|

काठमाडौं : सरकारले भैरहवा विशेष आर्थिक क्षेत्रमा २६ वटा उद्योग स्थापनाका लागि अनुमति दिएको छ। विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले भैरहवा विशेष आर्थिक क्षेत्रमा २६ वटा उद्योग स्थापनाका लागि अनुमति दिइएको जानकारी दिएका हुन्।

प्राविधिकरणका कार्यकारी निर्देशक भट्टले अनुमति पाएका सबै उद्योगहरूलाई एक हप्ताभित्र उद्योग दर्ता र दुर्इ हप्ताभित्रबाट उद्योग निर्माणको काम सुरु गरिसक्ने गरी उद्योग स्थापनाका लागि अनुमति दिइएको पनि बताए। उनले एक वर्षभित्र स्थापना गरिएको उद्योगहरूबाट उत्पादन सुरु हुने गरी कामलाई अघि बढाउने पनि स्पष्ट पारे।

भैरहवा विशेष आर्थिक क्षेत्रका लागि आगामी आर्थिक वर्षमा आठ अर्ब बजेटको व्यवस्था गरेको छ। सरकारले भैरहवा विशेष आर्थिक क्षेत्रबाट तत्कालका लागि पाँच हजार २०० रोजगारीको अवसर सृजना गर्ने लक्ष्य लिएको छ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक भट्टले उद्योगका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई पनि द्रूत गतिका साथ अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा बोल्दै उद्योगी, व्यवसायीहरूले भने भैरहवा विशेष आर्थिक क्षेत्रमा फूड र  प्लाष्टिक उद्योग स्थापना गर्न सरकारलाई सुझाव दिएका छन।

अन्य ठूला उद्योग स्थापनाका लागि ठाउँको समेत अभाव हुने भएकाले भैरहवा विशेष आर्थिक क्षेत्रमा फुड र प्लाष्टिकको उद्योग स्थापनाका लागि उपयुक्त हुने नेपाल उद्योग परिसंघका अध्यक्ष डा. हरिभक्त शर्माले सरकारलाई सुझाव दिए। उनले ठूला उद्योग स्थापनाका लागि औद्योगिक क्षेत्र स्थापनाको कामलाई बढावा दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले उद्योग स्थापनाका लागि पूर्वाधारको विकासमा विशेष जोड दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले उद्योग स्थापनाका लागि अब विद्युतको अभाव नहुने विश्वास पनि व्यक्त गरे।

पूर्वअध्यक्ष श्रेष्ठले पूर्वाधारको अभावमा नेपालको उद्योग, व्यवसाय फष्टाउन नसकेको पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.