|

काठमाडौं‌ : रेडियोमा नारायण गोपालको गीत बज्छ। लाग्छ, क्या जादूमयी स्वर छ। भक्तराजको गीत बज्छ। लाग्छ, क्या गीत गायो। गोपाल योञ्जन, नातिकाजीको संगीत सुन्दा लाग्छ, होइन के खाएर बनाउँदा हुन् यति मीठो संगीत! 

यस्तै बेला शम्भुजीत बाँस्कोटाको गीत जब रेडियोमा बज्यो, मनको कुनासम्म गीत/संगीतप्रति केही गर्छु भन्ने लक्ष्यको प्रारम्भिक घण्टी बज्यो हरि लम्सालको मनमा। उनको किशोरवयको दिमागमा उनीहरू जस्तो कसरी हुने होला भन्ने कुराले डेरा जमाउन थाल्यो। उनी घर छाडेर भागेर काठमाडौं आइपुगे। नारायण गोपाल, भक्तराज आचार्यको बाटो समाते। अनन्त: उनी नेपालका कुशल गायक र संगीतकार बने।

बजारमा अहिले सुनिने 'पानीको फोका जस्तै छुट्यो हाम्रो माया' होस् या 'नजाऊ टाढा तिमीलाई' होस्, 'पर्दा पछाडि' गीत/गजलसम्म आइपुग्दा त्यो दिन नवलपरासीमा अवस्थित आफ्नो घरको चौघेरा नाघेर हिँडेकोमा आफूलाई कुनै पछुतो नभएको उनले प्रमाणित गरे। जब सपना र रहर जन्मन थाल्छन्, तब मनमा केही बन्ने विद्रोही भावको सकंल्प निर्माण हुन्छ। यस कुराबाट संगीतकार तथा गायक हरि लम्साल अछुतो रहेनन्।

उनलाई के कुरा थाहा थियो भने फलेको आँप सबैले देख्छन्। अग्रजहरू यसै अग्रज भएका होइनन्। उनीहरूका पनि संघर्षका आफ्नै कहानी छन्। प्रगति सजिलै देखिने कुरा हो तर मिहिनेत र संघर्ष हावा जस्तै हो, कसले देख्छ? यदि सफल हुनु छ भने संघर्षको बाटो तय गर्नुको विकल्प छैन। कुनै पनि कुरामा सफल हुन पागलपन हुन जरुरी छ। त्यो पागलपनमा दृढ संकल्प हुन जरुरी छ। संगीत सिक्न तत्कालीन अवस्थामा काठमाडौं आउनु नै अन्तिम विकल्प थियो। चेतना दु:खको जननी हो भनेझैँ बुबा दमको बिरामी भएकाले घर छोड्न सक्ने अवस्था उनको थिएन।

दिदीहरूको विवाह भइसकेको थियो भने दाजु बुटवलमा काममा व्यस्त थिए। बिरामी बुबालाई हेरचाह गर्ने काम उनको जिम्मामा आइपर्‍यो। संगीतको रस मनमा जागिसकेको थियो। उता, बुबा हेर्ने जिम्मा पनि उनमा आइपरेको थियो। उनी धर्मसंकटको चपेटामा थिए। चेतनाले बुबाको हेरचाह गर्नुपर्छ भने पनि संगीतमा नलागी नछाड्ने उनको जिद्दीपनका कारण उनी वि. सं. २०५६ माघको अन्त्यतिर गाउँ छोडेर काठमाडौं भागे उनी। भन्छन्, 'घरको नाजुक अवस्थाका कारण तँ कसरी जान्छस् भनेर घरका सदस्यले नभनेका होइनन्, तर मेरो एकोहोरोपन र जिद्दीका अगाडि घरको बाध्यता गौण बनिदियो।'  उनी ती दिन सम्झिन्छन्, 'दाइले किनिदिएको २७ सयको साइकल १६ सय रुपैयाँमा बेचेर राती भागेर काठमाडौं आएको हिजो जस्तै लाग्छ तर वर्षौं भइसकेछ।'

जस्तोसुकै कठिनाइ र संघर्ष गर्नुपरे पनि पछि हट्दिनँ भनेर उच्च मनोबल बोकेर नवलपरासीबाट रात्रि बस चढेका उनी बसले बसपार्कमा गन्तव्य भनेर झारिदियो। न चिनेका कोही थिए उनका, न कहिल्यै काठमाडौं नै देखेका थिए। पत्रिकामा बागबजारस्थित सरगम कला केन्द्रको विज्ञापन देखेका थिए। उनी सोझै त्यहाँ पुगेर शुक्रबारको दिन भर्ना भए। पुन: उनी बसपार्क पुगे। खल्तीमा बाँकी केही रकम शनिबारको घुमघामले बेलुका सूर्य अस्ताएजस्तै गरेर सकियो। काठमाडौंको महँगीमा उनको पैसा बालुवामा पानि हालेजस्तो भयो।

भोलिपल्ट उनी क्लास गए। साथीहरूसँग चिना परिचित भए। पुन: बसपार्क आए। गोजीमा पैसा थिएन उनको। भोको पेट, चिसो हिउँदको रात खुला आकाशमुनि बिताए उनले। सरगममा भेटिएका राजेश विकले केही दिन आफ्नो कोठामा लगेर पनि राखे तर सधैँ असम्भव थियो। त्यहाँबाट बिदावारी भएर बिहान बसपार्क पुगे उनी। भोको पेटले आहारा माग्छ भनेझैँ उनलाई आहारा खुवाउने सहाराको खाँचो थियो। भनिन्छ, 'मान्छेलाई अभावले बाँच्न सिकाउँछ। बोल्न सिकाउँछ। जो कसैसँग पनि सहज हुन सिकाउँछ।' उनी पनि यस कुरामा कहीँ न कहीँ जोडिए।

बिहानीपख बसपार्कमा आएका मान्छेमध्ये आफू जस्तै गाउँबाट आएका मान्छे लाग्ने एक जना कैलालीबाट आएका वासुदेव मैनालीलाई उनले बोलाए। उनीसँग आफ्नो व्यथा सुनाए। उनी रहेछन् संगीतका पारखी। उनलाई लम्सालले केही गीत सुनाए। उनी प्रफुल्ल भए। आफू पनि काम र संगीत सिक्ने चाहले काठमाडौं आएकाले सँगै गरौँला भनेर उनले आफ्नो मितिनी दिदीकहाँ लगे। दु:खीहरूको सहारा दु:खी नै हुन्छन् भनेझैँ उनी मितिनी दिदीकहाँ एक दिन बसेर पुन: खुला आकाशमा बास बस्न आइपुगे बसपार्क।

उनी काठमाडौं आएको एक महिनापछि घरको यादले सताउन थाल्यो। गाली नै सही, एक पटक बाआमाको आवाज सुन्ने धोकोले घरमा फोन लगाए। बाआमाले दिदी-भिनाजु काठमाडौं बसाइँ सरेर आएकाले त्यहाँ जानु भनेर सल्लाह दिए। लम्साललाई के चाहियो र! उनी लागे दिदी-भिनाजुको घरतिर। सरगममा क्लास लिएका उनी चण्डीप्रसाद काफ्लेको सल्लाहमा त्यहाँ छाडेर गन्धर्व संगीत विद्यालयमा चन्दनकुमार श्रेष्ठकहाँ पुगे। कसैको रहर र सपना मार्नु भनेको मान्छे स्वयंलाई मार्नु हो भन्ने लम्सालका दाजुले बुझिदिए। दाजु स्वयं काठमाडौं आएर बागबजारमा कोठा खोजिदिए। दिलबहादुर रोक्कासँग बस्ने व्यवस्था भयो उनको।

संगीतमा पागल जस्तै भएर लागेका उनी बिहान सबेरै उठेर चर्को आवाजमा गीत गाउन थाले। रियाज गर्न थाले। दिलबहादुर रोक्का संगीतका विद्यार्थी नभएकाले स्वयं लम्साललाई रोक्कालाई आफूले असजिलो बनाएको भान हुन थाल्यो। छ महिनापछि तबलावादन सिक्न लागिपरेका देव गौतम उनीसँग बस्न थाले। उनको गौतमसँग दुई वर्षको बसाइ रह्यो।

संगीत सिकाइ लम्बिँदै गयो। घरबाट सधैँ कति पैसा मात्र मगाउनु जस्तो लाग्न थालेर उनी स्वयं गन्धर्व संगीत विद्यालयमा काम गर्न थाले। उनी भन्छन्, 'चण्डीप्रसाद सरले मेरो भर्नासमेत फ्रिमा गरिदिनुभयो भने मेरा कयौँ साथीले एकदम धेरै सहयोग गरे त्यसबेला, जसरी अहिले गरिरहेका छन्।'

संगीत सिकिरहेको दुई वर्ष पनि भएको थिएन, एक दिन नाताले भिनाजु पर्ने तीर्थराज बस्ताकोटीले एउटा गीत बोकेर उनीसँग भेट गरे। सुरुमा अलिकति दकस पनि लाग्यो उनलाई तर भिनाजुले 'हिम्मत हार्ने होइन, अभ्यास गर, राम्रो बनाए रेकर्ड गरौँला, नराम्रो भए कोसिस हुन्छ' भनेपछि उनमा केही ऊर्जा आयो। लम्सालले त्यो शब्दमा धून भरे। बस्ताकोटीलाई लम्सालको धून मनपर्‍यो। त्यसपछि कसलाई गाउन दिने भन्ने कुरा छलफल भयो। त्यसबेला लम्साल संगीतकार तथा गायक सुरेश अधिकारीका ठूला फ्यान थिए। एकचोटि अधिकारीलाई अनुरोध गरे उनले। सुरेशले नाइँनास्ती नगरी गाए। त्‍योसँगै नेपाली सांगीतिक क्षेत्रमा एक कुशल युवा संगीतकारको आगमन भयो।

त्यसलगत्तै उनी २०५९ सालतिर संगीतको विस्तृत ज्ञानका लागि घरको सहमतिमा इन्ष्टिच्युट अफ मोडर्न म्युजिक सिक्न भारतको पुनेस्थित गुरु सुवासचन्द्र कुलकर्णीकहाँ पुगे। तीन वर्षे सिकाइ सकेर उनी काठमाडौं फर्किए, गन्धर्व संगीतमै।  

पहिलो एल्बम र त्यसपछिका दिन

भारतबाट फर्कीएपछि उनी फेरि गन्धर्व संगीतमा पुग्दा उनको भेट अहिलेका संगीतकार श्रीकृष्ण बम मल्लसँग भयो। उनी त्यसबेला त्यहाँ सिक्दै संगीत थिए। परिचय दोस्तीमा बदलिँदै जाँदा मल्लले उनलाई केही गीत दिए। उनले मिहिनेत गरेर संगीत भरे। तर अब गाउने कसले त? त्यसबेला लोकदोहोरीमा आफ्नो स्थान सुरक्षित गरेका गायक माधव भण्डारीले आधुनिक गीत एल्बम गर्ने सोच बनाएको कुरा मल्लले लम्साललाई सुनाएपछि रियाज म्युजिकको लगानीमा लम्सालको संगीत, मल्लको शब्द र भण्डारीको आवाजमा वि. सं. २०६२ मा पहिलो एल्बम 'प्रवेश' बजारमा आयो। त्यसपछि लम्साल पछाडि फर्किनुपरेन।

त्यसलगत्तै लम्सालले कृष्ण केसीको शब्दमा सुरेश अधिकारीका चारवटा र लम्सालका चारवटा संगीतमा 'आफ्नो मन' भन्ने दोस्रो एल्बम वि. सं. २०६४ मा बजारमा ल्याए।  'आफ्नो मन' श्रोताले अत्यधिक रुचाइदिए भने सांगीतिक क्षेत्रको बजारमा लम्सालले आफ्नो उपस्थिति पनि मजबुत बनाए। सफलताको एकपछि अर्को स्वाद चाखिरहेका उनी 'पानीको फोका जस्तै' गीतबाट झनै उचाइमा पुगे। उनी भन्छन्, 'पानीको फोका जस्तै, पर्दा पछाडि नै गीत तथा गजलले गर्दा पनि मैले संगीतमा थप जिम्मेवार महसुस गरिरहेको छु। श्रोताको मप्रतिको विश्वासलाई कायम गर्न पनि मैले थप मिहिनेत गर्न जरुरी छ।'

पछिल्लो क्रममा उनका केही स्वर र संगीतमा गीत बजारमा आएका छन्, जसमध्ये 'बा' गीतले बजार तताइदियो। नीरा शर्माको कवितालाई उनले स्वर र संगीत दिएका छन्। उनी भन्छन्, 'यो मेरो लागि नयाँ प्रयोग थियो। कवितालाई कुनै शब्द तलमाथि नगरीकन संगीत भरेको थिएँ। सोचेको भन्दा बढी श्रोताले रुचाइदिनुभयो।' त्यतिबेला कसैले भनेको याद आयो, 'एउटा कुशल संगीतकार त्यो हो, जसले गीतकारका शब्द तलमाथि नगरी जस्ताको त्यस्तै संगीत भर्ने आँट राख्छ।' उनले हालसम्म दुई दर्जन एकल एल्बम, झन्डै दुई दर्जन चलचित्रमा संगीत गरेर लगभग पन्ध्र सय हाराहारी गीतमा संगीत भरेका छन्। उनले संगीत भरेको पहिलो चलचित्र 'जय शिव शंकर' हो।

तनावको शृंखला

संगीतलाई नै जिन्दगीको एक पाटो बनाउँछु भनेर बिरामी बुबा र बुढी आमा सबैलाई छाडेर भागेर आएका उनको संगीत सिकाइको क्रममा घाँटीमा समस्या देखिन थाल्यो। सादा दाल-भातको सहारामा चौध/प्रन्ध घण्टा अभ्यास गर्न उनको शरीरले धान्न सकेन। डाक्टरले 'अब तपाईं मौन बस्नुपर्छ नत्र जे पनि हुनसक्छ' भनेपछि तनाव र पीडा एकै पटक आइपर्‍यो उनलाई। उनी मुस्कुराउँदै ती दिन सम्झन्छन्, 'भोकभोकै हिँडेका दिन, बसपार्कको चिसो रातको पीडा भन्दा कैयौँ गुणा बढी पीडा हुन थाल्यो मलाई।'  

कैयौँ दिन बाँसुरी र हार्मोनियमलाई सुम्सुयाएर मात्र बस्न थाले उनी। भाग्यमा सांगीतिक क्षेत्र मेरा लागि अब सकियो भन्ने अवस्थामा पुगे उनी। तर धैर्यलाई भने केही हदसम्म आफूबाट टाढा हुन दिएनन्। उनी भन्छन्, 'छ महिना मेरा लागि यति धेरै सकसपूर्ण रहे कि मेरो जिन्दगीको सुनौलो मौकाको अवसान भयो भन्ने लाग्ने गरेको क्षण नै त्यही हो।' तर लगातारको योगा, मोटिभेसनल स्पिच सुनेर उनी सधैँ आशावादी बनेर आफ्नो घाँटीको सफल उपचार गर्न सफल भए। फलस्वरूप घाँटीको  समस्यालाई सधैँका लागि बिदाई गरे।

फर्केर हेर्दा संघर्षका ती दिन

सधैँ जस्तो नक्सालस्थित आफ्नै स्टुडियोमा रहने उनी शब्दमा संगीतको रङ पोत्न व्यस्त छन्। आज उनका जे जति नाम र सम्झनयोग्य गीत छन्, ती सबै  हिजो गरेको संघर्षका प्रतिफल हुन्। उनी भन्छन्, 'सांगीतिक क्षेत्र होस् वा अरू कुनै क्षेत्रमा मान्छे सिकिरहने प्रक्रियामा नै रहन्छ। मैले बेलैमा आफ्नो लगाव र सोख थाहा पाएँ। सफलताको केही हदसम्म स्वाद थाहा पाएँ।'

एउटा उचाइमा पुगेपछि मान्छेलाई त्यहाँ टिकिरहन गाह्रो हुन्छ तर मिहिनेत, दृढ संकल्प र इमान्दारीको अगाडि चाहे सफल होस् वा असफल होस् मान्छे, उसले आफूप्रति कुनै गुनासो गर्दैन। उनलाई अहिले हेर्दा यस्तै लाग्छ- बस्, सन्तुष्टिको मुस्कान मात्र छोड्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.