|

लहान : जिल्लाका विभिन्न ठाउँमा पछिल्लो साढे पाँच महिनाको अवधीमा महिला तथा बालिकामाथि हुने बलात्कार र बलात्कार प्रयासको घटना बढेका छन्।

सन् २०१८ को जनवरीदेखि जुन १० सम्मको अवधीमा जिल्लाका विभिन्न ठाउँमा गरी २९ जना बालिका तथा महिला बलात्कार र बलात्कार प्रयासको शिकार भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिरहाले जनाएको छ।

इन्सेक सिरहाद्वारा आइतबार बिहान लहानमा आयोजित ‘मानअधिकार वर्ष पुस्तक २०१९’ को पूर्वसमीक्षा कार्यक्रममा पछिल्लो साढे पाँच महिनाको अवधिमा बालिका ११ र महिला दुई गरी १३ जना बलात्कृत भएको जानकारी दिइएको छ। इन्सेक वर्ष पुस्तक प्रतिनिधि दुर्गा परियारका अनुसार उक्त अवधीमा पाँच बालिका र ११ महिला गरी १६ जना बलात्कार प्रयास भएको छ।

अधिकारकर्मीको सहयोग पनि आवश्यक

समीक्षा कार्यक्रममा इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईले मानवअधिकारको सवालमा राज्य पक्ष संवेदनशील हुँदाहुँदै पनि मानवअधिकार उल्लंघनका घटना बढेको औँल्याए। तराई मधेशका जिल्लामा महिला हिंसाको कारकको रूपमा रहेको दहेज प्रथा, बाल विवाह जस्ता विकृति रोक्न कानुनी व्यवस्था हुँदाहुँदै पनि राज्ले मात्र गर्न नसकेको उल्लेख गर्दै अधिकारकर्मीहरूको पनि सहययोग चाहिले औँल्याए।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायव उपरीक्षक गणेश चन्दले बलात्कारको घटनासँग सम्बन्धित कतिपय घटनामा जाहेरी पर्नु अगावै प्रमाण नष्ट हुने, स्वास्थ्य परीक्षणको रिपोर्ट उल्टो आउने, पीडित स्वयंले बयान फेरिदिने जस्ता कारणले पीडक उम्किने गरेको बताए। ‘पीडकलाई कानुनी कारबाहीबाट फुत्किन नदिन घटना लगत्तै पत्रकार तथा अधिकारकर्मीहरूले पनि सजग हुन आवश्यक छ’ प्रहरी नायव उपरीक्षक चन्दले भने।

मानवअधिकार उलंघन बढे

पछिल्लो साढे पाँच महिनाको अवधिमा जिल्लामा भएका विभिन्न ५२ वटा मानवअधिकार उल्लंघनका घटनामा ५५ महिला तथा चार पुरुष गरी ५९ जना पीडित भएको समीक्षा कार्यक्रममा जानकारी दिइयो। त्यस अवधीमा घरेलु हिंसा पाँच, कथित बोक्सीको आरोप एक, बहु विवाह सात र हत्या प्रयास दुई गरी १५ जना महिला पीडित बनेका छन्। त्यस्तै, बम विष्फोटको दुई घटनामा पाँच महिलासहित नौ जना, पाँच जना महिलाको हत्या, साइवर अपराधको एउटा घटनामा एक महिला पीडित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.