|

उदयपुर : राजमार्ग किनेको आरोपमा ललितपुर खोकना-३ का नेपाल डंगोललाई उदयपुर प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी नवराज भट्टराईले काठमाडौंमा पक्राउ गरी उदयपुर ल्याइएको बताए।

सप्तरीको कदमाहादेखि खोटाङ दिक्तेल जोड्ने सगरमाथा राजमार्गमा पर्ने उदयपुरको त्रियुगा नगरपालिका-३ मोतिगडास्थित खण्डको मोतिगडा क्याम्पस गेट नजिकको करिब आठ कठ्ठा जग्गा बिक्री गर्ने शिवप्रसाद दाहाल र छोरा बुद्धिप्रसाद दाहालले नेपाल डङगोललाई बेचेको आरोपमा यस अघिनै पक्राउ परेका छन्। एक करोड २७ लाख २० हजार रुपैयाँमा बिक्री गर्ने बाबुछोरा दाहाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको वेला बिन्ने डंगोललाई समेत पक्राउ गरेको एसपी भट्टले बताए।

साविक गाइघाट १ ख किता न ७०१ को ७ कठ्टा १९ धुर मध्ये राजर्मागले ७ कठ्ठा १८ धुर अधिग्रहण गरेकाे थियो। एक घुर जग्गा मात्रै बाँकी रहेकोमा दाहालले सडकले अधिग्रहण गरी सकेको जग्गा नै नेपाल डंगोललाई बिक्री गरेका थिए। पक्राउ परेका दाहाल बाबुछोरालाई आवश्यक अनुसन्धनाका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीको भनाई छ। ‘हामी अनुसन्धानमा छौ,’ प्रहरी प्रमुख भट्टले भने, ‘अब कस्तो कारवाही हुने र मालपोतका कर्मचारीको खोजी गर्न आवाश्यक परे गर्छौ।’

पक्राउ परेका बाबु छोरा दाहालले डंगोललाई एक करोड २७ लाख २० हजार रुपैयाँमा जग्गा रजिष्ट्रेशन पास गरेर बिक्री गरेका थिए। तत्कालीन निर्माण तथा यातायात मन्त्रालयको २०४६ माघ २३ गते सार्वजनिक सूचना जारी गरी सडकको नाममा जग्गा प्राप्त गर्ने प्रक्रिया थालेको थियो। पछि २०६० सालमा कदमाहा गाइघाट सडक खण्डको जग्गा लगत कट्टा गर्न भू-संरक्षण तथा व्यवस्थापन विभागको निर्णयको आधारमा सडकको दायाँ २५ मिटर र बायाँ २५ मिटर जग्गाको लगत कट्टा गरेको थियो। त्यही जग्गा शिवप्रसाद दाहालबाट अहिलेसम्म लगत कट्टा भएको थियो।

मालपोत कार्यालयका प्रमुख नवराज खड्काले ससिम कित्ता नम्बर भएको जग्गा भएकाले समस्या आएको बताउँदै आएका छन्। कार्यालय प्रमुख खड्काले भने, ‘बेच्ने र किन्ने दुवै पक्ष आवश्यक प्रमाण र नगरपालिकाको वडाको सिफारिससहित आएपछि जग्गा पास गरेका हौँ।’ जग्गा पास गर्दा रजिष्टेशन दस्तुरवापत पाँचलाख आठ हजार ८०० र लाभ कर दुई लाख ९२ हजार ९५८ रुपैयाँ राजस्व जम्मा भएको मातपोत कार्यालय जनाएको छ। 

सडकको जग्गा बिक्री हुनै नसक्ने कदमाहा गाइघाट सडक खण्ड हेर्ने सडक डिभिजन कार्यालय लहानका डिभिजन प्रमुख रामकुमार देवले बताए। प्रमुख  देवले भने, ‘सडक डिभिजनले २०६२ सालमै जग्गा प्राप्त गरिसकेका छौं। सबै लेखापढी समेत भएको भन्ने बुझेको छु।’ डिभिजन प्रमुख देवले भने, ‘१३ वर्षअघि नै नापी र मालपोतलाई लगत कट्टा गर्न भनेका थियौँ तर, भएको रहेनछ।’ 

जग्गा पास गर्ने नापी र मालपोतका कर्मचारीको खोजी होला त?

बेच्ने र किन्ने पक्राउ परेपछि रजिष्टेशन पास गर्ने मालपोत र नापी कार्यालय उदयपुरका कर्मचारीको खोजी हुनु पर्ने सर्वसाधरणको भनाइ छ। जग्गा बेच्ने र किन्ने दुवै आएपछि कुन जग्गा हो भन्ने हेक्का नराख्ने कर्मचारीको खोजी हुनुपर्ने स्थानीय केन्द्र राउतले बताए। ‘हचुवाको भरमा जग्गा बेच्ने र किन्ने दुवै पक्राउ परेका वेला पास र नापी गरे जग्गा छुट्टाउने कर्मचारी समेत पक्राउ पर्नु पर्छ,’ राउतले भने, ‘कर्मचारीमा पनि यसमा दोषी छन, यसमा मिलेमत्तो हुनुपर्छ।’ 

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले अनुसन्धान भइरहेकोले अवाश्यक परे पक्राउ पर्ने बताए। ‘नापी र मालपोतका कुन कर्मचारीको दोषी छन्,’ उनले भने, ‘अनुसन्धानले दोषी देखाए पक्राउ गर्नेछौं।’ नापी कार्यालयले २०६२ माघ ९ र २०६३ असार ५ मा जग्गाको लागत मालपोत कार्यालय पठाएर लगत कट्टा गर्न भनेको थियो। तर मालपोत कार्यालयले हालसम्म लगत कट्टा नगर्दा राजमार्ग नै बेचिन पुगेको शिवप्रसादका नाति विरेश दाहालको भनाइ छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.