|

विराटनगर : प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले शुक्रबार ल्याउनु भएको आर्थिक वर्ष २०७५/२०७६ को बजेटबारे नीजि क्षेत्रले सकारात्मक प्रतिक्रिया दिएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बजेट पिठो छरेको जस्तो ल्याइएको भन्दै आपत्ती जनाएको छ। प्रदेशसभा भवन बाहिर बजेटको विषयमा प्रतिक्रिया दिँदै उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले समग्र क्षेत्रलाई समेटेर ल्याइएको पाइएको बताए। ‘पूर्वाधार विकास, उद्योग, कृषि, पर्यटन र जलस्रोतलाई प्राथमिकता दिएको पाइयो,’ राउतले भने, ‘सबै पक्षलाई समेट्न खोजेको देखिएको छ, स्रोतअनुसारको वितरण ठीकै लाग्यो।’

यस्तै मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले केन्द्रले समेट्न नसकेका उद्योगको समस्या समाधानमा प्रदेशले बजेटमार्फत हल गर्ने कोशिष गरेको बताए। ‘हामीले उठाउँदै आएका सवालमा प्रदेश सरकारले हल गर्ने अग्रसरता देखाएको छ,’ सारडाले भने, ‘उद्योगका लागि विशेष क्षेत्र र सेज निर्माणलगायतका कुरामा सकारात्मक ढंगले आएको छ।’

यता बजेटको विषयमा प्रतिक्रिया दिँदै नेपाली कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले सरकारले पिठो छरेजस्तो बजेट ल्याएको बताए। अत्याधिक कार्यक्रम उल्लेख गरिएअनुसार बजेट नभएको र राजस्वको अनुमानित अंक पूरा हुने कुनै आधार नदेखिएको उनको भनाइ छ। ‘हामीले प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको विषयमा पनि कमेन्ट गरेका थियौँ, त्यहाँ भएभरका कार्यक्रम ल्याइएको थियो र बजेट हामीसँग सिमीत थियो,’ कार्कीले भने, ‘सरकारले हाम्रो कुरा नसुनी कनिका छरेको भन्दा पनि पिठो छरेजस्तो बजेट ल्याइएको छ, यो कार्यान्वयनमा जाँदा समस्या ल्याउँछ, राजस्व तीन अर्ब उठाउने लक्ष्य के आधारमा पूरा हुन्छ?’

प्रदेश सरकारले शुक्रबार ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ।

बजेटको पूर्णपाठ


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.