प्रहरी भन्छ–‘घटना रहस्यमय छ’

|

सिन्धुपाल्चोक : नक्कली नागरिकता सिफारिस गरेको आरोपमा पक्राउ परेको वडाध्यक्षलार्इ थुनामा राखेर अनुसन्धान गर्न १० दिनको लागि म्याद थप भएको छ। नक्कली नागरिकता सिफारिस गरेको आरोपमा हेलम्बु गाउँपालिका-७ का वडाध्यक्ष साविक इचोक गाविसका खेतनाथ घिमिरे गतसाता पक्राउ परेका हुन्।

नक्कली नागरिकता सिफारिस काण्डमा गतसाता उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी मोहन पाखरेलले जानकारी दिए। थुनामा राखेर अनुसन्धान गर्न आइतबार अदालतले १० दिनको लागि म्याद थप गरेको समेत जानकारी दिए।

मेलम्ची नगरपालिका १० ज्यामिरेकी खुसी तामाङलाई नक्कली बाबु बनाएर हेलम्बु गाउँपालिका ७ इचोकबाट नागरिकता सिफारिस गरिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। खुसी तामाङलाई स्थानीय आशाराम तामाङमार्फत वडाअध्यक्ष घिमिरेले नागरिकता सिफारिस दिएका थिए। नागरिकता सिफारिसपछि आशाराम दाइ बनेरै खुसीको नागरिकतासमेत बनाएको प्रहरीको भनाइ छ।

यसरी खुल्यो रहस्य

वडाअध्यक्षको सिफारिस लिएर जेठ ११ गते उनीहरू जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा आए। सोही दिनमा प्रशासन कार्यालयबाट २४/०१–७५/०१०३५ नम्बरको नागरिकता लिए। नागरिकता बनाएकै दिन उनीहरूले राहदानीको सिफारिससमेत लिएका थिए। सोही दिनमा राहदानी सिफारिस गरेको हुनाले उनले केन्द्रीय राहदानी विभागबाट राहादानीसमेत बनाइसकेको पाइन्छ।

नक्कली नागरिकता बनाएपछि उनीहरू दुवै काठमाडौं गएका थिए। नक्कली दाइ बनेर नागरिकता सिफारिस गरेका आशारामको परिवारले आफ्नो परिवारको सदस्य भएर नागरिकता बनाएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। परिवारले प्रहरीलालई खबर गरेपछि मात्रै वडा कार्यालयदेखिको संलग्नतामा नक्कली नागरिकता सिफारिस भएको रहस्य खुलेको हो। परिवारको खबरपछि दुबैलाई पक्राउ गरेको थियो। उनीहरू दुवै जनालाई काठमाडौंको बौद्धबाट प्रहरीले गतसाता पक्राउ गरेको हो।

खुसी तामाङको बाबुको नाम बिर्खबहादुर तामाङ भएको खुल्न आएको छ। तर, उनको नागरिकतामा आशारामको बाबुको नाम वीरबहादुर राखेर नागरिकता दिलाएको छ। उनीहरू दुवैलाई पक्राउ गरेर छानबिन गर्दा नक्कली नागरिकता भएको प्रमाण फेला परेपछि वडाध्यक्षलाई पक्राउ गरेको प्रहरीको भनाइ छ। 

प्रहरी भन्छ–‘घटना रहस्यमय छ’

जिल्ला प्रहरी कार्यालयका एसपी पोखरेलका अनुसार घटना रहस्यमय भएको भनाइ छ। मेलम्ची नगरपालिका १० को महिलालाई हेलम्बुबाट नागरिकता दिनुमा नै घटना रहस्यमय बन्दै गएको उनको भनाइ छ।

‘मेलम्चीको महिलालाई हेलम्बुबाट सिफारिस गरेर नक्कली दाइ बनेर नागरिकता दिएको छ। त्यसमा नागरिकता बनाएको दिनमै राहदानी बनाएको छ। त्यो प्रक्रियालाई हेर्दा घटना रहस्यमय बन्दै गएको देखिन्छ’ एसपी पोखरेलले भने।

घटना रहस्यमय भएकाले वडाध्यक्ष पक्राउ गरेको दिनदेखिनै आफूहरूले अनुसन्धानको काम सुरु गरेको भनाई उनको छ। वडाध्यक्षलाई १० दिन म्याद थप गरिएको छ। अबको १० दिनमा नक्कली नागरिकता काण्डको पूरा अनुसन्धान गर्नेगरी लागिपरेको समेत प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.