|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका नेताहरूले प्रदेश ३ को सरकारले यस क्षेत्रको नेपाल भाषा, कला तथा संस्कृतिको संरक्षण तथा प्रवर्धनमा ध्यान केन्द्रित गर्नु पर्ने बताएका छन्।

नेपाल भाषामा प्रकाशित हुने नेवा अनलाइन न्यूजको तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित ‘नेवा आन्दोलनको मुद्दा र आजको दिशा’ विषयक विचार गोष्ठीमा उनीहरूले प्रदेश ३ को नाम 'नेपाल मण्डल' राख्न माग गरेका छन्।

संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले उत्पीडित तथा जनजातिको माग संविधानमा अझै समेटिन नसकेको बताँउदै दुई तिहाइ कम्युनिष्टहरूको उपस्थिति रहेको संघीय सरकारले चाहेमा प्रदेश ३ को नाम नेपाल मण्डल घोषणा गर्न सक्ने तथा जनजाति तथा उत्पीडित वर्गलाई समावेशी प्रतिनिधित्व गराउन सक्ने बताए।

नेपाली कांग्रेसका महासमितिका सदस्य तीर्थराम डंगोलले विभिन्न दलमा रहेका नेवार समदायहरू एक हुन सकेमा नेवारहरुले आफ्नो हक तथा अधिकार खोसेर लिन सक्ने धारणा व्यक्त गरेका थिए।

नेपाल कम्युनिष्ट पार्टीका नेता दिलीप महर्जनले नेपालमा प्रजातन्त्र स्थापना गर्ने हरेक आन्दोलनमा काठमाडौंका नेवारहरूको निर्णायक भूमिका रहेको बताए। उनले प्रदेश ३ मा नामकरण गर्दा नेवार समुदायको पहिचान झल्काउनुपर्ने विचार व्यक्त गरेका थिए।

वरिष्ठ पत्रकार मल्ल के सुन्दरले नेवार समुदायले गरेको आन्दोलनका प्रतिफल अझै प्राप्त नभएको बताउँदै प्रदेश ३ को नामकरण नेवारी जनताको भावनाअनुरुप हुनुपर्ने तथा काठमाडौं उपत्यकामा नेवार समदायका अद्वितीय कला, संस्कृतिको संरक्षण तथा प्रवर्धनमा प्रदेश सरकारको ध्यान जानुपर्ने औँल्याए।

नेवा दे दबूका अध्यक्ष नरेश ताम्राकार तथा नेवा अनलाइन न्यूजका अध्यक्ष सुजीव बज्राचार्यले नेवारी कला, संस्कृतिको महत्व र यसको संरक्षणका विषयमा बोलेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.