|

दमक (झापा) : दमक नगरपालिका–६ का १४ वर्षीय किशोर रेमन प्रसाईले निर्माण गरेको एक सफ्टवेयर विश्व विख्यात कम्पनी गुगलले खरिद गरेको छ। उनले निर्माण गरेको एन्टी ह्याकिङ सफ्टवेयर गुगलले ३० लाख रुपैयाँमा खरिद गरेको हो।

दमकको सिद्धार्थ बोर्डिड स्कुलमा कक्षा–९ मा अध्ययन गर्ने रेमनले उक्त सफ्टवेयरको निर्माण गरेका हुन्। ‘मैले यो सफ्टवेर बनाउने सबै कुरा अनलाइन प्रोसेसबाट सिकेको हुँ,’ रेमनले भने, ‘घरैमा कम्प्युटर चलाउँदै अनलाईनमा आएका विभिन्न कुरा सिक्दै गएँ, कति आइडिया त्यहींबाट सिकेर यो सफ्टवेर बनाएको हुँ।’ 

सफ्टवेयर बनाएपछि गुगलमा अनलाइनबाट नै पठाएको र गुगलले परीक्षणका लागि विभिन्न प्रकृयाहरू पूरा गरेको उनले बताए। ‘गुगलजस्तो कम्पनीले सुरुमै त हामीले जे भन्यो त्यही पत्याउँदैन नि,’ उनले थपे, ‘उसले पनि चेक गर्छ, ट्रायल गर्छ अनि मात्र एप्रुभ दिन्छ।’ सात महिनासम्म निरन्तर मेहनत गरेर बनाएको सफ्टवेयरको नाम उनले ‘रेमेक्स’ राखेका छन्। यही रेमेक्स सफ्वेयरलाई गुगलले ३० लाख रुपैयाँ दिने अनलाइन सम्झौता गरेको हो।

के गर्छ सफ्टवेयरले ?

रेमनले बनाएको सफ्टवेयरले महत्त्वपूर्ण दस्तावेज तथा सुचनाहरूको गोपनियतालाई रक्षा गर्ने बताइएको छ। सुरक्षा निकाय, वित्तीय संस्थालगायतका दस्तावेज तथा ‘डेटा’हरू बारम्बार ह्याकरको निशानामा पर्ने गरेका छन्। संसारभर बनिएका ह्याकिङ् ‘ट्रिक्स’भन्दा रेमेक्स सफ्टवेयर बलियो भएकै कारण गुगलले पनि पत्याएको उनको दावी छ। 

उनका अनुसार अब यो सप्टवेयर प्रयोगपछि आफ्नो कम्प्युटर पूर्ण रूपमा ह्याकिडबाट जोगिने छ। उनले भने, ‘यसलाई प्रयोग गरेपछि जसले तपाईको कम्प्युटर ह्याक गर्न खोज्छ, उसकैमा भाइरस अटोरन भएर जान्छ।’ यस प्रकारको सफ्टवेयर विश्व बजारमा अझै महँगो पर्ने भए पनि प्रारम्भमा काम गरेका कारण केही कम मूल्यमा विक्री गर्न तयार भएको उनले बताए। गुगलले यसको ‘अक्सन’ खुल्ला गर्ने र बिक्रीपछि रकम प्रदान गर्ने उनको भनाइ छ। 

आगामी योजना

रेमनले अर्को वर्षसम्म सेक्युरिटी अर्लट सफ्टवेयरको काम सुरु गरेका छन्। यस सफ्टवेयरले प्राकृतिक विपतिबेला संकेत गर्ने उनको दाबी छ। ‘अर्को सफ्टवेयर भूकम्प, बाढी, पहिरोजस्ता विपतिमा उपयोगी हुन्छ,’ उनले भने, ‘मोबाइल फोनमा राखिएको सेक्युरिटी बटनको माध्यमबाट सूचना र भिडियो एकैसाथ जान सक्ने गरी तयारी गरिरहेको छु।’

अध्ययनमा मध्यम स्तरका रेमनको प्रतिभा देखेर अभिभावक पनि अचम्मित छन्। ‘सानैदेखि कम्प्युटरमा उसको रुची हो, कम्प्युटर चलाइरहन्थ्यो,’ रेमनकी आमा रेखाले भनिन, ‘सफ्टवेर पास भएको प्रमाणपत्र देखेपछि हामी पनि चकित भयौं।’ कक्षा १२ को अध्ययनपछि उनी थप अध्ययनका लागि विदेश जाने लक्ष्य रहेको रेमनले बताए। उनको आईटी क्षेत्रमै थप अध्ययन गर्ने चाहना छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.