|

  • जीवन भण्डारी-

काठमाडौं : विश्वको ध्यान अहिले केही दिनअघि सुरु भएको विश्वकप फुटबल प्रतियोगितातर्फ तानिएको छ। पहिलो पटक विश्वकप आयोजना गरेको रुसले यही जुन १४ अर्थात् जेठ ३१ देखि एक महिनासम्म हुने फुटबल महासंग्रामलाई भव्य र अविश्मरणीय बनाउन अनेक उपाय गरेको छ। फिफा विश्वकपको २१औँ संस्करणको व्यग्र प्रतिक्षा भइरहेका बेला २२औँ संस्करणको विश्वकप आयोजना गर्ने हिम्मत देखाएकै कारण कतारमाथि नाकाबन्दी भएको पनि एकवर्ष पूरा भएको छ।

सन् २०२२ मा हुने विश्वकप फुटबल प्रतियोगिताको आयोजना कतारमा गर्ने तयारी भएपछि ग्यास र तेल भण्डारले सम्पन्न सानो देश कतार र उसका छिमेकी मुलुकबीच जारी कूटनीतिक संकटका कारण प्रतियोगिता अन्यौलमा पर्ने त होइन भन्ने आशंका बढ्दो छ।

सन् २०१० मा विश्व फुटबल महासंघ फिफाले सन् २०२२ को विश्वकप कतारलाई आयोजना गर्न दिने निर्णय गरेको थियो। गर्मीमा कतारको तापक्रम बढी हुने भएकोले शरद ऋतुमा खेल सञ्चालन गर्ने निर्णयसमेत गरिएको थियो। कतारले विश्वकप आयोजना हुनुलाई क्षेत्रीय एकताको प्रतीकको रुपमा व्याख्या गरेको थियो। तर कतारले विश्वकप आयोजना गर्दा छिमेकी देशसमेत खुशी हुनुपर्ने बताएपनि अन्य देश भने बेखुशी देखिए। उनीहरू वेखुशी भएको पुष्टि उनीहरूले अनेक बहनामा कतारमाथि नाकाबन्दी लगाएर गरे। गतवर्षको जुन महिनामा साउदी अरब, बहराइन, इजिप्ट र संयुक्त अरब एमिरेट्स (युएइ)ले कतारसँग सम्पूर्ण कूटनीतिक तथा व्यापारिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेका थिए र त्यो अवस्था अहिले पनि जारी छ। यही कुटनीतिक संकटका कारण विश्वकपको अर्को संस्करण शंकाको घेरामा छ।

कतारमा विश्वकप आयोजनासम्बन्धी सर्वोच्च निकाय ’सुप्रिम कमिटी फर डेलिभरी एण्ड लेगेसी’ले भने नाकाबन्दी भएपनि विश्वकप आयोजना गर्न सक्ने दावी गरेको छ। उसले आफ्नो एउटा वक्तव्यमा भनेको छ, 'मध्यपूर्वमा पहिलो पटक गरिन लागिएको विश्वकप आयोजनालाई लिएर कुनै संकट छैन। कतारविरुद्ध जारी नाकाबन्दीको असर विश्वकपको तयारीमा पर्नेछैन।'

‘म्यानेजमेन्ट कन्सल्टेण्ट कर्नरस्टोन ग्लोबल’ले केही महिनाअघि तयार पारेको एक अध्ययन प्रतिवेदनमा भनिएको छ, 'विश्वकप आयोजनालाई लिएर कतार ठूलो दबाबमा छ। यसको कारण जारी राजनीतिक संकट वा कतारमा एउटा आन्दोलन भड्किने आशंका छ।'

के फिफा विश्वकप २०२२ संकटमा छ ? भन्ने शीर्षकमा गरिएको अध्ययन प्रतिवेदनअनुसार निर्धारित समयमा कतारमा विश्वकप हुन्छ या हुदैन भन्न सकिने अवस्था नरहेको पश्चिमा कूटनीतिज्ञहरूले बताइरहेका छन्। तर सुप्रिम कमिटी फर डेलिभरी एण्ड लेगेसीले भने प्रतिवेदन अस्वीकार गरेको छ। विश्वकप आयोजनालाई लिएर कुनै समस्या नरहेको कतारले दाबी गर्दै आएको छ।

कतार प्राकृतिक ग्यास निर्यात गर्ने संसारकै दोश्रो ठूलो राष्ट्र हो। २७ लाख मात्र जनसंख्या भएको यो सानो खाडी मुलुक समृद्ध छ। आफ्नो क्षेत्रमा छुट्टै पहिचान बनाउने र प्रभाव विस्तार गर्ने कतारको नीति छ। ऊसँग प्रसिद्ध वायुसेवा कतार एयरवेज छ। प्रसिद्ध टेलिभिजन च्यानल ‘अलजजिरा’ छ। यही पुष्ठभूमीमा सन् २०२२ मा फिफा विश्वकप आयोजना गर्ने हिम्मत गरेको हो। प्रसिद्ध फुटबल क्लब बार्सिलोनासमेत उसैको पैसाले चल्थ्यो। विश्वका नामुद बहुराष्ट्रिय निगम कतारमा छन्। पछिल्लो भूराजनीतिक घटनाले भने कतारमाथि नराम्ररी प्रहार गरेको छ।

खाडी मुलुक कतारविरुद्ध साउदी अरबसहितका छिमेकी देशले गरेको नाकाबन्दीलाई खाडी क्षेत्रमा पछिल्लो केही समयदेखिको सबैभन्दा ठूलो कूटनीतिक संकटका रुपमा हेरिएको छ। खाडी क्षेत्रको तनाव गत वर्षको जुन ५ बाट सुरु भएको थियो। साउदी अरबको नेतृत्वमा कतारमाथि भएको नाकाबन्दीमा बहराइन, इजिप्ट र युनाइटेट अरब इमिरेटस् (युएइ)ले साथ दिएका छन्। उनीहरूले सोही समयमै कतारसँगको सवै कूटनीतिक सम्वन्ध टुटेको बताएका थिए। कतारले ‘आतङ्कबाद’लाई सहयोग पुर्‍याएको र इरानसँग नजिकिएकोले नाकाबन्दी लगाएका मुलुकले कतारलाई आरोप लगाएका छन्। तर कतारले भने उनीहरूको आरोप अस्विकार र खण्डन गर्दै आइरहेको छ।

कतारविरुद्ध नाकाबन्दी लगाएका देशहरूले कतारसँगको स्थल र जल नाका अहिलेसम्म पनि बन्द नै गरेका छन् भने हवाई सेवा टुटाएका छन्। साथै कतारका नागरिकलाई आफ्नो देशबाट निकाला पनि गरेका छन्। साउदी अरबले कतारको अलजजीरा टेलिभिजन च्यानलको रियाद व्युरो कार्यालय पनि बन्द गरिदिएको छ।

नाकाबन्दी लगाउने देशहरूले गत वर्षको जुन २२ मा साउदी अरबको नेतृत्वमा कतारलाई १३ बुँदे माग तथा सर्त पूरा गर्न दवाव दिएपनि कतारले कुनै सर्त मान्य नहुने जवाफ पठाएको थियो। माग पूरा गर्न नसक्ने अडान कतारले लिएपछि उसमाथि आर्थिक तथा सबै किसीमको नाकाबन्दी गरिएको हो। विवाद समाधान नभइरहेका बेला गएको सेक्टेम्बर ८ मा कतारका राजाले साउदी अरबका युवराजसँग वार्ता गर्न चाहेको खवर पठाउनुभयो। तर सेक्टेम्बर ९ मा साउदी अरबले भने कतारसँग कुनै वार्ता नहुने जवाफ पठायो।

राष्ट्रसंघसँग दुवै पक्षको उजुरी सन् २०१८ को अप्रिलमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारका राजालाई भेटेर नाकाबन्दीका बारेमा समाधान निकाल्न आग्रह गर्नुभयो। नाकाबन्दीका बारेमा संयुक्त राष्ट्रसंघमा पनि छलफल भयो भने राष्ट्रसंघले पनि कूटनीतिक समाधानका लागि दुवै पक्षलाई आह्वान गर्‍यो। तर पनि समाधान ननिस्कलेपछि विश्वलाई नै तताएको नाकाबन्दीको विषय अहिले सेलाएको छ। नाकाबन्दी भने जारी नै छ।

कतार एक्लिएपनि नझुकेकाले यसको समाधान हुने सम्भावना देखिएको छैन। बरु मध्यपूर्वमा भूराजनीतिक सन्तुलन बिग्रँदै जाँदा इरानले कतारलाई खाद्य सामग्री पठाइदिने लगायतका सहयोग गर्दै आएको छ। नाकाबन्दी सुरु हुनुभन्दा अगाडिसम्म कतार यूएई र बहराइनसँग दूग्धजन्य पदार्थका लागि ८५ प्रतिशत निर्भर रहेकोमा अव उल्टै निर्यात गर्ने मुलुक बन्न लागेको छ।

यस खाडी मुलुकमा प्रयोग हुने सागसब्जी सबै युरोपेलीलगायत मुलुकबाट आयात हुने गरेकोमा कतारजस्तो मरुभूमिमा पनि पर्याप्त खेतीपाती सम्भव छ भन्ने पुष्टी गर्दै देशको आवश्यकताको ९० प्रतिशत आफैँ उत्पादन गर्न थालिसकेको छ।

कतारका ग्रिनहाउसमा गोलभेँडा, लसुन, प्याजलगायत तरकारी पर्याप्त फल्न थालेका छन् भने मेवा उत्पादनले राम्रो परिणाम दिएको छ। आफ्नो लागि आवश्यक सामग्री आफैँ उत्पादन गर्ने रणनीति आक्रामकरुपमा अघि बढाएकाले निकट भविष्यमै कतारलाई भोजनमा आत्मनिर्भर बनाइसक्ने कतारीको अठोट छ।

कतारका व्यावसायिक कृषक आगामी तीनदेखि पाँच वर्षमा मुलुकलाई तरकारी र डेरीजन्य उत्पादनमा आत्मनिर्भर बनाउन लागिपरेका छन्। तर, उखु र मकै फलाउन भने अझै सम्भव देखिएको छैन। उत्पादित सामग्री भण्डारण गर्न सरकारले एक स्थानीय कम्पनीलाई ठूला गोदाम निर्माणको ठेक्का दिइसकेको छ।

त्यस्ता गोदाममा ३० लाख जनसंख्यालाई दुई वर्षसम्म पुग्ने सामग्री भण्डारण गर्न सकिनेछ। नाकाबन्दी कायमै रह्‍यो र विश्वकपको २२औँ संस्करण कतारमै हुने भयो भने सन् २०२२ मा विश्वकप खेल्न र हेर्न कतार आउने मानिसले स्थानीय उत्पादन नै उपभोग गर्न पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.