|

पर्वत : सम्झौताअनुसार यात्रु नपाएपछि हरेक पटकको उडानमा एयरलाइन्सहरूलाई हर्जाना रकम बुझाउँदै आएको बागलुङ नगरपालिकाले यो साताको दुई उडानमा मात्र एक लाख ४४ हजार ३३५ रुपैयाँ तिरेको छ।

आइतबार तारा एयरको विमानले काठमाडौं-बागलुङ-काठमाडौं उडान भरेकोमा पाँच जना यात्रुले उडान भरे भने बलेवा-काठमाडौं उडानमा छजनाले मात्र यात्रा गरे। विमानमा दुबैतर्फ गरेर २४ जना यात्रु हुनु पर्ने र यात्रु नपुग भएमा त्यसको हर्जाना बागलुङ नगरपालिकाले बुझाउनुपर्ने सम्झौताअनुसार एकजना यात्रुको भाडा छ हजार ७९५ को दरले नपुग १३ जना यात्रुको हुन आउने भाडा रकम ८८ हजार ३३५ रुपैयाँ नगरपालिकाले तारा एयरलाई हर्जना बुझाउनु परेको हो।

यसअघि गत बिहीबार नेपाल एयरलाइन्सको काठमाडौं-बलेवा-काठमाडौं उडानमा काठमाडौंदेखि बलेवा आउने यात्रु संख्या ११ जना र बलेवादेखि काठमाडौं जाने जम्मा तीनजना यात्रु थिए। जसमा नेपाल एयरलाइन्सको उडान भाडा प्रति यात्रु  पाँच हजार ६०० का दरले नपुग १० जना यात्रुको भाडा ५६ हजार रुपैयाँ बागलुङ नगरपालिकाले नेपाल एयरलाइन्सलाई हर्जाना  तिरेको थियो।

बागलुङ नगरपालिकाबाट विमान कम्पनीहरूलाई २० लाख रुपैयाँ अग्रिम पेश्की दिएर विमान कम्पनीहरू रित्तो जहाज उडाएर भाडा असुली रहेका छन्। यसैका कारण अहिले जनप्रतिनिधिहरूले नगरपालिकालाई कंगाल बनाउन लागेको भन्दै चर्को आलोचना भैरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.