|

कञ्चनपुर  ः कञ्चनपुरमा प्रारम्भिक सीमा सर्भेक्षण (रेकी) को यस वर्षको कार्य पूरा गरी नेपाल-भारत सीमा सर्वेक्षण टोली फिर्ता भएको छ। यसै क्रममा टोलीले कैलाली कञ्चनपुरका १०१ सीमास्तम्भ मर्मत गरेको छ। ३१ वटा नयाँ सीमा स्तम्भको निर्माण गरेको छ।

कात्तिक महिनामा टोलीले कार्य प्रारम्भ गरी जेठ दोस्राे साता टोली फिर्ता भएको हो। टोलीले कैलाली र कञ्चनपुरका ६५९ सीमा स्तम्भको प्रारम्भिक सर्वेक्षणको कार्य गरेको छ। मुख्य सीमास्तम्भ ११२, सहायक सीमास्तम्भ ४४३ र साना सीमास्तम्भ १०४ को सर्वेक्षण गरेको टोलीका प्रमुख नापी अधिकृत सुदर्शन सिंह धामीले बताए। सर्वेक्षणका क्रममा १०५ वटा सीमास्तम्भ हराएका पाइएको छ जसमध्ये कञ्चनपुरमा मात्रै ३९० मध्ये ३९ वटा सीमास्तम्भ हराएका छन। भारतीय टोलीले जोड र नेपाली टोलीले विजोर अंकका आधारमा सीमास्तम्भ मर्मत गरेको छ।

सीमा सर्वेक्षण टोलीमा नेपालीतर्फबाट छ जना र भारतीयतर्फबाट समेत सोही संख्याको टोली सहभागी थियो। हालसम्म कञ्चनपुरका ७५७/१ सीमा स्तम्भसम्म सर्वेक्षणको कार्य गरिदा दुवैतर्फबाट कुनै किसिमको विवाद नरहेको सीमा सर्वे अधिकृत कमल शाहीले बताए। उनकाअनुसार कैलालीका एक/दुई ठाउँमा विवाद देखिँदा सीमास्तम्भ मर्मतहुन पाएको छैन। टोलीले पुनः सेप्टेम्बर/अक्टुबरदेखि सीमा सर्वेक्षण कार्य सुरु गर्नेछ। 

कञ्चनपुरमा पर्ने नेपाल-भारत सीमाना, भारतीय जिल्ला, सीमा स्तम्भको अवस्था

कञ्चनपुर जिल्लाको नेपाल-भारत सीमानामा भारतका चार जिल्ला खिरी, पिलिभित, उधमसिंहनगर र चम्फावत पर्छन्। पूर्व सीमा सर्वेक्षक मानसिंह भण्डारीका अनुसार जसको सीमास्तम्भ अनुसारको विवरण यस प्रकार छ– 

कञ्चनपुर-खिरी सीमा क्षेत्र : पुनर्वास नगरपालिकाको पचगडीमा रहेको साविक सीमास्तम्भ नं.१७० र हालको सीमास्तम्भ नं.७५२/६ देखि बेलौरी नगरपालिकाको नयाँ गाउँमा रहेको साविक सीमास्तम्भ नं.२११/४२ र हालको सीमास्तम्भ नं.७४६ सम्म पर्छ। यो क्षेत्रमा भारत तर्फको पूर्वमा गौरीफण्टादेखि पश्चिममा खजुरीया बजार पर्छन्। पूर्वको पचगडीयादेखि पश्चिमको बेलौरीको नयाँ गाउँ सम्मको सीमा क्षेत्रमा साविकका बीपी २८, रिङ १५ र आरपी १४ गरी जम्मा ५७ वटा सीमास्तम्भ रहेका थिए।

हाल सो क्षेत्रमा मुख्य सीमास्तम्भ २४, सहायक सीमास्तम्भ ७८ र साना सीमास्तम्भ (माइनरी) १०४ गरी २०६ वटा सीमास्तम्भ छन् जसमध्ये साविकका बीपी १९५, २००, २०६, आरपी १९६ ए देखि १९६ इ सम्मका पाँच र अारपी २०४ ए, २०४ एच, २०४ जी र २०४ एफ गरी १२ वटा सीमास्तम्भ हराएका छन्। 

कञ्चनपुर-पिलिभित सीमा क्षेत्र : कञ्चनपुरको बेलौरी नगरपालिकाको नयाँ गाउँमा रहेको साविक सीमास्तम्भ नं.२११/४२ हालको सीमास्तम्भ नं.७४६/१ देखि महाकाली नगरपालिकाको सुन्दर नगरमा रहेको साविक सीमास्तम्भ नं.१७ र हालको सीमास्तम्भ नं.७९६ सम्मको भारतको मेलाघाट सीमा क्षेत्र भारतको पिलिभित जिल्लामा पर्छ। यो क्षेत्रमा साविक सीमास्तम्भ बीपी २५ एपी १७ गरी १७ सीमास्तम्भ रहेका छन्। हाल सो क्षेत्रमा मुख्य सीमास्तम्भ २० सहायक सीमास्तम्भ ९० गरी ११० वटा सीमास्तम्भ रहेका छन्। जस मध्ये साविक सीमास्तम्भ बीपी २२, २०, १९ र एपि १२ गरी जम्मा १५ वटा सीमा स्तम्भहरू महाकाली नदीमा परेर बगेका छन्। 

कञ्चनपुर- उधमसिंहनगर सीमा क्षेत्र : साविक सीमास्तम्भ १७ र हालको सीमास्तम्भ ७९६ देखि महाकाली नगरपालीको सुन्दरनगरमा रहेको साविक सीमास्तम्भ १२ र हालको सीमास्तम्भ नं.८०१ सम्मको क्षेत्र भारतको उधमसिंह नगरसँग जोडिएको छ। यो क्षेत्रमा साविक सीमास्तम्भ १२, १३, १४, १५, १६ गरी पाँचवटा सीमास्तम्भ पर्छन्। हालको सीमास्तम्भ ५ र सहायक सीमास्तम्भ १५ गरी २० वटा सीमास्तम्भ रहेका छन् जसमध्ये साविक १२ र हालको ८०१ सीमास्तम्भ जोगबुढा नदीमा परेर बगेको छ। 

कञ्चनपुर- चम्फावत सीमा क्षेत्र : महाकाली नगरपालिकाको चाँदनीमा रहेको साविक सीमास्तम्भ १२ र हालको सीमास्तम्भ ८०१ देखि भीमदत्त नगरपालिकाको वडा नं.९ ब्रम्हदेव खल्लामा रहेको साविक सीमास्तम्भ १ हालको ८१६/१ सम्मको क्षेत्रमा भारतको चम्फावतसँग जोडिएको छ। भारतको गडीगोठदेखि टनकपुर सम्म सीमा क्षेत्र पर्छ। साविक सीमास्तम्भ बीपी १८, अारपी ३ र आईपी १३ गरी जम्मा ३४ वटा सीमास्तम्भ पर्छन्। हाल मुख्य सीमास्तम्भ १६, सहायक सीमास्तम्भ ३८ गरी जम्मा सीमास्तम्भ ५४ रहेका छन्। साविक सीमास्तम्भ ३ र ३ ए हराएका छन्। 

कञ्चनपुरमा कहाँ कहाँ छ सीमा विवाद 

कञ्चनपुरमा भारतसँग सीमा जोडिएका मुख्य छ ठाउँमा विवाद रहेको छ। पूर्व सीमा सर्वेक्षक भण्डारीका अनुसार नदी, खोलानाला भएका ठाउँमा बढी विवाद देखिएको छ। प्यारानाला, सुहेली नदी, भागरिया नाला, सडक घाट, झिलमिला, जीमुवा ब्रम्हदेव लगायतका क्षेत्रमा पहिले देखिको सीमा विवाद रहेको छ। नेपाली पक्षले चासो नराख्दा र भारतीय पक्षले सीमा विवादलाई यथावत राख्दै आएकाले यसले निकास नपाएको पूर्व सीमा सर्वेक्षक भण्डारीको भनाई रहेको छ। उनका अनुसार कुन कुन ठाउँमा के कारणले कञ्चनपुरमा भारतसँग सीमा विवाद रहेको छ। 

प्यारानाला विवाद

सन् १९६० को नक्सामा प्यारा नाला सीमास्तम्भ नं.१९४ देखि १९६ सम्मको आठ किलोमिटर क्षेत्रमा पर्छ। सीमास्तम्भ १९४ देखि सोझो पश्चिमतर्फ प्याराको दायाँ किनारामा रहेको साविक सीमास्तम्भ १९५ हाल भत्केको अवस्थामा रहेको छ। आव २०६०/६१ मा भत्केको सीमा स्तम्भका सट्टा हालको सीमास्तम्भ ७६३,७५४,७६५,७६६ निर्माण गरी ती सीमास्तम्भ नेपालतर्फ करिब १५० मिटरभित्र प्यारा नालाको बायाँ किनारामा स्थापना गरी सोही अनुसार सीमा स्तम्भदेखि सीमास्तम्भ बीचको सोझो रेखा तानी परासनबीच फाँटाको राष्ट्रिय माविको १० एकड जग्गामा भारतीय पक्षबाट दावीभई पूरै प्यारा भारतमा पर्छ भन्ने भ्रम फैलाइएपछि भारतीय गतिविधि बढी सो क्षेत्रमा तनाव उत्पन्न भई सीमा संरक्षण समिति समेत गठन भएको थियो।

नेपालतर्फबाट प्रतिकार गर्दा जग्गा कव्जा गर्न नसकेपनि भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमै आएर धम्काउने कार्य बारम्बार हुँदै आएको छ। सीमास्तम्भ नं.१९६ को नजिकमा  २०३५ सालमा पुनर्वास आवास कम्पनीबाट सुकुम्बासीलाई वितरण गरिएको जग्गामा समेत भारतीय पक्षले दावी गर्दै आएका छन्। धेरै वर्ष पहिला देखि नै प्यारा नालामा माछा मार्ने ठेक्काको कार्य नेपाली पक्षबाट दिने कार्य हुँदैआएको छ। प्याराको घाट तार्ने कार्यको ठेक्का समेत नेपालतर्फबाट हुँदै आएको छ। भारतीय मल्लाह जातका व्यक्तिहरूले नेपालीको ठेक्कामा काम गर्दै आएका छन्। 

सुहेली विवाद : सीमास्तम्भ नं.१९७ देखि २०० सम्मको चार किलो मिटर सीमाना सुहेली नदीमा पर्छ। सुहेली नदी हाल अन्यत्रै बग्दै आएकाले सो क्षेत्र हाल वन जंगलले ढाकेको छ। सुहेलीको दुई/दुई पटक सर्वेको कार्य गर्दा समेत सुहेलीको स्पष्ट ट्रेस आउन नसकेपछि सन् १९८८ र १९८९ मा सुहेलीका बारेमा नेपाल-भारत दुवै पक्षबाट पुनर्वास आवास कम्पनीका तर्फबाट वितरण गरिएको जग्गाको दक्षिणी तर्फको डिललाई सीमा नाका कायम गरी भारतीय पक्षबाट सुकुम्बासीले पाएको जग्गामा समेत दाबी गरी भोगचलन गर्न रोक लगाइएको छ। 

भागरिया नाला विवाद : भागरिया नाला क्षेत्र सीमास्तम्भ २०३ देखि २०८ सम्मको छ किलोमिटर क्षेत्रमा पर्छ। नाला नागवेली परी सीमा क्षेत्र भएर बगेको थियो। जुन नाला हाल सुकिसकेको छ। सीमा स्तम्भदेखि सीमास्तम्भ सम्मको सोझो रेखा तानी सीमा मानिएको छ। भारतीय पक्षबाट नालाको बायाँ किनाराको भू–भाग पनि कव्जा गरी बसोवास गरिएको छ। सन् १९८८ मा भागरिया नालाको पाँच /पाँच क्षेत्रको संयुक्त सर्वे हुँदा भागरिया नाला क्षेत्र पहिले नै सोझो पारिएकाले सन् १९३५ तिर नालाको सीमाना सोझो पार्दा नेपालको ५४ एकड जग्गा भारततर्फ पर्नजाने  र सोको बदलामा कविर गाउँको आसपासको ५५ एकड जग्गा नेपाललाई दिने विषयको पत्राचार भारतकातर्फबाट भएको थियो।

 नेपाली पक्षबाट भोगारिया नालको सीमाना सोझो पार्दा सीमास्तम्भ नं.२०३ देखि २०४ सम्मको सीमाना मात्रै सोझो पारी सीमास्तम्भ २०६ र अारपी २०७ लाई अारपीमा परिणत गरी सीमास्तम्भ अारपी २०६ देखि १५५ मिटर पश्चिमतर्फ नयाँ साविक सीमास्तम्भ बीपी २०६ र अारपी २०७ को पश्चिमी नालाको किनारामा १५४ फिटमा साविक नयाँ २०७ सीमास्तम्भ राखियो। बाँकी सीमा सोझो पार्ने भए अलग्गै सम्झौता हुने भनी सन् १९२८ डिसेम्बरमा नेपाल-भारत बीचमा सम्झौता भएको दस्तावेजबाट देखिन्छ। भोगारिया नालको विवादक बारेमा हालसम्म साविक सीमास्तम्भ २०६ र २०७ र अारपी २०६ र २०७ का बीचको दश एकड र सीमास्तम्भ २०४ र २०६ सम्मको नालाको सीमा स्तम्भदेखि स्तम्भसम्मको सोझो रेखासम्म सोझो पार्दा नालको बायाँ किनाराको जग्गा समेत भारतीय पक्षले कब्जा गरी चलनभोग गर्दै आएकाे छ।

भारतीयको भनाइअनुसार सीमास्तम्भ  

१९८ र १९७ को बीचमा पर्ने खडडा कंकड आसपासको जग्गामा पनि भारतीय पक्षले दाबी गर्दै आए पनि त्यो सत्य नभएको पूर्व सीमा सर्वेक्षक भण्डारीले भने 'त्यो पूरै जग्गा नेपालकै हो।'

सडकघाट सीमा विवाद : सडकघाट क्षेत्र सीमास्तम्भ २११/४२ देखि ३० सम्मको सीमाना पुरानो नालाको डिल भएर जाने भनी सन् १९३५ मा उल्लेख भई सीमांकन भएको र हाल सो पुरानो नाला पूरै खेती गरी नाला स्पष्ट नदेखिने हुँदा यो क्षेत्रको दशगजा अतिक्रमणको विवरण हालसम्म लिन सकिएको छैन। हाल सीमा स्तम्भदेखि सीमास्तम्भ सम्मको सीमा रेखा सोझो पारिएको हुँदा त्यसलाई बदली सिमाना निश्चित गरिनुपर्ने भनी सन् १९८२ र १९८३ मा संयुक्त सर्वे हुँदा कैफियत भएको तर हालसम्म सो क्षेत्रमा पुरानो नालाको बायाँ डिलमा सीमास्तम्भ बीच सोझो सीमा रेखा बनाइएको रेखा यथावत् रहेको भण्डारीले बताए। सीमास्तम्भ ३५ नजिकको टिल्ला भन्ने ठाउँ (सडकघाट) मा भारतीय नागरिकले नालाको बायाँ किनारामा ५० मिटर नेपालतर्फ आई बसोवास गर्दै आएका छन्। सीमास्तम्भ ३५ नजिक भारतीय एसएसवीले क्याम्पनै दशगजानजिकै बनाएर बसेका छन्। 

झिलमिला विवाद : यो क्षेत्र सीमास्तम्भ ३० देखि २८ सम्मको क्षेत्रसम्म पर्छ। यस क्षेत्रमा २०४५ सालसम्म महाकाली नदी बग्ने गरेको थियो। हाल नदीले धार परिवर्तन गरी भारततर्फ बग्ने गरेपछि बगर भएको क्षेत्रमा सीमा स्तम्भदेखि सीमास्तम्भ सम्मको सोझो रेखा बनाई भारतीय पक्षबाट नेपाली भू-भागमा कब्जा भएको छ। 

जिमुवा ब्रह्मदेव सीमा विवाद : यस क्षेत्रमा सन् १९२० मा सुरु भई सन् १९२८ मा तयार भएको वनवासा (शारदा) व्यारेजको पुल सुरक्षाका लागि तत्कालीन कम्पनी (अंग्रेज) सरकारका तर्फबाट यो क्षेत्रको जग्गा सट्टा पट्टा माग गर्ने गरी लेखिएको पत्रको जवाफमा सन् १९२० मा नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको पत्राचार सन्धिबाट दिएको ४० हजार एकड जग्गाको सट्टा नेपालले भारतको फैजावाद र लखनऊ डिभिजन अन्तर्गतका गौंडा, बहराइच जिल्लामा सिमानामा पाउने सम्झौता भएको थियो। भारतले पुल बनाउनका लागि नेपालतर्फको जग्गा पाए पनि भारतले उपलब्ध गराउने भन्ने जग्गा हालसम्म पाउन सकिएको छैन। सो क्षेत्रको जग्गा अझैसम्म नेपालको नक्सामा परे नपरेको थाहा नभएको भण्डारीले बताए। 

जिमुवा ब्रम्हदेव क्षेत्रको साविक सीमास्तम्भ एकदेखि अाठसम्म महाकाली नदीको सीमा क्षेत्रका साविक सीमास्तम्भ ३ बाट ३ ए हुँदै ४ ए, ५ ए, बी ६, ६ ए, ६ बी, ६ जी, ७ र ८ए समेतका ११ सीमास्तम्भ महाकाली नदीको बायाँ किनारातर्फको नेपाली भू-भागमा स्थापना गरी बीचको ४ हजार एकड जग्गा भारततर्फ पारिएको छ। सो जग्गामा रहेका रुखहरूको मूल्य ५० हजार रुपैयाँ भारतीयले दिने गरी सट्टापट्टा गरिएको थियो। सो जग्गाको भारतीय नापी सर्वेक्षक रणजित सिंहले सन् १९८२, १९८३ मा नक्सा तयार पारेका थिए।

सिंहले तयार गरेको नक्सामा साविक सीमास्तम्भ ३ र ३ ए लाई क्रमश: ६०९ फिट दक्षिणतर्फ सारी सोबीचको ३६ एकड जग्गा नेपाले फिर्ता पाउनुपर्ने भनी स्पष्ट उल्लेख गरिएको भए पनि फिर्ता पाएको छैन। साविक सीमास्तम्भ ३ र ३ ए को 'पोजिसन' एकीन नहुँदासम्म सीमास्तम्भ निर्माण नगर्ने भनी उक्त दुवै सीमास्तम्भ बन्न नसकेका कारण सीमा विवाद यथावत रहेको छ। यी वर्षौदेखि विवादित रहेका क्षेत्रको सर्वेक्षण गर्दा नेपाली टोलीमा सहभागीहरूले देश हितलाई मध्यनजर गरी अतिक्रमण गरिएको भूमि फिर्ताका लागि पहल गरिनुपर्ने पूर्व सर्वेक्षक भण्डारीको भनाइ छ। भण्डारी कञ्चनपुरमा २७ वर्ष सीमा सर्वेक्षक भई सेवानिवृत्त भएका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.