|

सुर्खेत : कर्णाली प्रदेशको राजधानीको रुपमा रहेको सुर्खेतमा बढ्दो शहरीकरण र जनघनत्वका कारण सवारी साधनको चाप पनि बढ्दो क्रममा रहेको छ। सुर्खेतलाई कर्णाली प्रदेशको राजधानीको रूपमा घोषणा भएसँगै सुर्खेतका सडक व्यस्त रहन थालेका छन्।

अहिले सुर्खेतमा एकजना ट्राफिक प्रहरीको भागमा ७२१ वटा सवारी साधन परेका छन्। त्यस्तै एकजना ट्राफिक प्रहरीको जिम्मामा १७ किलोमिटर सडक परेको छ।

तर सुर्खेतमा अहिले जम्मा २८ जना ट्राफिक प्रहरीमात्र कार्यरत रहेका छन्। त्यसमा पनि स्वीकृत दरबन्दी २५ जनाको मात्र रहेको तर तीनजनालाई थप गरेर कार्य सम्पादन भई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक हरी बहादुर बिसीले जानकारी दिए।

ट्राफिक प्रहरीको जनशक्तीको पर्याप्तता नहुँदा सवारी साधनको चाप तथा पुराना सडक संरचना भएका कारण पनि पछिल्लो समयमा सवारी दुर्घटना बढिरहेको प्रहरी निरीक्षक बिसीको भनाइ छ।

आर्थिक वर्ष ०७४/०७५को अवधीमा सुर्खेत जिल्लामा ७८ वटा सवारी दुर्घटना भएका छन्। जसमा ३५ जना नागरिकको ज्यान गएको छ भने ७० जना घाइते भएका छ। निरीक्षक बिसीका अनुसार सो अवधीका जिल्लामा  ११ हजार ४४६ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ।

ट्राफिक नियमविपरीत सवारी साधन संचालन गर्ने सवारी साधनबाट ६९ लाख २८ हजार ५०० राजश्वसमेत संकलन भएको छ। आउँदो आर्थिक वर्षमा समेत सडक दुर्घटना बढन सक्ने भएकाले जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनचेतनासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ। आमनागरिकमा जनचेतनाका साथै अनुगमन र नियमन प्रभावकारी बनाउन आवश्यक योजना बनाउन लागेको प्रहरी निरीक्षक बिसीको भनाइ छ।

सुर्खेतमा बढ्दो शहरीकरणको अवस्थाका कारण सडक दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरी सक्रिय बन्न लागेको हो। जसमा नागरिकलाई ट्राफिक नियम तथा सडक दुर्घटनामा सचेतना कार्यक्रम संचालन गर्ने भएको छ।

आइतबार जिल्ला ट्राफिक कार्यलय सुर्खेतले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा यस्तो जानकारी गराइएको हो। जनचेतनाका लागि आम नागरिकलाई ट्राफिक व्यवस्थापनसम्बन्धि अन्तरक्रिया, राय सुझाव संकलन, कार्यगत समीक्षा गर्नेलगायतका कार्यक्रम गरिने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.