|

रामेछाप : बिपी राजमार्ग हुँदै रामेछाप प्रवेश गर्ने ढुवानीका साधनलाई प्रतिबन्द लगाइएपछि आन्दोलित बनेका रामेछापका उद्योगी, व्यवसायी र उपभोक्ताले आइतबार संयुक्त रूपमा थाल ठटाउँने जुलुस निकालेका छन्।

आपूर्ति बन्द हुँदा बजारमा खाद्य वस्तुको अभाव भएपछि घरमा पकाउने सामान सकिएर भोकै बस्नु पर्ने अवस्था आएको भन्दै आफूहरू भोकै भएको सरकारलाई सुनाउन रित्तो थाल र चम्चा ठटाउँदै जुलुस निकाले स्थानीय उपभोक्ताको भनाइ छ।

ठूला ढुवानीका साधन सञ्चालन गर्ने निर्णय रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश फिर्ता नलिए आन्दोलनलाई अझ सशक्त बनाएर आगाडि बढ्ने रामेछाप नगर उद्योग वाणिज्य संघका महासचिव शिशिर खड्गीले बताए।

अहिले रामेछाप जिल्लामा काँकडभिट्टाबाट आउँने रात्रीकालीन गाडीका साथै अध्ययन भ्रमणमा आउँने गाडीहरूसमेत बन्द भएका छन्। ढुवानी तथा सवारीका सबै खालका साधनलाई प्रतिबन्द लगाएर राज्यले रामेछाप जिल्लामा नाकाबन्दी लगाएको उद्योग वाणिज्य संघ रामेछापका महासचिव जेएन दाहालले आरोप लगाए।

रामेछाप जिल्लामा सबै खालका वस्तुको ढुवानी ठप्प भएपछि जिल्लाका मुख्य बजार बन्द हुन थालेका छन्। जिल्लाको सदरमुकाम मन्थलीसहित रामेछाप, साँघुटार धोबी, सिरिसेलगायतका मुख्य बजारसमेत बन्द भएको स्थानीयले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.