|

कपिलवस्तु : एक महिना लामो उपवासपछि इदगाहमा सामूहिक नमाज पढेर कपिलवस्तुका इस्लाम धर्मावलम्बीले ‘इद–उल–फित्र’ मनाएका छन्। एक महिनाको कठोर व्रत (रोजा)पछि कपिलवस्तु सदरमुकाम तौलिहवाको इदगाह मस्जिदमा शनिबार बिहानदेखि सामूहिक नमाज सुरु भएको छ।

जिल्ला सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, पकडी लगायतका स्थानका मुस्लीम समुदायका महिला, पुरुषहरु मस्जिद तथा इदगाहमा जम्मा भएर इद मिलनको खुशी साटासाट गरेका छन्।  एक महिनासम्म दिनभरी कठोर उपवास व्रत (रोजा) बसी पाँचपटक नमाज पाठ गरी मनाउँदै आएका मुस्लिमहरुले शुक्रबार साँझ चन्द्रमा (चाँद) देखेपछि रोजा समाप्तीको खुसियालीमा शनिबार इद उल फित्र मनाएका छन्। यस अवसरमा मस्जिद तथा इदगाहमा महिला, पुरुष, बालबालिका सबै जम्मा भएर नवाज पाठ गरी वधाई, शुभकामना आदानप्रदान गर्दै एकआपसमा गला मिलाएर (अँगालेर) खुसियालीसँग इद मनाएका छन्।

कपिलवस्तु नगरपालिका १ आदर्शटोल स्थित मदरसामा भेला भई महिलाहरुले आ–आफ्नो परिवारमा तथा देश र देशवासीमा सुख समृद्धिका लागि नमाज पाठ गरी अल्लाह संग दुवा मागेका छन्।

यस्तै, इद उल फित्रको शुभकामना आदान प्रदान गर्नका लागी कपिलबस्तु नगरपालिकाको बस पार्क नजिक रहेको ईदगाहमा कपिलवस्तु क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य बृजेश कुमार गुप्ता, प्रदेश सभा सदस्य धर्मबहादुर लाल श्रीवास्तव, कपिलबस्तु नगरपालिकाका प्रमुख किरण सिंह, उपप्रमुख लक्ष्मी गुप्तालगायत वडाध्यक्षहरुको पनि उपस्थिति रहेको थियो ।

इस्लामिक धर्मगुरु हजरत मोहम्मद मुस्ताफाले धर्मको रक्षाका निम्ति उनले खेलेको भूमिकाको प्रसंशा गर्दै यो पर्व १४३७ वर्षदेखि विश्वभरका मुस्लीमहरुले मनाउदै आएको मुस्लिम अगुवा रउफ अहमद खांले बताए। मुस्लिमहरुको विशेष परिकार सेवईका साथै मीठो परिकारका खाना, फलफूल, प्रसाद बाँडीचुडी खाएका छन्। 

यस अवसरमा समाजका गरिब मुसलमानलाई दान पनि दिइन्छ, जसलाई ‘फिद्रा भनिन्छ। आफ्नो परिवारको सदस्यको सङ्ख्यानुसार घरका मूलीले प्रति व्यक्ति २ किलो ४५ ग्राम गहुँ वा सो बराबरको नगद वा अन्य सामान गरिब मुसलमानलाई दान गर्नुपर्ने नियम रहेको छ। इस्लाम धर्मको मुख्य पाँच स्तम्भमा हज, जकात, नमाज, कुरबानी र रमजान पर्छ। पाँच स्तम्भमध्ये एक रमजान पनि भएको विश्वास गरिएकाले धार्मिक नियम निष्ठाका साथ यो पर्व मनाउने गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.