ धरौटीसमेत जफत गरिसकेका छन्।

‘त्यो कम्पनीको ठेक्का अवधी सक्कीसक्यो’ उनले भने ‘तर, कालोपत्रे भने भएको छैन् । त्यसैले हामीले कारबाही प्रक्रिया अघि बढाएर धरौटी जफत गर्‍यौँ। समयमै काम नसकेकाले निर्माण कम्पनीको ११ लाख ६० हजार रुपैयाँ जफत भएको छ।’

कम्पनीको ठेक्का अवधी सकिए पनि अहिलेसम्म कार्यालयबाट म्याद थप नभएको उनले बताए।  ‘म्याद थप नगरे पनि कम्पनीले अहिले काम अघि बढाएको छ’ उनले भने ‘जिम्मा लिएको काम पूरा गर्‍यो भने ठीकै छ नत्र थप कारवाही गर्छौँ।’

भूकम्प र नाकाबन्दीको कारण कालोपत्रे गर्न ढिलाई भएको काष्ठमण्डप निर्माण कम्पनीका चिरञ्जीवी खड्काले बताए। ‘भूकम्प र नाकाबन्दीले गर्दा काम गर्न ढिलो भयो’ उनले भने ‘हामीले भोली (शनिबार)बाटै बाटो ग्राभेलको काम थाल्छौँ।’

कुल दुई करोड ५८ लाख रुपैयाँ लागत खर्चमा कालोपत्रे गर्न लागिएको उक्त सडकको काम अलपत्र अवस्थामा छ। निर्माण कम्पनीले कामको जिम्मा लिएर काम नगरेपछि यात्रुले सास्ती भोग्नु परेको कालीगैरीका स्थानीय चित्रबहादुर खड्काले बताए। ‘पहिले पिच गर्ने भनेर केही नगरेपछि स्थानीयले एक दिन यहाँ चक्काजाम गर्‍यौँ’ उनले भने ‘चक्काजाम गरेपछि आठ मिटर सडक विस्तार गरेर नाली खनेजस्तो मात्रै गर्‍यो। त्यसपछि केही गरेको छैन। पानी पर्दा एम्बुलेन्ससमेत आउन नसक्ने भइसक्यो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.