आठ केन्द्रीय सदस्यले बनाए ५२ पृष्ठको कार्यपत्र

|

काठमाडौं : मंगलबारदेखि हेटौंडामा सुरु हुने नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा निर्वाचनमा कांग्रेस पराजय हुनुको कारण प्रमुख मुद्दा हुने भएको छ। चुनाव पछिको पहिलो सभापतिहरुको भेला हो।

नेपाली कांग्रेस पराजितको समीक्षासहित भोलिको कार्यदिशाबारे सभापतिहरुको भेलामा गम्भीर छलफल हुने कांग्रेसले जनाएको छ।  यही असार ५, ६ र ७ गते हेटौँडामा हुन लागेको भेलाका लागि चुनावको समीक्षा र भावी कार्यदिशाबारे आठजना युवा नेताहरुले ५२ पृष्ठको कार्यपत्र तयार पारेका छन्। आइतबार साँझ काठमाडौं बानेश्वरको एक होटलमा छलफल गरी कार्यपत्रको अन्तिम टुंगो लागेको छलफलमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए।

पार्टी पराजय र आगामी रणनीति मूल मुद्दा

कांग्रेसका केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, गुरुराज घिमिरे, रामकृष्ण यादव, प्रदीप पौडेल, जीवन परियार र किरण यादवको छलफलले कार्यपत्रलाई अन्तिम रूप दिएको हो। कार्यपत्रमा कांग्रेस पराजय हुनुको कारण तथा आगामी रणनीतिका विषयलाई प्रमुख मुद्धा बनाइएको छ।

मुख्यगरी नेतृत्व र नेताको अक्षमता, मुद्धा उठान गर्न नसक्नु, सीमांकनको विषयमा कमजोर हुनु, वाम गठबन्धन हुनु, सही ठाउँमा सही उम्मेदवार चयन गर्न नसक्नुलगायत कारण पार्टी पराजय हुनुपरेको कार्यपत्रमा उल्लेख छ।

सो छलफलमा सहभागी भएका चन्द्र भण्डारीले समेत कार्यपत्र तयार पारेको बारेमा पुष्टि गर्दै अब कांग्रेस सच्चिएर जाने बेला आएको उल्लेख गरे। उनले अब पार्टी बलियो बन्न अहिलेको नेतृत्वले विदा लिनुपर्ने बेला आएको दाबीसमेत गरे।

१३औं महाधिवेशनमा देउवा खेमामा लागे पनि अहिले भण्डारी देउवाको विरोध गरिरहेका छन्। छलफलमा सहभागि सदस्यहरुका अनुसार अहिलेको मतदाता मध्ये १२ प्रतिशत मतदाता कांग्रेसको बढाउनुपर्ने आवश्यकता रहेको निष्कर्ष समेत निकालेको छ।

पछिल्लो समयमा विभिन्न खेमाका नेताहरु एक हुन थालेपछि देउवा खेमा कमजोर बन्दै गएको छ। जसको परिणाम ट्रेड युनियन, शिक्षक, कर्मचारी र इन्जिनियरहरुको सम्मेलनमा देउवापक्षको हारले प्रस्ट पारेको छ।

देउवाकै क्रियाकलापले हार व्यहोरेको र सभापतिले जिम्मेवारी समेत नलिएको भन्दै भण्डारीले विरोध गर्दै आइरहेका छन्। जसका कारण कांग्रेसको १३औँ महाधिवेशनमा भएको समीकरणमा उतारचढाव भएको छ।

यसपटक यसअघिको बैठकमा १५ जना केन्द्रिय सदस्यहरुको लिखित माग गरेपछि अहिले सभापतिहरुको भेला बोलाइएको हो। तीन दिनसम्म चल्ने ७७ वटै जिल्ला सभापतिहरुको भेलामा जिल्ला जिल्लाबाट पार्टी र विधानको विषयमा आएका निष्कर्षहरुलाई सभापतिहरुले प्रस्तुत गर्नेछन्। सभापतिहरुले पार्टीका गतिविधिबारे जिल्लाबाट रिपोर्टिङ गर्ने र भावी कार्यदिशाबारे केन्द्रिय समितिलाई सुझावसमेत दिनेछन्।

मुख्यगरी भेलामा कांग्रेसको विधानलाई संघीय संरचनाअनुसार कस्तो बनाउने र पहिला भएका विधानलाई कसरी समयानुकूल बनाउन सकिन्छ भन्ने विषयमा सभापतिहरुले सुझाव दिनेछन्। विधान संसोधनका विषयहरुबारे छलफल गर्नका लागि भेला बोलाइएको चितवनका जिल्ला सभापति जित नारायण श्रेष्ठ बताउँछन्।

सो विषय सबै जिल्लामा लगेर छलफल गराई त्यहाँबाट आएका सुझावलाई सभापतिहरुले पेश गर्ने छन्। पचहत्तरबाटै आएका सुझावलाई समेटेर महासमितिको बैठकमा पेश गरिनेछ। तर, विधानका विषयमा भेला केन्द्रित हुनुपर्नेमा पराजयको कारणमा भेला केन्द्रित छ। जेठभित्रै भेला गरिने योजना भएपनि बजेट छलफलका कारण भेला अहिलेलाई सारिएको हो।

सभापतिहरुको भेलामा यस्तो छ चितनको  तयारी

नेपाली कांग्रेस चितवनले हेटौँडामा मंगलबारदेखि हुने जिल्ला सभापतिहरुको भेलामा प्रस्तुत गर्ने खाका तयार पारेको छ। सभापति भेलामा प्रस्तुत गर्ने विषयमा तयारपारिएको खाका आइतवार नै कांग्रेस चितवनको जिल्ला समितिले पास गरेको जिल्ला सभापति जितनारायण श्रेष्ठले जानकारी दिए।

वडातहसम्म छलफल गराएर निचोड निकालिएको चितवनका जिल्ला सचिव उत्तम जोशीले जानकारी दिए। उनका अनुसार यसपटक सदस्यताको प्रकृति परिवर्तनको मागसहितको खाका तयार पारिएको छ।

साधारण सदस्यता, क्रियाशील सदस्यता, अनि संस्थागत र त्यसपछि पूर्णकालिन सदस्य पनि हुनुपर्ने कांग्रेस चितवनले सभापतिहरको भेलामा प्रस्तुत गर्ने खाकामा उल्लेख छ।  कम्यूनिष्ट पार्टीकै जस्तो पूर्णकालिन हुनुपर्ने माग कांग्रेसले राख्ने जोशीले बताए। अहिलेसम्म कांग्रेसमा पूर्णकालीन काम कसैले गर्नु नपर्ने व्यवस्था छ।

यस्तै केन्द्रीय समितिमा गएका, सांसद भएका, टिकट पाएका, समानुपातिकमा नाम परेकाहरु चुनावमा भाग नलिइ स्वत क्षेत्रिय प्रतिनिधि हुने व्यवस्था कांग्रेसमा छ। यो व्यवस्था खारेज हुनुपर्छ भन्ने अर्कै मुद्धापछि चितवनको छ। यस्तै अनुशासन र लेखा समिति मनोनीत हुने व्यवस्था खारेजीको माग समेत कांग्रेसले सभापति भेलामा राख्दै छ।

यसलाई पनि निर्वाचन प्रक्रियाबाट जानुपर्छ भन्ने निष्कर्ष कांग्रेस चितवनले गरेको छ। यी विषयहरु सभापतिले  भेलामा प्रस्तुत गर्ने सचिव जोशीले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.