थाहा संवाद : स्थानीय सरकार

गौरलाई धार्मिक पर्यटकीय नगर बनाउने काम भइरहेको छ : गौर नगर प्रमुख गुप्ता
SHARES

असार १, २०७५

    गौर नगरपालिका रौतहटकै सबैभन्दा पुरानो र सदरमुकाम भएको नगरपालिका हो। यस नगरपालिकाको घोषणा  वि. सं. २०४८ चैत ३० गते भएको थियो। विधिवत् रूपमा २०४९ बैशाख २४ गते कार्यालय स्थापना भई संचालनमा आएको हो।  यो नगरपालिका तत्कालीन गौर, टिकुलिया, पुरेनवा, सिर्सिया र सवगढा गरी पाँच गाविसहरू मिलेर बनेको हो। गौर नगरपालिकामा नौवटा वडा रहेका छन्। यस नगरको कुल छेत्रफल २१.५३ वर्ग किलोमिटर रहेको छ भने राष्ट्रिय जनगणना २०६८ अनुसार कुल जनसंख्या ३४ हजार ९३७ रहेको छ।  

    यहाँ मुस्लिम, तेली कानु, कल्वार, ब्राह्मण, यादव, मलाह, सहनी, विन, दुसाध, पासवान, कुर्मी, कायस्थ, बनियाँ, केशरी, राजपूत, कोडरी, तत्मा, चमार आदि जातका मानिसहरू बसोबास गर्छन्। यहाँको साक्षरता ६४.६ ५ प्रतिशत मात्र रहेको छ। गौर नगरको आकर्षणको रूपमा मुख्य रूपमा शिवालय पोखरी, अदालत पोखरी, बरहवा ताल, ऐतिहासिक स्थल पुरेनवा दरबार, क्रन्तिदार, शहीद शिवप्रसाद कुँवर स्मारक रहेका छन्। 

    गत २०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा गौर नगरपालिकामा राष्ट्रिय जनता पार्टीका तर्फबाट अजयकुमार गुप्ता विजयी भएका छन्। राजपाका महासचिवसमेत रहेका गुप्ताले गौर नगरलाई धार्मिक पर्यटकीय नगरीको रूपमा नेपालमै चिनाउने उद्देश्यले काम सुरु गरेको बताएका छन्। यसै सेरोफेरोमा नगर प्रमुख अजयकुमार गुप्तासँग थाहाखबरकर्मी रमेश तिमल्सिनाले गरेको अन्तर्वार्ता प्रस्तुत छ।

    निर्वाचनमा तपाईंले जनता माझ गरेका प्रतिबद्धता सम्झनुभएको छ?

    स्थानीय तहको निर्वाचनमा मैले जनता माझ गरेका प्रतिबद्धता ठूला र पूरा नहुने थिएनन्। मलाई पहिला पनि यस नगरपालिकाको नगर प्रमुखको रूपमा जनताले ल्याइसकेको कारणले गर्दा पनि जनताले मलाई राम्रोसँग चिनेका छन्। म जनताको सेवक भएको नाताले गर्दा पनि जनताका हरेक समस्यासँग जुध्नु नै मेरो पहिलो प्रतिबद्धता हो। त्यसअनुरूप मैले काम गरिरहेको छु र गर्ने पनि छु।

    यस गौर नगरको विकासका लागि मेरो सबैभन्दा पहिलो प्रतिबद्धता भनेको गौर नगरलाई नेपाल र विश्वमै धार्मिक पर्यटकीय नगरीको रूपमा पहिचान गराउनु हो। त्यसअनुसार अगाडि बढ्दै छु।

    तपाईंले कुनकुन कामलाई प्राथमिकतामा राखेर काम गर्दै आउनुभएको छ?

    मैले सर्वप्रथम त गौर नगरलाई धार्मिक पर्यटकीय नगरको रूपमा पहिचान गराउन उच्च प्राथमिकताका साथ काम गर्दै छु र गर्ने पनि छु। त्यसपछि गौर नगरको भौतिक पूर्वाधार विकासका निमित्त कसैसँग पनि कुनै किसिमको सम्झौता नगरी समृृद्ध नगर बनाउने लक्ष्यका साथ अगाडि बढिरहेको छु। मुख्यतः सडक निर्माण, नाला निर्माण, व्यवस्थित बसोबास, विद्यालय सुधारलगायतका नगरपालिकाका सबै क्षेत्रका कामहरूलाई उत्तिकै महत्त्व दिएर काम गर्दै आएको छु। 

    गौर नगरको स्वास्थ्य क्षेत्रमा केही समस्याहरू छन्, ती समस्याहरूको सम्बोधन हुनेगरी काम गर्ने लक्ष्यले अगाडि बढिरहेको छु। नगरबासीको स्वास्थ्य उपचारका लागि योजना नै बनाएर नगरपालिका अगाडि बढेको छ। यसी नै शिक्षा क्षेत्रमा पनि झनै महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने हाम्रो लक्ष्य छ। शिक्षित शहर निर्माण अभियानलाई सफल बनाउनका लागि पनि शिक्षा क्षेत्रमा उच्च महत्त्वका साथ काम गर्दै आएका छौँ। विद्यालयको भौतिक विकास तथा शिक्षकहरूको व्यवस्थापनमा समेत यस स्थानीय तहले काम गरिरहेको छ।

    नगरको विकासका काम गर्न कतिको चुनौती छ?

    वास्तवमा यथार्थ कुरा गर्ने हो भने नयाँ संरचनामा बनेको क्षेत्रलाई व्यवस्थित गर्न चुनौती नै छ। गाउँलाइ शहर बनाउनु छ भने शहरलाई सुविधा सम्पन्न बनाउनु छ। त्यसमाथि पनि नयाँ संरचनाले त झन् ठूलो चुनौती दिएको छ। 

    सबै अधिकार स्थानीय तहलाई भनेको छ तर काम गर्ने कर्मचारी अपुग पनि छन्। कर्मचारीले काम गर्ने थलो छैन। यसको व्यवस्थापन एकदमै जटिल समस्या हो। पशु, स्वास्थ्य, शिक्षा जस्ता कार्यालयबाट कर्मचारी आइसकेको अवस्थामा ती कर्मचारी कहाँ बसेर काम गर्ने भन्ने नै ठूलो समस्या हो।  काम गर्न धेरै चुनौती छ तर चुनौती छ भन्दैमा नगरपालिका भागेको छैन, व्यवस्थापनमा तल्लीन छ। चुनौतीलाई अवसरको रूपमा लिएर गौर नगरपालिका व्यवस्थापन पक्षतिर लागिपरेको छ।

    गौरबासीसँग तपाईंले गरेका प्रतिबद्धतामध्ये अहिलेसम्म के कति पूरा भए?

    स्थानीय तहको बारेमा प्रदेश सरकारले गर्ने नीतिगत निर्णयहरूले पनि काम गर्न समस्या गराएको छ। प्रदेश सरकारले पूर्णता पाएको भए तापनि प्रदेश सरकारसँग स्थानीय तहको समन्वय हुन सकेको छैन। धेरै कानुनहरू बाझिएका छन्, त्यसबारे पनि स्थानीय तह अन्योलमा छ।

    मैले अगाडि नै भनिसकेँ कि मेरा प्रतिबद्धता भनेको जनताको समस्याको समाधान कुनै पनि हालतमा गर्नु हो। त्यो मैले गरिरहेको छु। कुरा रह्यो, भौतिक विकासमा मैले गरेका प्रतिबद्धताहरूको। ती भौतिक पूर्वाधार विकासका कामहरू पनि दु्रत गतिमा भइरहेका छन्। केही ठूला योजनाहरू पूरा हुन समय लाग्छ। त्यसका पनि सुरुवाती कामहरू भइरहेका छन्। 

    मैले गरेका प्रतिबद्धतामध्ये मुख्यतः नया सडक निर्माण, सडकको विस्तार, शिक्षित नगर निर्माण, खुला दिशामुक्त नगरपालिका जस्ता योजनाहरूका कामहरू धमाधम हुँदै छन्। सडकको विस्तार तीब्र रूपमा भइरहेको छ। शिक्षातर्फ भने निजी विद्यालयहरूको शुद्धीकरणको आन्तरिक काम भइरहेको छ। अवैध विद्यालय बन्द गराउने अभियानमा गौर नगरपालिका रहेको छ। गौर नगरपालिकालाई खुला दिशामुक्त बनाउने लक्ष्यका साथ घरघरमा शौचालय निर्माण कार्यलाई पनि नगरपालिकाले उत्तिकै महत्त्वका साथ काम गराइराखेको छ। घरघरमा शौचालय निर्माण गर्न नगरपालिकाले विपन्न परिवारलाई अनुदान दिएर भए पनि शौचालय निर्माण गरी खुला दिशामुक्त नगर बनाउन लागिपरेको छ। 

    तपाईं गौर नगरपालिकाको पहिले पनि नगर प्रमुख भइसक्नुभएको हो, फेरि पनि नगर प्रमुख हुनुभयो, यस नगरका समस्या केके देख्नुभएको छ?

    हो, म पहिला पनि यस नगरपालिकाको नगर प्रमुखमा निर्वाचित मान्छे हुँ। २०७० सालको संविधानसभाको निर्वाचनमा पनि यही क्षेत्र नम्बर– १ बाट झिनो मत अन्तरले माधव नेपालसँग पराजित भएको व्यक्ति पनि हुँ। तसर्थ यस नगरको समस्या मलाई बढी नै थाहा हुन्छ।

    यहाँ धेरै समस्या छन्। बेरोजगार युवाहरूलाई रोजगारीको सृजना गर्नु, महिलाहरूको आय आर्जनमा वृद्धि गर्नु, गुणस्तरीय शिक्षाको विकास, स्वास्थ्य सेवा अर्थात सुविधा सम्पन्न अस्पतालको निर्माण, नालादेखि सडक निर्माणसम्म ठूलो समस्याका रूपमा देखिन्छन्। नगरपालिकाको क्षमताभन्दा बाहिर विकासका चुनौतीहरू धेरै छन्। बरेवा ताललाई व्यवस्थित ताल बनाउन सके गौर नगरको सौन्दर्य नै बढ्ने थियो। त्यसको पनि काम त भइरहेको छ। अझ आकर्षक बनाउनुपर्ने आवश्यकता पनि छ। 

    त्यस्तै, नगरमा रिङ रोड निर्माण, प्राविधिक शिक्षालयको निर्माण, खानेपानीको व्यवस्था, नालाको व्यवस्था, ठूलाठूला सडकको विस्तार, भौतिक संरचनाको निर्माणलगायतका कुराहरू छन्। त्यसका लागि पनि मन्त्रालयहरूमा पहल भइरहेका छन्। एउटा खुसीको कुरा के छ भने गौर नगरलाई स्मार्ट सिटी बनाउने लक्ष्यका साथ काम सुरु भएको छ। चाँडै नै गौर नगर व्यवस्थित शहर बन्नेछ।

    यी समस्याको  समाधान गर्नेतर्फ तपाईंले कस्तो कदम चाल्नुभएको छ?

    सर्वप्रथम त गौर नगरपालिका आफूले भ्याउने वा काम गर्न सक्ने योजनाहरू आफैँ नै गर्छौं, कसैलाइ गुहार्दैनौँ। नगरपालिकाको क्षमताभन्दा ठूलाठूला योजना सफल बनाउनका लागि माथिल्लो निकायसँग सहयोग त माग्नै पर्छ। हामीले महिलाहरूको आय आर्जनका लागि सीपमूलक तालिम, पढेका छोरीचेलीहरूलाई निःशुल्क लोकसेवा कक्षा संचालन, युवाहरूलाई स्वरोजगार बनाउन विभिन्न किसिमका तालिमहरू तथा प्राविधिक शिक्षाका लागि पहल गरिएको छ। 

    हाम्रो क्षमताभन्दा ठूला योजना प्रदेश सरकार र संघीय सरकारले नै गर्नुपर्छ। अस्पताल निर्माण, सरकारी कार्यालयका भौतिक पूर्वाधारहरूको निर्माण, ठूलाठूला सडक तथा पुल निर्माण जस्ता योजना सम्बन्धित मन्त्रालयले नै सहयोग गर्नुपर्ने भएकाले हामी सहकार्य गर्छौं र गरिरहेका पनि छौँ। प्रदेश सरकारले गर्न सक्ने कामहरू हामीले प्रदेश सरकारबाट लिनुपर्ने हुन्छ। त्यसका लागि पनि हामी समन्वय गरिराखेका छौँ। विकासको समस्या समाधानका लागि हामी सबै तह र तप्कासँग समन्वय गरिराखेका छौँ र गर्ने पनि छौँ।

    स्थानीय तह संचालनका लागि नीतिगत तथा व्यावहारिक समस्याहरू केही छन् कि?

    नीतिगतको रूपमा मुख्य समस्या नेपाल सरकारले चैत मसान्तभित्र जुन तोकिएका कार्यालयहरू स्थानीय तहमा पठाउने भनेको छ, त्यो अझै पूर्ण रूपमा पठाउन सकेको छैन। यसले गर्दा धेरै कामहरू प्रभावित भएका छन्। कुन काम कसले गर्ने भन्ने नै अन्योलमा छ। बजेट आएको छ तर काम गर्ने मान्छे छैन। यो एउटा ठूलो समस्या हो। 

    स्थानीय तहको बारेमा प्रदेश सरकारले गर्ने नीतिगत निर्णयहरूले पनि काम गर्न समस्या गराएको छ। प्रदेश सरकारले पूर्णता पाएको भए तापनि प्रदेश सरकारसँग स्थानीय तहको समन्वय हुन सकेको छैन। धेरै कानुनहरू बाझिएका छन्, त्यसबारे पनि स्थानीय तह अन्योलमा छ। व्यावहारिक समस्या भनेको केही विकासका कामहरूमा आउँछन्, ती समस्यालाई नगरपालिकाले नै समाधान गर्दै जानेछ। अन्य दलहरूसँग पनि समन्वय राम्रै भएको हुँदा व्यावहारिक समस्याहरू सहज रूपमै समाधान भएका छन्।

    तपाईंका पाँच वर्षे योजनाहरू केके छन्?

    मेरो कार्यकालभित्र गौर नगरपालिकालाई समृद्धिको नगर बनाउने योजनाअनुरूप नै भौतिक विकासका योजनाहरू छनोट गरिएको छ। कृषि, शिक्षा र भौतिक पूर्वाधारको विकास गर्ने लक्ष्यका साथ विभिन्न पञ्चवर्षीय योजनाहरू छनोट गरिएका छन्। अझ खासगरी यस नगरका महिलाहरूलाई स्वारोजगार बनाउने तथा आय आर्जनमा वृद्धि ल्याउने उद्देश्यले विभिन्न योजनाहरू पनि संचालनमा आएका छन्। यस नगरलाई समृद्ध नगर बनाउने लक्ष्यका साथ गत माघमा सम्पन्न नगरसभाले विभिन्न योजनाहरू बनाउने लक्ष्य लिएको छ। खासगरी सडक संजालको विकासलाई मुख्य लक्ष्य बनाएको छ।

रमेश तिमल्सिना

पत्रकार तिमल्सिना थाहाखबरको रौतहट जिल्ला संवाददाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]