|

पर्वत : अविरल वर्षापछि आएको पहिरोले विद्यालय भवन भत्काएपछि बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१० पाहीमा रहेको जनता माध्यामिक विद्यालय दुई दिनका लागि बन्द भएको छ।

शनिबार राति विद्यालयमाथिबाट आएको पहिरोका कारण विद्यालयका दुई वटा भवनमा क्षति पुगेको छ। विद्यार्थीलाई पठनपाठन गराउने ठाउँको अभाव भएका कारण अर्को व्यवस्था मिलाउनका लागि दुई दिन विद्यालय बन्द गरिएको शिक्षक नवीनप्रताप जिसीले जानकारी दिए। 

पहिरोका कारण विद्यालय प्रांगणमा निर्माण भएको पहाडी ट्रसको भवन पूर्ण रूपमा भत्किएको छ भने अर्को भवनका दुई कोठामा क्षति पुगेको छ। पहाडी ट्रसको भवनमा राखिएको स्रोत केन्द्र पनि पुरिएको छ।

पहिरोले विद्यालय भवनसँगै नजिकै रहेको स्थानीय प्रेम थापाको गोठसमेत पुरेको छ।

गल्कोटमा एक परिवार विस्थापित

पहिरोकै कारण बागलुङकै गल्कोट नगरपालिका-१ दुदिलाभाटीको एक परिवार विस्थापित भएको छ। दुदिलाभाटिकी अमृता छन्त्यालको परिवार पहिरोका कारण विस्थापित बनेको हो।

घरदेखि करिब १५० मिटर माथिबाट झरेको पहिरोले छन्त्यालको घर बस्नै नमिल्ने गरी भत्किएको छ। स्थानीय बमबहादुर श्रीसका अनुसार शनिबार बेलुका करिब ९ बजे घर माथिबाट पहिरो झरेपछि अमृताका छोरी आशा छन्त्याल र नाती राजन छन्त्याललाई पहिरोले पुरेको थियो। सोही समयमा नै पुनः थप पहिरो झरेपछि उनीहरू हुत्तिएर बाहिर निस्किएर बाँच्न सफल भएका थिए।

घर बस्नै नमिल्ने गरि भत्किएपछि श्रीसको परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन्। पहिरोका कारण घर भत्किँदा छन्त्यालको झण्डै आठ लाख बराबरको क्षति भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.