एक प्रहरीजवान सम्पर्कविहीन

|
मृतक युवराज साह

रौतहट : रौतहटको कटहरिया नगरपालिका-९ का वडा अध्यक्ष रामज्ञाप्रसाद यादवविरुद्ध रौतहट प्रहरीले अपहरण, हत्या तथा हात हतियार मुद्दा दर्ता गराएको छ। गत आइतबार राति सोही वार्ड डुमरियाटोलका स्थानीय स्वास्थ्यकर्मी अहेब दिलीप साहको १२ वर्षीय छोरा युवराज साहको सुतेकै ठाउँबाट अपहरण गरी हत्या गर्ने मुख्य योजनाकारको भूमिका खेलेका वडा अध्यक्षसहित १६ जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले अपहरण, हत्या तथा हात हतियार मुद्दा दर्ता गराएको हो।

नाबालक हत्या प्रकरणमा संलग्न रहेको भन्दै पीडित पक्षले यादव दाजुभाइसहित १६ जनाविरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा किटानी जाहेरी दर्ता गराएका थिए। अपहरणकारीले एक करोड फिरौती मागेको र त्यो नपाएपछि युवराजको कन्चटमा गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीले यसअघि मोबाइल सेट, दुईवटा सिमकार्ड, हत्यामा प्रयोग भएको हतियार एकथान थ्री नटथ्री गोली बरामद गरेको छ।

गत शनिबार राति १ बजेदेखि अपहरणमा परेका १२ वर्षीय बालक युवराज साहको सोमबार हत्या भएको थियो। अपहरणकारीले साहको घरभन्दा २५ किलोमिटर टाढा गढीमाई नगरपालिका-५ स्थित मदनपुरको बागमती किनारमा लगेर गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ।

हत्याको आरोपमा कटहरिया नगरपालिका-९ का वडा अध्यक्ष रामज्ञा यादव, उनका छोरा कटहरिया-९ डुमरियाका टोल निवासी १९ वर्षीया शक्ति राय यादव, २० वर्षीया प्रवीण राय यादव, २० वर्षीया सुनिल कुमार यादव र वृन्दावन नगरपालिका आकरपाथरका १८ वर्षीया विनोदकुमार पटेल, र २० वर्षीया रवीकुमार पटेललयायत १२ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ भने बाँकी चारजनाको खोजी कार्य तीव्र बनाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चतुर्भुज  ओझाले जानकारी दिए।

यसैबीच बालक हत्यामा संलग्न रहेको आरोप लागेका एकजना प्रहरी जवान सम्पकविहीन भएका छन्। घटनाका मुुख्य योजनाकार भनिएका  वडा अध्यक्ष रामाज्ञा यादवका भाइ प्रहरी जवान होश नारायण यादव सम्पर्कविहीन भएका हुन्। किटानीको आधारमा बारा मुुसहर्वा प्रहरी चौकी दरबन्दी रहेका प्रहरी जवान होश नारायण यादवलाई हाजिर गराउन ईलाका प्रहरी कार्यालय गरुडाले बारा प्रहरी लाई पत्र लेखेको थियो । पत्र लेखेको ३ दिन बित्दा पनि उनी  हालसम्म सम्पर्कमा नआएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरिक्षक ओझाले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.