बजेट नसच्चिए दुष्परिणाम : राजपा

|

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारले ल्याएको बजेटले भ्रष्टाचार गर्ने प्रशस्त आधारहरू श्रृजना गरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा शहरी विकास मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्दै सांसद गौतमले विशेष गरेर नीतिगत भ्रष्टाचार गर्ने किसिमले बजेटमा थुप्रै ढोकाहरू खुल्ला गरिएको दाबी गरे। शहरी विकासका सम्पुर्ण कार्यक्रमहरू केन्द्रीत गरिएको बजेटले स्थानीयतहलाई पंगु बनाउनुको साथै सांसदहरूको मानमर्दन गरेको टिप्पणी उनले गरेका थिए। उनले गृहमन्त्रीले दम्भका साथ हुंकार गरेरमात्र भ्रष्टाचार अन्त्य नहुने बताए।

फरक प्रसंगमा उनले संविधान र राजनीतिक दल सम्बन्धी ऐन अनुसार सभामुख र उपसभामुख भिन्न दलको बनाउनुपर्ने प्रावधानलाई कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए। राज्यले संविधानको संरक्षण गर्ने दायित्व लिएकाले संविधानले गरेको व्यवस्थामा संसदमा वादविवाद गर्नु राम्रो नहुने तर्फ उनले सभामुखको ध्यानाकर्षण गराए।

राजपाका सांसद राजकिशोर यादवले बजेट विनियोजनमा सरकारले बेइमानी गरेको दाबी गरे। बजेट विभेद पूर्ण ढंगले विनियोजन गरिएको भन्दै उनले तत्काल नसच्याए दुष्परिणाम निम्तने चेतावनी समेत दिए। सत्ता पक्षकै सांसदको कुरा सुन्दा सरकार कसरी चलिरहेको छ? भन्ने स्पष्ट भएको भन्दै उनले सरकारलाई कस्ले चलाइरहेको छ भनेर प्रश्न गरेका थिए।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,  शहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालयका लागि विनियोजित बजेटमाथिको छलफल विभागीय मन्त्रीको अनुपस्थितिका कारण केहीबेर रोकिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.