|

रामेछाप : एक महिनादेखि ढुवानीको साधन बन्द हुँदा रामेछाप जिल्लामा खाद्यवस्तुको हाहाकार भएको छ। विपी राजमार्ग हुँदै रामेछाप जिल्लामा ठूला ढुवानीका साधन सञ्चालन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरुद्धमा ढुवानीका साधन बन्द गरेर व्यवसायी आन्दोलनमा उत्रिएपछि खाद्यवस्तुको हाहाकार भएको हो। 

खाद्यवस्तुको समेत ढुवानी हुन नसक्दा रामेछापका होटल व्यववसायसमेत संकटमा परेको होटल व्यवसायी सुमिका श्रेष्ठले बताइन्। दाल, चामल र खाने तेलको अभाव हुँदा होटल नै बन्द गर्नुपर्ने अवस्था आएको श्रेष्ठको भनाई छ। जिल्लामा खाद्यवस्तुको संकट हुन थालेपछि विपी राजमार्ग हुँदै रामेछाप जिल्लामा ठूला ढुवानीका साधन सञ्चालन हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका रामेछापका व्यवसायीहरूले शनिबार ढाकर जुलुस निकालेका छन्। 

राज्यले रामेछापका जनतालार्ई ढाकरमा सामान बोकेर जीविको चलाउनुपर्ने अवस्थामा पुर्‍याएको भन्दै सांकेतिक विरोधको रुपमा ढाकर जुलुस निकालिएको व्यवसायी होतराज ढकालले बताए। सडक नहुँदा ‘हाम्रा बुबाहरूले सिन्धुली हुँदै डोकामा सामान बोकेर जीविको चलाउनुहुन्थ्यो, सडक भएर पनि अहिले राज्यले हामीलाई त्यही अवस्थामा पुर्‍याएकाले जुलुस निकालेका हौँ’ ढकालले भने। 

रामेछापका बजार तथा पसलहरुमा खाद्य वस्तुहरुको अभाव हुँदा भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको उपभोक्ता राजन बुढाथोकीले बताए। ढुवानी तथा यातायातका ठूला सवारीसाधन सञ्चालन गर्न पाउँनुपर्ने माग गर्दै जिल्ला उद्योग वाणिज्य संघ रामेछापको अगुवाइमा रामेछापका व्यवसायीले तीन हप्तादेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन्। प्राविधिक रिपोर्ट अनुसार विपी राजमार्गमा सेमी टेलर (१६ चक्के) सम्मको ढुवानीका साधन र ३८ सिट क्षमतासम्मको सवारीका साधन सञ्चालन गर्न सकिनेछ। 

प्राविधिक रिपोर्टको आधारमा ठूला गाडी सञ्चालन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले रोकेपछि रामेछापको व्यवसायी आन्दोलित भएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.