विश्व कप ट्रफीको सपना बुनेका प्रवल दावेदारहरु मैदानमा ओर्लदैं

|

मस्को : फिफा विश्व कप–२०१८ मा आइतबार राति रोमान्चक भिडन्तले रुसको मौसमलाई केही तताउने छ । २०१४ को सेमिफाइनलमा घरेलु मैदानमै जर्मनीसँग ७–१ को लज्जास्पद पराजयको तीतो भुलाउनसमेत यसपटक ब्राजिलले विश्व कप ट्रफी चुम्नैपर्ने अवस्था छ । सन् १९३४ को विश्व कपमा आफ्नो पहिलो खेलमा स्पेनसँग हारेपछि ब्राजिलले ८४ वर्ष यता कहिल्यै पहिलो खेल हार्नु परेको छैन । साथै ब्राजिलसँग विश्व कपको पहिलो १८ मध्ये १६ खेल जितेको कीर्तिमान पनि छ ।

पाँच पटकको विश्व विजेताले स्विट्रल्यान्डसँग पनि त्यही इतिहास दोहराउने विश्वास गर्न सकिन्छ । तर, यसपटक स्विट्जरल्यान्डसमेत तिखारिएर मैदानमा उत्रिने पक्का छ । विश्व कपको इतिहासमा साविक विजेतालाई पहिलो खेलमा हराएको कीर्तिमान स्विट्जरल्यान्डसँग पनि छ । 

२०१४ को दुख अन्त्यको पिडा बिर्साउन ब्राजिललाई झन्डै २ वर्ष लागेको थियो । २०१६ मा आएरमात्र ब्राजिलको खेल फेरी लयमा फर्किएको थियो । त्यसपछि पछाडि फर्किएर हेर्न नपरेको ब्राजिली टोलीले छनोट समूहमा सम्झनलायक खेल पस्किएको थियो । ४ वर्षअघिको घटनापछि टोलीलाई बलियो बनाउँदै जाँदा अहिले ब्राजिलमा विश्व कपको अनुभव संगालेका मात्र ६ खेलाडी बाँकी रहेका छन् ।

२०१६ को सुरुवातदेखि मात्र एक खेलमा हार व्यहोरेको स्विट्जरल्यान्डलाई हराउन सक्छु भनेर घमण्ड देखाउने अवस्थामा अहिले ब्राजिल पनि छैन । साथै स्विट्जरल्यान्डले युरो २०१६ मा पेनाल्टि सुटआउटमा बाहिरिनु परेको थियो । साथै विश्व कप छनोट चरणमा खेलेका १० खेलमा ९ खेल जितेर सो टोलीले आपूm कति बलिष्ठ छुँ भन्ने समेत प्रमाणित गरिसकेको छ । सो टोली हारेको मात्र एक खेल पनि युरो च्याम्पियन पोर्चुगलसँग मात्र थियो । 

प्रशिक्षक टिटेले ब्राजिललाई छैटौं पटक विश्व विजेता बन्नसक्ने टोली बनाएका छन् । तर, त्यसका लागि ब्राजिलले आइतबार रातिदेखि नै आपूmलाई प्रमाणित गर्न थाल्नुपर्छ । तर, ब्राजिलले बिर्सन नहुने कुरो यो पनि छ कि फिफा वरियतामा जर्मनीपछि दोस्रो स्थानमा रहेको ब्राजिलले गौरवशाली इतिहासलाई कायम राख्न छैटौं स्थानको स्विट्जरल्यान्डलाई हराउनु पर्नेछ ।

स्विट्जरल्यान्डले ठूला प्रतियोगितामा खेलेका पछिल्ला ५ खेलमा ६ गोल गरेका जेर्डान साक्विरी र पछिल्लो विश्व कपमा ब्राजिलले गरेको ११ मध्ये ४ गोल आफ्नो पक्षमा पारेका नेमारबीचको भिडन्तले पनि आइतबार राति मौसम तताउनेछ ।

जर्मनीविरुद्ध मेक्सिको
साविक विजेता जर्मनी पाँचौ उपाधि जित्ने लक्ष्यसहित आइतबार राति मैदानमा ओर्लनेछ । गत विश्व कपमा उपाधि दिलाउने अधिकांश खेलाडीले सन्यास लिइसकेका हुँदा युवा खेलाडीको भरमा जर्मनी लगातार उपाधि जित्ने दाउ रच्दैछ । १९६२ मा ब्राजिलपछि कुनै टोलीले लगातार विश्व कपको ट्रफी जित्न नसकेको इतिहासको निरन्तरतामा पूर्णविराम लगाउनु जर्मनीका लागि त्यति सजिलो पनि छैन ।

यद्यपि जर्मनी टोलीमा अहिले पनि दुई कुराले निरन्तरता पाएका छन् । सफलता र प्रशिक्षक जोकिम लोले । लोका शातिर दिमागकै कारण जर्मनीले छनोट चरणमा खेलेका सबै १० खेलमा जित हात पारेको थियो । जसमा ४३ गोल गरेको जर्मनीले मात्र ४ गोल व्यहोरेको थियो । हालै जर्मनीसँग २०२० सम्म करार बढाएका जोले जर्मनीलाई यही युवा टोलीको मद्दतबाट कन्फेडेरेसन कप समेत दिलाएका थिए ।

उता सन् २०१५ देखि नै प्रशिक्षक जुआँ कार्लोस ओसोरियोको कडा रेखदेखमा तयार भएको मेक्सिकोको रुस यात्रा पनि सम्झन लायक नै छ । छनोट चरणका १६ खेलमा मात्र एकमा पराजित मेक्सिकोले तयारी खेलहरुमा पनि राम्रो प्रदर्शन गर्दै आएको छ । तर, बलिष्ठ जर्मनीलाई रोक्न भने मेक्सिकोलाई कठिन नै छ । तरपनि, जर्मनीका लागि मेक्सिको सजिलो प्रतिद्वन्द्वि भने होइन । जर्मनीले सन् २०१४ मा बलियो प्रतिद्वन्द्वि पोर्चुगललाई जसरी ४–० ले हराएर विश्व कपको यात्रो थालनी गरेको थियो अहिले पनि त्यसरी नै सुरुवात गर्ने लक्ष्य प्रशिक्षक लोको छ ।

कोस्टारिकाविरुद्ध सर्विया
रुसी अन्तरिक्ष केन्द्र रहेको प्रसिद्ध शहर सामरामा कोस्टारिकाले आइतबार सर्बियासँग विश्व कप २०१८ को अभियान सुरु गर्दैछ ।
४ वर्षअघि ब्राजिलमा सम्पन्न विश्व कपको समूह चरणमा कठिन टोली इंग्ल्यान्ड, इटाली र उरुग्वेसँग रहेको कोस्टारिका कुनै परिको कथा झैं क्वार्टरफाइनलसम्म थियो । तर, पछिल्ला दिनमा कोस्टारिकाले ठूला टोलीसँग खेलेका अधिकांश मैत्रीपूर्ण खेलमा पराजय नै व्यहोर्नु परेको छ । तर, छनोट चरणमा अमेरिकालाई गृहमैदानमा घुँडा टेकाएको कोस्टारिकाका प्रशिक्षक लोज टिकोज् अहिले पनि समूह चरण पार गर्नेप्रति निश्चिन्त छन् ।

सन् २०१० समूह चरणबाटै घर फर्किएपछि फेरी विश्व कपमा फर्किएको सर्बियाले छनोट चरणमा आयरल्यान्ड, वेल्स र अस्ट्रियालाई पछि पार्दै समूह ‘डि’को विजेताका रुपमा रुसको यात्रा तय गरेको हो । लगातार मैत्रीपूर्ण खेलहरु गुमाइरहेको कोस्टारिकाका लागि सर्बियालाई हराउनु पनि कठिन नै छ । बरु सर्बियाको पछिल्लो प्रदर्शनलाई नियाल्ने हो भने आइतबारको खेलमा सो टोली कोस्टारिकामाथि हावि हुने सम्भावना बलियो छ ।

तत्कालिन युगोस्लाभिका रुपमा सर्बियाको नाममा विगतका विश्व कपमा कोन्काकाफ टोलीसँग खेलेका तीन वटै खेलमा जित हात पारेको गौरवशाली इतिहास छ । सो टोलीले सन् १९५० मा मेक्सिकोलाई ४–१ ले, सन् १९८२ मा होन्डुरसलाई १–० ले तथा १९९८ मा अमेरिकालाई १–० ले हराएको थियो । इतिहासलाई आधार मान्ने हो भने सो खेलमा कोस्टारिकामाथि सर्बिया हावि हुने सम्भावना बलियो छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.