|

अछाम : अछाममा प्रहरी कार्यालयको नाममा रहेको जग्गा अतिक्रमण गरी स्थानीयले टहरा निर्माण गरेको तथ्य बाहिर आएको छ। इलाका प्रहरी कार्यालय कमलबजारको नाममा रहेको जग्गा अतिक्रमण गरेर स्थानीयले व्यावसायीक टहरा निर्माण गरेका हुन्।

द्वन्द्वको समयमा प्रहरी कार्यालय विस्थापित भएपछि स्थानीयहरूले उक्त जग्गा अतिक्रमण गरेर व्यावसायीक टहरा निर्माण सुरु गरेका थिए। अहिले उक्त जग्गामा १५ भन्दा बढि टहरा निर्माण गरिएका छन्। प्रहरी कार्यालयको नाममा रहेका २६ रोपनीमध्य ६ रोपनी जग्गा अतिक्रमण भएको हो।

अतिक्रमण गरी निर्माण गरिएका टहरा हटाउनको लागि अछाम प्रहरीले १५ दिने सूचनासमेत प्रकाशित गरेको छ। सूचनाको बेवास्था गर्दै स्थानीयले टहरा हटाउन अटेरी गरेको इलाका प्रहरी कार्यालय कमलबजारका प्रहरी नायव निरीक्षक देवबहादुर चन्दले बताए। टहरा हटाउनको लागि प्रहरीलाई सकस भएको छ।

स्थानीयले भने उक्त जग्गा केही प्रहरीको भए पनि केही आफ्नो भएको दाबी गरेका छन्। अछाम प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रुकेश तण्डुकारले आफूले जिल्ला नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र कमलबजार नगरपालिकासँग सहकार्य गरिरहेको बताएका छन्।

यता कमलबजार नगर प्रमुख ओम प्रकाश विष्टले भने स्थानीय टहरा हटाउनको लागि तयार रहेको र आफू पनि टहरा हटाउन सहयोग गर्ने बताउँदै प्रहरीले आफूसँग कुनै सहकार्य नगरेको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.