|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको शनिबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे जानकारी गराइएको छ।

बैठकमा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो भ्रमण फलदायी र ऐतिहासिक हुने अपेक्षासहित जानकारी गराएका हुन्। प्रधानमन्त्री ओली यही असार ५ गते छिमेकी चीनको भ्रमणमा जाँदै छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको पहिलो स्थायी समिति बैठकले विगतमा चीनसँग भएको दुई पक्षीय सहमतिको कार्यान्वयन र सम्बन्धलाई थप विकास हुने अपेक्षा व्यक्त गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

पार्टी एकताको उत्साहलाई देशव्यापी बनाउन र संगठनात्मक संरचनालाई चाँडो किनारा लगाउन बैठकले जोड दिएको छ। बैठकमा सरकारको बजेट, नीति कार्यक्रम र कार्य प्रगतिबारे समीक्षा भएको छ। हालसम्मका सरकारका काम सन्तोषजनक भएको र देखिएका कमजोरीलाई आत्मसमीक्षा गर्दै प्रभावकारी बनाउने निर्णय भएको छ।

बैठकमा दुवै अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनचाहनाबमोजिम सरकारलाई थप प्रभावकारी बनाउन र सिङ्गो पार्टीलाई एकताबद्ध बनाउन निर्देशन दिएका थिए।

बैठकले पार्टी नियमावलीबारे १० दिनभित्र सुझाव दिन स्थायी समिति सदस्यको सुझाव लिई अन्तिमरुप दिन सचिवालयलाई जिम्मा दिएको छ। बैठकमा महासचिव विष्णु पौडेलले एकतापछिको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

तत्काली नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) गत जेठ ३ गते एकता भई नेकपा गठन भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.