|

रामेछाप : मन्थली नगरपालिका–४ सालुको सेतिदेवी उच्च माध्यमिक विद्यालयको निर्माणाधीन आठकोठे पक्की भवनको आठ  वटा पिलर बाङ्गिएका छन्।भूकम्पले क्षतिग्रस्त विद्यालय पुनः निर्माण कार्यक्रम अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा मार्फत निर्माण भइरहेको विद्यालय भवनको पिलर बांगिएको हो।

विद्यालय भवन निर्माणमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएकाले पिलर बांगिएको हो। भवनको पिलर बांगिएपछि निर्माण व्यवसायी र प्राविधिकलाई सुधार गर्न अनुरोध गर्दा वास्ता नगरेकोे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार बस्नेतले बताए। 

बांगिएको पिलरलाई सुधार गर्न अनुरोध गर्दा पिलरमा कोब्ला हाल्दा बांगिएकाले भवनलाई असर नपर्ने भनेपछि आफूहरु चुप बसेको सेतिदेवि उच्च माध्यमिक विद्यालय सालुका प्रधानाध्यापक गगन श्रेष्ठले बताए। 

पिलरहरु १४ इञ्चसम्म बांगिएका छन्। पिलर असिमित रूपमा बाङ्गिएकाले पिलर फुटाएर पुनर्निर्माण गर्नुपर्ने वडाध्यक्ष वीरेन्द्रकुमार बज्राचार्यले बताए। पिलर फुटाएर पुनर्निर्माण नगरे विद्यालयले भवन नबुझ्ने बज्राचार्यले बताए।  

भवन निर्माणमा प्रयोग गरिएका गिटी, बालुवा गुणस्तरहित प्रयोग गरिएको र सिमेन्ट पनि मापदण्डअनुसार प्रयोग नभएको स्थानीयको भनाइ छ। पैसाको चलखेलमा गुणस्तरहीन निर्माण सामाग्री प्रयोग भएको वडा अध्यक्ष बज्राचार्यको आरोप छ।

भवन निर्माणमा व्यावसायिक निर्माण ठेकेदार र दक्ष कामदार नलगाउँदा मापदण्डअनुसारको भवन निर्माण हुन नसकेको जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षा रामेछापका इन्जिनियर सुन्दरश्याम घिमिरेले बताए। भवन निर्माणको ठेक्का लिएका ठेकेदार हरि श्रेष्ठले पनि पिलर बांगिएको स्वीकार गर्दैै सुधार गरिदिने बताएका छन्।

भवन निर्माण कार्यको सम्झौता हुँदा नै जिल्ला आयोजना कार्यन्वयन इकाइले भवनको 'स्टिमेट'सहितको विवरण विद्यालयलाई दिएकाले गुणस्तरहीन भवन निर्माण हुनुको सम्पूर्ण जिम्मेवारी विद्यालयले नै लिनुपर्ने जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा रामेछापका प्रमुख हेमन्त बुढाथोकीले बताए। 

भवन निर्माणको लागि जिल्ला आयोजना कार्यान्वयन इकाइले प्रदान गर्ने एक करोड पाँच लाख रुपैयाँमध्ये ९२ लाख रुपैयाँ बजेट निकासा भइसकेको पनि जिल्ला आयोजना कार्यान्वय इकाइ शिक्षा रामेछापले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.