|

विराटनगर : प्रदेश एक नम्बर प्रदेश सरकारले आगामि आर्थिक २०७५/७६ का लागि ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँको बजेट प्रदेश सभामा पेस गरेको छ।

प्रदेश सरकारले कुल बजेट मध्ये पुँजीगततर्फ १८ अर्ब ५० करोड ९२ लाख अर्थात ५१ दशमलव ५ प्रतिशत र चालु तर्फ १४ अर्ब ९२ करोड २८ लाख अर्थात ४१ दशमलव ५ प्रतिशत बजेट प्रस्तुत गरेको हो। यसैगरी बजेटमा अन्तर सरकारी हस्तान्तरण तर्फ २ अर्ब ५० करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।

'सबैभन्दा बेस एक नम्बर प्रदेश' भन्ने नारासहित प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेशसभामा पेस गरेको बजेटमा संघीय सरकारबाट प्राप्त हुने अनुदान २२ अर्ब  ८८ करोड ७० लाख, राजस्व बाँडफाँडबाट प्राप्त हुने नौ अर्ब १८ करोड ११ लाख र आन्तरिक राजस्वबाट तीन अर्ब ६६ करोड ७८ लाख रुपैयाँ प्राप्त हुने आँकलन  गरिएको छ।

प्रदेश सरकारले गरिबी न्यूनीकरण गर्ने, प्रदेशको आर्थिक समृद्धि हासिल गर्ने, भौतिक तथा सामाजिक पूर्वाधार तयार गरी समुन्नत सुदृढ स्वाधिन र समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने उद्देश् सहित बजेट तयार गरेको आर्थिक मामिलामन्त्री आङ्वोले बताए। यसअघि प्रदेश सरकारले कृषि क्षेत्रलार्इ प्राथमिकता दिनेगरी बजेट ल्याउने बताइरहेकोमा कृषिलाइ बेरोजगारी अन्त्य गर्ने आधारका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। बजेटमा कृषि अनुदान कोष निर्माण गरी किसानलार्इ सस्तो व्याज दरमा ऋण प्रदान गर्ने, पाउडर दूध उत्पादन गर्नेलार्इ अनुदान दिने, प्रदेशमा कम्तीमा तीनवटा शीत भण्डारण केन्द्र स्थापना गरिने, कृषि औजार खरिदका लागि अनुदान दिनेलगायतका विषय उल्लेख गरिएको छ।

यस्तै प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासका लागि ८९ करोड रुपैयाँ विनियोजन गरेको छ। पर्यटन क्षेत्रको विकासका लागि उच्च हिमाली पदमार्गका साथै, एक नम्बर प्रदेशको सान सबैको अनुहारमा मुस्कान भन्ने नाराका साथ दिगो विकासको संवाहकको रुपमा पर्यटन क्षेत्रको विकास गरिने उल्लेख छ।

मन्त्री आङ्बोले प्रस्तुत गरेको बजेटमा आगामि पाँच वर्षमा १५ सय मेगावाट, १० वर्षमा तीन हजार र १५ वर्षमा चार हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने उल्लेख छ। जसका लागि प्रदेश स्तरमा जलविद्युत् लगानी कम्पनी गठन गर्ने उल्लेख छ। प्रदेश सरकारले जलविद्युत्को विकासका लागि ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

यस्तै उद्योगको विकासका लागि प्रदेश सरकारले एक अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ। विराटनगर आसपासको क्षेत्रलाई औद्योगिक करिडोर र व्यापारिक हवको रूपमा विकास गरिने पनि बजेट भाषणमा उल्लेख गरिएको छ।

यस्तै शिक्षाको क्षेत्रमा सरकारले एक अर्ब ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। शिक्षाको गुणस्तर सुधारका लागि प्रत्येक वर्ष १४ वटा सामुदायिक विद्यालयलाई पुरस्कृत गर्ने, शिक्षकलाई गुण र दोषका आधारमा कारबाही गर्ने पनि अर्थमन्त्री आङ्बोले प्रस्तुत गरेको बजेटमा उल्लेख छ।

यस्तै स्वास्थ्यको क्षेत्रमा पनि प्रदेश सरकारले 'स्वस्थ जनता प्रदेशका अमूल्य निधी' भन्ने नारा अवलम्वन गरेको छ। कोशी अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्ने, प्रदेशको राजधानीमा कम्तीमा ५०० शैयाको सुविधान सम्पन्न अस्पताल स्थापना गर्ने, प्रत्येक जिल्लामा १०० शैया र गाउँपालिकामा १५ देखि २५ शैयासम्मको अस्पताल स्थापना गर्ने बजेटमा उल्लेख छ। स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेशले एक अर्ब ४४ करोड विनियोजन गरेको छ। यस्तै खेलकुदको विकासका लागि ४३ करोड, आवास तथा भौतिक पूर्वाधारका लागि नौ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ। वन, वातावरण संरक्षण, सरसफाई र खानेपानीमा दुर्इ अर्ब ७४ करोड बजेट विनियोजन गरिएको छ भने सुरक्षा, सामाजिक न्याय, सद्भाव, संस्कृति र एकताका लागि एक अर्ब २९ करोड रकम विनियोजन गरेको आर्थिक मामिलामन्त्री इन्द्र आङ्बोले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.