अर्थ

प्रदेश ७ काे २५ अर्बको बजेट : कृषि, पर्यटन, उद्योग र उर्जा प्राथमिकतामा (पूर्णपाठसहित)
SHARES

असार १, २०७५

    धनगढी : प्रदेश सातमा आर्थिक वर्ष २०७५/०७६ का लागि २५ अर्ब ६ करोड ५६ लाखको बजेट विनियोजन गरिएको छ। प्रदेश सभामा प्रदेश ७ का आन्तरिक मामिला तथा योजनामन्त्री झपट वोहराले २५ अर्ब ६ करोड ५६ लाख बराबरको बजेट सार्वजनिक गरेका हुन्।  

    कुल विनियोजनमध्ये चालुतर्फ १३ अर्ब ३५ करोड ८ लाख १ हजार अर्थात् ५३.२६ प्रतिशत, पूँजीगततर्फ ११ अर्ब करोड ७१ करोड ४८ लाख १३ हजार अर्थात् ४६.७४ प्रतिशत बराबरको बजेट मन्त्री वोहराले प्रस्तुत गरेका हुन्। बजेटमा आन्तरिक राजश्व बाट ४९ करोड ३० लाख, नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ४७ करोड ४६ लाख ५३ हजार, नेपाल सरकार र स्थानीय तहबाट राजश्व बाँडफाँटबाट ७ अर्ब ५७ करोड १ लाख रकम प्राप्त हुने अनुमान गरिएको छ। यस्तै सशर्त अनुदानबाट प्राप्त हुने ६ अर्ब ३२ करोड ७८ लाख, संघीय सरकारबाट समपूरक अनुदानमार्फत २ अर्ब र विशेष अनुदानबाट २० करोड रुपैयाँ प्राप्त हुने जनाइएको छ। 

    मुख्यमन्त्री कृषि कार्यक्रम

    परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादन अनुसारको बजार“ भन्ने नारासहित किसानहरूलाई कृषिऔजार उपकरण अनुदान, कोल्ड स्टोर, कोल्डच्याम्बर तथा राइपेनिङ च्याम्बर निर्माण गरिने बजेट वक्तव्यमा उल्लेख छ। यसका लागि प्रदेश अन्तर्गतका ८८ वटै स्थानीय तहमा सञ्चालनको लागि 'मुख्यमन्त्री कृषि कार्यक्रम' अन्तर्गत १९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। 

    बालबालिकालाई विद्यालय ल्याउँ, टिकाउँ र सिकाउँ अभियान

    बजेटमा नेपाल सरकारबाट सञ्चालित 'बालबालिकालाई विद्यालय ल्याउँ, टिकाउँ र सिकाउँ' अभियानलाई आत्मसात गर्नेदेखिआगामी २ वर्ष भित्रमा विद्यालय जाने उमेरका सबै बालबालिकालाई अनिवार्य विद्यालय भर्ना गराइने नीतिको अवलम्बन गरिने जनाइएको छ। प्रदेश अन्तर्गतका सामुदायिक विद्यालयका न्यून पारिश्रमिकमा कार्यरत कर्मचारी, सहयोगी र वालविकास कक्षाका शिक्षकहरूलाई एकमुष्ठ वार्षिक १० हजारका दरले प्रोत्साहन स्वरुप प्रदान गरिने छ। यस्तै प्रत्येक शैक्षिक सत्रको भर्ना गर्ने क्रममा नै विद्यार्थीको हातहातमा निःशुल्क पाठ्यपुस्तक उपलब्ध हुने सुनिश्चितताका लागि आवश्यक समन्वय गरिने उल्लख गरिएको छ। 

    अस्पताल स्थापना तथा सुधार

    पहाडी ७ जिल्लाका १६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा अत्याधुनिक उपकरण सहितको एम्बुलेन्स सञ्चालनको लागि  ६ करोड विनियोजन गरिएको छ। यस्तै प्रदेशस्तरीय सुविधा सम्पन्न अस्पताल, ट्रमासेन्टर र स्वास्थ्य बिज्ञान प्रतिष्ठान र अक्सिजन प्लान्टको स्थापना गरिने बजेटमा समेटिएको छ।

    क्रिकेटमा लगानी

    बजेटमा फाप्ला क्रिकेट मैदानलाई अत्याधुनिक सुविधासम्पन्न क्रिकेट मैदानका लागि ५ करोड विनियोजन गरिएको छ भने हरेक निर्वाचन क्षेत्रमा एक खेलमैदान निर्माणका लागि  ६ करोड ४० लाख रकम विनियोजन गरिएको छ। यस्तै धनगढीमा आधुनिक सुविधा सम्पन्न रंगशाला निर्माणको सम्भाव्यता अध्ययनको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने र प्रत्येक जिल्लामा कबर्डहल निर्माण कार्य द्रूत गतिमा अगाडि बढाउने जनाइएको छ। 

    औद्योगिक ग्राम स्थापना

    आगामी आर्थिक वर्षभित्र डोटी, डडेल्धुरा, बैतडी, अछाम र बाजुरा जिल्लामा एक एकवटा औद्योगिक ग्राम स्थापना गरिने जनाइएको छ । हाम्रो प्रदेश राम्रो प्रदेश भन्ने नाराका साथ आन्तरिक पर्यटन प्रवर्द्धन गरिने र ९ वटै जिल्लामा पर्यटन पूर्वाधार पहिचान तथा निर्माण गरिने जनाइएको छ। त्यसका लागि लगानीको समन्वयन गर्न एक प्रदेश लगानी समन्वय इकाइ गठन गरिने जनाइएको छ।

    र्‍याफ्टिंग तथा प्याराग्लाईडिंगको सुरुवात

    प्रदेशमा आन्तरिक तथा वाह्य पर्यटकहरूलाई आकर्षित गर्न महाकाली, कर्णाली, सेती र अन्य नदीहरुमा र्‍याफ्टिंग तथा पहाडी क्षेत्रमा प्याराग्लाईडिंग जस्ता अन्य क्रियाकलाप सञ्चालन गर्नको लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने जनाइएको छ भने विकास र समृद्धिका लागि भ्रष्टाचारलाई शून्य सहनशिलता नीति अपनाइने जनाइएको छ।

    स्थानीय पूर्वाधार विकास कार्यक्रम सञ्चालन

    प्रदेश स्थानीय पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। यस कार्यक्रमअन्तर्गत ३ वर्षभित्र सम्पन्न हुने भौतिक पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गर्न प्रत्येक निर्वाचन क्षेत्रमा  २ करोड रुपैयाँ विनियोजन गरिएको छ। बजेटमा प्रदेशको अधिकार क्षेत्रभित्र पर्ने आर्थिक कृयाकलापलाई करको दायरामा ल्याई राजश्वको क्षेत्र फराकिलो बनाउने नीति अवलम्बन गरिन उल्लेख छ। यसका साथै प्रदेशमा रहेका तुइन विस्तापित गरिने नीति लिइने जनाइएको छ।

भानुभक्त आचार्य

आचार्य थाहाखबरका कैलाली संवाददाता हुन् । इमेल : bhanuavenues@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]