|

कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका साविकका मुम्रा, मेहलमुडी र रकु गाउँ विकास समिति मिलेर बनेको हो। यस गाउँपालिकाको कुल क्षेत्रफल १३६.७१ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकालाई नौवटा वडामा विभाजन गरिएको छ। गाउँपालिकाको कुल जनसंख्या १२ हजार ८४६ रहेको छ। 

यस गाउँपालिकामा गत वर्ष भएको स्थानीय तहको चुनावमा डम्बरबहादुर शाही नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट दुई हजार ११० मत ल्याएर विजयी बनेका थिए। २०४० भदौ १६ मा जन्मिएका उनै शाहीसँग एक वर्षमा गाउँपालिकाले गरेका काम, उपलब्धि, समस्या अनि योजनाका विषयमा थाहाखबरकर्मी रमेश रावलले गरेको कुराकानी प्रस्तुत छ।

तपाईंले चुनावताका जनतासँग के त्यस्ता बाचा गर्नुभएको थियो र जिताए?

जनतासँग मैले ठूलाठूला बाचा गरेको थिइनँ। ग्रामीण सडक निर्माण, स्वास्थ्य, शिक्षा, रोजगारीलगायतका विषयमा गाउँपालिकालाई विकास गर्ने बाचा गरेको थिएँ। त्यसैले मलाई जनताले युवा, केन्द्रदेखि स्थानीय तहसम्म राम्रो सम्बन्ध भएको नेताका रूपमा बुझेका थिए। युवा भएका कारण यसले नै गाउँपालिकामा केही गर्न सक्छ भनेर जनताले मलाई विजयी गराए। अन्यभन्दा युवाहरूमा जनताको आशा र भरोसा धेरै हुने गरेका कारणले पनि मलाई जनताले विजयी गराएका हुन्। 

तपाईंले चुनावमा गरेका बाचामध्ये केके पूरा भए?

चुनावका बेला गरेका प्रतिबद्धताका आधारमा गाउँपालिकामा कृषि उत्पादनमा वृद्धि गर्ने लक्ष्य लिएका छौँ। हामीले गाउँपालिकालाई नमुना गाउँपालिकाका रूपमा विकास गर्नका लागि ‘सुन्दर र समृद्ध गाउँपालिका निर्माणको एक मात्र आधार : जैविक कृषि उत्पादन, पशुपालन र जडिबुटीको माध्यमबाट निर्यातमुखी अर्थतन्त्रको विकास नै हाम्रो सशक्त अभियान’ सञ्चालन गरेका छौँ। 

हामीले गाउँ परिषदबाट आर्थिक विकास एक करोड ९८ लाख ३५ हजार, सामाजिक विकास आठ करोड चार लाख, पूर्वाधार विकास नौ करोड १२ लाख ३७ हजार, वातावरण तथा विपद् व्यवस्थापन २२ लाख ४९ हजार, संस्थागत विकास तथा सेवा प्रवाह तीन करोड १२ लाख ८३ हजार, वित्तीय व्यवस्थापन र सुशासन ३० लाख ४० हजार रुपैयाँ बजेट विनियोजित गरेका थियौँ। त्यसमध्ये प्राय काम पूरा भएका छन्। केही काम हुन बाँकी रहेका छन्।

तपाईंले गाउँको विकासका लागि केमा बढी प्राथमिकता दिनुभएको थियो?

आर्थिक विकासको क्षेत्रमा गाँउपालिकामा उत्पादित कृषि र पशुजन्य उत्पादनले उचित सडक सञ्जालमा नजोडिएकाले राम्रो बजार पाउन नसकेको थिएन। सडक पूर्वाधारको राम्रो विकास गर्ने र लक्ष्यअनुसार यस क्षेत्रमा उत्पादित तरकारी, फलफूल तथा पशुजन्य उत्पादन दुग्ध र मासु उत्पादनले यस गाउँपालिकाका नागरिकहरूलाई व्यावसायिकतातर्फ उन्मुख गराउने लक्ष्य लिएका थियौँ। ती कामहरू पनि अगाडि बढेका छन्। आगामी पाँच वर्षभित्र गाउँपालिकालाई कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाएर निर्यात गर्ने लक्ष्य राखेका छौँ। 

कृषि, र गाउँपालिका भित्र करिब छ किलोमिटर हिमाली जंगललाई जंगली जनावर र पशुपंक्षीको बासस्थान बनाएर त्रिवेणी पाटनलाई पर्यटकीय गतव्य बनाउने र संरक्षित क्षेत्रका रूपमा विकास गर्ने गरी अगाडि बढेका छौँ। यिनै आधारमा हाम्रो गाउँपालिका समृद्ध हुन सक्छ। अन्य आधारहरू पनि खोजिरहेका छौँ। 

गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी, महिला, बालबालिका, दलित, जनजाति, पिछडा वर्ग, विशेष क्षमता भएका नागरिक तथा ज्येष्ठ नागरिकहरूको उत्थान र विकासमा विशेष जोड दिएर काम गरेका छौँ। उनीहरूको क्षमता र सीपलाई आधार बनाएर विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै तथा योजनालाई अझ परिष्कृत गर्ने लक्ष्य लिएर काम गर्‍याैं। त्यसले सफलता पनि पाएका छन्। 

भौतिक पूर्वाधार विकासतर्फ गाउँपालिका क्षेत्रभित्रका सडकको ट्र्याक खोल्ने काम, गोरेटो, घोरेटो बाटो निर्माण गर्ने र सडकलाई मुख्य विकासको पूर्वाधार बनाउने सोचका साथ काम गरिरहेका छौँ। सडक सञ्जाल भएन भने यहाँ उत्पादन भएका वस्तुहरूको बजारीकरणमा समस्या हुने हुँदा त्यसमा विशेष जोड दिएका छौँ। सडक अहिले छवटा वडामा पुगिसकेको छ। बाँकी तीनवटा वडामा सडक अर्को आर्थिक वर्षमा पुर्‍याउने लक्ष्य राखेका छौँ।

तपाईं गाउँपालिकाले पाँच वर्षभित्र के के उद्देश्य राखेको छ?

कृषि व्यवसाय, पशुपालन, जडिबुटी उत्पादन र निकासी, पर्यटन, उद्योग तथा व्यापारलाई सहयोग पुग्ने गरी सान्नी त्रिवेणी गाउँपालिकाको मेरुदण्डीय सडक रकु–मेहलमुडी–मुम्रा सडकको निर्माण गर्ने, जैविक कृषि उत्पादन क्षेत्र घोषणा गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको नमुना गन्तव्य बनाउने, सबै वडा कार्यालयहरूलाई सडक सञ्जालले जोड्ने गरी यातायात गुरुयोजना तयार गर्ने, एक टोल एक उत्पादन अवधारणाअनुरूप राष्ट्रिय भूउपयोग नीतिअनुसार कृषि क्षेत्रमा जमिनको विभाजन गर्ने गर्ने लक्ष्य लिएका छौँ।

गाउँपालिकामा रहेको स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी अस्पतालको रूपमा विकास गर्ने, सबै विद्यालयहरूमा गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्ने लक्ष्यसहित अहिले ई–हाजिरीको सिस्टम विकास गरेका छौँ। त्यस्तै, प्राविधिक शिक्षा दिन प्राविधिक विद्यालयको स्थापना गरेका छौँ।

खानेपानीमा सबैलाई स्वच्छ पिउने पानी पुर्‍याउने अवधारणाअनुरूप सबै टोलमा खानेपानी उपलब्ध गराउने, पूर्ण सरसफाइयुक्त गाउँ निर्माण गर्ने, बालमैत्री र वातावरणमैत्री गाउँ निर्माण, बालविवाह, छाउपडी र बालश्रममुक्त गाउँ घोषणा गर्ने लक्ष्य राखेर काम अगाडि बढाएका छौँ।

गाउँपालिकालाई समृद्ध बनाउने आधार के के हुन्?

हाम्रो गाउँपालिका समृद्ध हुने आधार माथि नै भनिसकेँ। तिनै आधारका आधारमा गाउँपालिकालाई समृद्ध बनाइनेछ। अर्को आधार जलविद्युत हो। अहिले हाम्रो गाउँपालिका नै उत्पादन भएको ५०० किलोवाटको जलविद्युतले सदरमुकाम र एउटा नगरपालिकाका साथै गाउँपालिका केही ठाउँमा विद्युत बलेको छ। त्यसलाई जोगाई राख्नका लागि विशेष ध्यान दिएका छौँ। त्यस्तै, कृषि, र गाउँपालिकाभित्र करिब छ किलोमिटर हिमाली जंगललाई जंगली जनावर र पशुपंक्षीको बासस्थान बनाएर त्रिवेणी पाटनलाई पर्यटकीय गतव्य बनाउने र संरक्षित क्षेत्रका रूपमा विकास गर्ने गरी अगाडि बढेका छौँ। यिनै आधारमा हाम्रो गाउँपालिका समृद्ध हुन सक्छ। अन्य आधारहरू पनि खोजिरहेका छौँ। 

अहिलेसम्म काम गर्दा आएका समस्या के के महसुस गर्नुभएको छ?

एक वर्षको अवधिमा काम गर्दा विभिन्न प्रकारका समस्या आएका छन्। तिनलाई चिर्दै हामी अगाडि बढेका छौँ। कर्मचारीको समस्या, सामाजिक रूपमा आएका समस्यालाई चिर्दै अगाडि बढेका छौँ। सेवाभावले काम गर्दा आउने समस्यालाई सामान्य रूपमा लिएको छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.