|

काठमाडौं : फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ मा समूह चरणकाे खेल जारी छ। फुटबलप्रेमीहरू खुलेरै आफ्नो मनपर्ने टिमको समर्थनमा लागिरहेका छन्। अाम खेलप्रेमीजस्तै चिकित्सक पनि फुटबलको 'फिभर'मुक्त छैनन्।

सधैँ बिरामीको सेवामा व्यस्त हुने वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजालले आफ्नो फुटबल मोह र र  विश्वकपमा समर्थन गर्ने टिमबारे केही कुरा थाहाखबरलाई यसरी सुनाए –

म चिकित्सा क्षेत्रमा नआउँदै विराटनगरमा फुटबल धेरै मन पराउँथे।  उता हुँदा पनि खेल्ने गर्थे। २०१७ सालतिर विराटनगरमा 'मोरङ ११' भन्ने चर्चित टिम थियो। त्यसबाट सुरुमा फुटबल खेले पनि पछि मेरो खुट्टामा समस्या आएर खेल्न सकिन तर मैले 'भोलिन्टरिङ' गरेँ।

त्यो वेलादेखिको मेरो फुटबल मोह अझै पनि छ। पछि म सन् १९९१ सम्म  टिचिङ अस्पतालमा काम गर्दासम्म विश्वकपका पूरै खेल हेर्थेँ तर आजभोलि सबै खेल हेर्ने समय असाध्यै कम हुन्छ। तर सकेसम्म समय मिलाएर पूरै गेम हेर्ने गर्छु।

पछिल्लो समय विश्वकपमा धेरै नयाँ–नयाँ टिम आएका छन्। तर मलाई भने पहिलेकै पुरानै टिम राम्रो लाग्छ। विश्वकपमा भाग लिने केही टिम अर्जेन्टिना, जर्मन, फ्रान्सलगायतको खेल प्राय: समय मिलाएर हेर्छु। 

मनपर्ने टिम 

मेरो सबैभन्दा मनपर्ने टिम ब्राजिल हो। विश्वकप हेर्न थालेदेखि नै म ब्राजिलकै समर्थक छु। विश्वमा फुटबल खेलको विकासमा ब्राजिलको ठूलो हात छ। यति मात्र नभएर ब्राजिलको टिमबाट खेल्ने हरेक खेलाडी उत्कृष्ट छन्। खेल खेल्ने, गोल हाल्ने उनीहरूको शैली मलाई धेरै मन पर्छ।

त्यसैले ब्राजिलको कुनै पनि खेल खेल्न छुटाउँदिन। ब्राजिलको गेम भएको दिन सकेसम्म अस्पतालबाट चाँडै घर पुग्ने प्रयास गर्छु। रातिको गेम छ र भोलिपल्ट बिहानै अस्पताल आउनु छ भनेचाहिँ हेर्दिन।

मनपर्ने खेलाडी

सुरुमा म अर्जेन्टिनी खेलाडी म्याराडोनाको फ्यान हुँ तर अहिले मन पर्ने खेलाडी भनेको क्रिस्टियानो रोनाल्डो हो। उसको खेल खेल्ने शैली र गोल हान्ने तरिका मलाई एकदमै मन पर्छ। मलाई लाग्छ, रोनाल्डोसँग खेल खेल्ने एक किसिमको जादु नै छ।

नहेरे पनि 'अपडेट'

तर अस्पतालमा भएको बेला वा बिरामीलाई हेरिरहेका वेला गेम हेर्न मिल्दैन । हेर्न नभ्याए पनि समय समय फुटबलको बारेमा अपडेट भइरहेको हुन्छु। घरमा प्राय: सरला (श्रीमती) सँग बसेर खेल हेर्छु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.