|

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजारमा कार्यविधि उल्लंघन गरेर व्यवसाय गर्ने व्यापारीलाई लिखित स्पष्टीकरण पेश गर्न दिएको एक हप्ताको म्याद आज आइतबार सकिएको छ। अघिल्लो आइतबारदेखि व्यपारीहरूलाई पत्र बुझाउन सुरु गरिएको थियो। तर समयमै पत्र बुझ्न नआएकाले उनीहरू माथिको कारवाही प्रक्रिया लम्बिएको छ। 

पत्र बुझेर कारवाही प्रक्रिया अघि बढाउनु पर्नेमा आज मात्र सबै व्यापारीलाई पत्र बुझाइसकेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। पत्र बुझ्न नआउने दुईजना व्यवसायीको पसलमा अाज पत्र टाँस गरिएको छ। पत्र बुझेको एक हप्ता भित्रमा लिखित स्पष्टीकरण बुझाउनु पर्ने प्राबधानका कारण आगामी ९ गतेदेखि मात्र कारवाही प्रक्रिया अघि बढ्ने भएको हो। 

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चत्रपाणि खनाल बलदेव नेतृत्वको टोलीले कालिमाटी फलफूल तथा तरकारी बजारमा छापा मारेपछि जेठ २५ गते बसेको बोर्ड बैठकले व्यवसायीहरूलाई चार भागमा वर्गीकरण गरेको थियो। जसअनुसार कार्यविधि पूर्ण रुपमा उल्लंघन गर्ने ९९ जनालाई रातो, अलि कम उल्लंघन गर्ने १३१ जनालाई निलो,फाट्टफुट्ट नियम उल्लंघन गर्ने २०९ जनालाई पहेलोमा वर्गीकरण गरेको थियो। पूर्ण रुपमा नियम पालना गर्ने व्यापारी १५९ जना कायम भएका छन्। 

आइतबारसम्म रातो समूहमा पर्ने ९० जनाले स्पष्टीकरण पेश गरेका छन्। बाँकी भने अनुपस्थित रहे। अब उनीहरूमाथि असार ९ गतेपछि बोर्ड बैठक बसेर कारवाही प्रक्रिया थालिने कालिमाटी फलफूल तथा बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पोख्रेलले जानकारी दिए। कसैले विरामी परेको, आफू विदेशमा भएकाले आफन्तले व्यवसाय सञ्चालन गरेको जस्ता कारणसहितका स्पष्टीकरण आएको भन्दै पोख्रेलले ९९ जनामध्ये एकदुई जनाबाहेक सबैको इजाजतपत्र खारेज गरी सम्झौता रद्ध गरिने जानकारी दिए। 

बोर्ड कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति, किसानका प्रतिनिधि र व्यवसायी गरी ११ सदस्यीय छ। निलो समूहमा परेका १३१ जनामध्येबाट झण्डै २०/२५ जना रातो समूहमा पर्ने देखिएको छ। रातो समूहमा पर्नेले पनि बोर्ड बैठक बसेर निर्णय गर्नु अघिसम्म व्यवसाय सञ्चालन गर्न पाउने भएका छन्। समितिलाई बोर्ड बैठकले निर्णय नगरी कारवाही गर्ने अधिकार नभएकाले प्रक्रिया लम्बिएको पोख्रेलको भनाई छ।

समितिले आफूहरूलाई कारवाही नगर्न भन्दै केही व्यवसायीबाट व्यक्तिगत दवावको पनि सामना गरिरहेको बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.