|

धनकुटा​ : संखुवासभाको चैनपुरस्थित सशस्त्र प्रहरी बलको अरुण गुल्मको ट्रकमा अवैध काठ तस्करी गरिएको घटनाका मुख्य आरोपित गुल्मका प्रहरी नायव निरीक्षक रामप्रसाद भण्डारी सहित तीन प्रहरी जवान निलम्बनमा परेका छन।

अरुण गुल्मका प्रमुख भण्डारीसहित प्रहरी जवान दीपक कट्टेल, मिलनकुमार राई र चालक दीपेन्द्रकुमार चर्माकारलाई गृहमन्त्रालयको आदेशमा निलम्बन गरिएको हो। उनीहरु काठ तस्करीमा संलग्न रहेको पाइएपछि गृहमन्त्रालयले विभागीय कारबाही गर्न आदेश दिएको छ। उनीहरुलाई सशस्त्र प्रहरी नियमावलीअनुसार निलम्बन गरिएको बताइएको छ।

गत जेठ २१ गते राती चैनपुरस्थित अरुण गुल्मको बा १ झ १६६९ नम्बरको ट्रकमा करिब सात लाख मुल्य पर्ने एक सय क्यूबिक फिट बढी सखुवाका काठ धनकुटा हुँदै इटहरीतर्फ तस्करी हुँदै गरेको थियो। बाहीरी जिल्लामा निकासी प्रतिबन्धित सखुवाको काठ भेटिएपछि सशस्त्र प्रहरी बल छिन्ताङ गुल्म धनकुटाको मुलघाटस्थित चेक पोष्टले नियन्त्रणमा लिएको थियो। काठसहित आफ्नै कार्यालयको सवारी साधन सशस्त्र प्रहरी मुलघाटका इन्चार्ज प्रहरी निरीक्षक दुर्गा भट्टले नियन्त्रणमा लिएका थिए।

घटनाको अनुसन्धानका लागि सशस्त्रको पूर्व क्षेत्रीय बराह बाहिनी पकलीका प्रहरी उपरीक्षक गुणाखर खनालको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो। तर पुन सशस्त्रको हेडक्वाटरले डीआइजी सुरजकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेपछि प्रतिवेदन मुख्यालयमा पठाएको छ। खनाल नेतृत्वको छानबिन समितिले संगठनको नीति विपरित मर्यादा नाघेर कुनै निकायमा जानकारी समेत नगराई बदनियतपूर्ण कार्य गरेको निष्कर्ष निकालेको जनाइएको छ।

छानबिन समितिले घटनाबारे स्थलगत वस्तुस्थिति अध्ययन गर्दै दोषी माथि विभागिय कारबाही गरिने जनाएको छ। नियन्त्रणमा लिएको काठ चार दिनपछि जिल्ला वन कार्यालय धनकुटालाई बुझाइएको छ। संखुवासभादेखिका सुरक्षा चेक पोष्ट पार गर्दै धनकुटासम्म पुग्दा तस्करीमा प्रयोग गरिएको सवारी साधन कसरी उम्कियो भन्ने रहस्य भने अझै खुल्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.