|

काठमाडौं : खानेपानीमन्त्री बिना मगरले शहीद र बेपत्ता नागरिकका सपना अझै पूरा नभएको बताएकी छन्। उनले अझै पनि लडाइ जारी रहेको बताएकी छन्।

नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धका क्रममा काठमाडौंबाट बेपत्ता पारिएका विपिन भण्डारी (सुशिल) र दिलबहादुर राई (प्रविण)को स्मृतिमा आयोजित 'बेपत्ता योद्धाहरूको योगदान र वर्तमानमा हाम्रो दायित्व' विषयक कार्यक्रममा मन्त्री मगरले भनिन्, 'हामी अहिले जुन राजनीतिक उपलब्धिको कुरा गर्दैछौं, त्यो सबै शहीद र बेपत्ता साथीहरूको योगदानका कारण सम्भव हो।' मन्त्री मगरले भनिन्, 'हाम्रा सपना अझै पुरा भएका छैनन्, हाम्रो लडाइ जारी छ।'

माओवादी नेता विपिन भण्डारीबाट आफूले राजनीतिकरुपमा धेरै कुरा सिकेको स्मरण गर्दै मन्त्री मगरले व्यक्तिगत स्वार्थभन्दा जनताको हितलाई माथि राखेर राजनीति गर्नुपर्ने शिक्षा र प्रेरणा उनीहरूबाट पाएको बताइन्।

कञ्चनपुरबाट काठमाडौं आएको बेला राजनीतिक सचेतना र नेतृत्वदायी भूमिका निर्वाह गर्न प्रेरणा र ऊर्जा दिने दर्जनौं नेता शहीद र वेपत्ता भएको उनले बताइन्। 'हामीले उहाँहरुले साँचेको सपना बिर्सेका छैनौं', उनले भनिन्। उनले बेपत्ता र शहीदहरू जुन राजनीतिक परिवर्तन र अधिकारका लागि लडेका थिए त्यो प्राप्त भइनसकेको बताइन्। त्यसका लागि अब संघर्ष गर्नुपर्ने बताइन्।

मन्त्री मगरले बेपत्ताहरूको अवस्था सार्वजनिक गर्न पटकपटक विभिन्न तहबाट प्रयास भएपनि कतिपय बेपत्ताहरूको स्थिति सार्वजनिक हुन नसकेकामा दुःख व्यक्त गरिन्। उनले बेपत्ता नागरिकको खोजिका लागि राज्यले उत्त प्राथमिकता दिनुपर्ने बताइन्।

शहीद र बेपत्ता स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा बेपत्ता परिवारलाई सम्मान गरिएको थियो।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले अहिलेको परिस्थिति फरक भएकाले देशले राजनीतिक आन्दोलनमा लागेर ज्यान गुमाएका र बेपत्ता भएकाहरूप्रति सम्मान गर्नुपर्ने बताए। उनले भने, 'देशका लागि, जनताका लागि योगदान गर्ने, जीवन उत्सर्ग गर्नेहरू महान हुन, हाम्रो दायित्व उहाँहरूको सपना पूरा गर्ने हो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.