लाइन काटिएको छ डराउनु पर्दैन भनिएको थियो

|

भद्रपुर (झापा) : दैनिक मजदुरी गरी परिवार पाल्ने झापा कचनकवल गाउँपालिका-३ स्थित दुर्गा भिट्टा निवासी ३५ वर्षीय युवा टीकाराम भण्डारी अहिले अरूमा आश्रित हुनुपरेको छ। आमा-बुबा, श्रीमती र एक छोरा, एक छोरीका अभिभावक भण्डारीले आफ्नो दुवैहात गुमाउनु परेपछि उनीसँग आश्रित परिवार आर्थिक संकटमा परेको छ।

वैशाख १० गते कचनकवल गाउँपालिका ६ बनियानी बजारस्थित तीर्थ दाहालको निर्माणाधीनमा तीनतले घरमा रङ लगाउने क्रममा उनलाई बिजुलीको हाइटेन्सन प्रशारण लाइनको तारले करेन्ट लागेको थियो। दाहालको घरसँगै जोडिएर गएको बिजुलीको तारले करेन्ट लागेर गम्भीर घाइते भएका भण्डारीले अन्नतः दुवै हात गुमाए। पहिला खेतीपाती र अन्य मजदुरी पेशाबाट परिवार पाल्दै आएका भण्डारी विगत एकवर्षदेखि पेन्टरको रूपमा काम गर्दै आएका थिए।

अरूको घर आँगनमा रंग्‍याउँदै उज्यालो बनाउन खोजेका भण्डारीको जीवन नै अन्धकार बनेको छ। अब उनले कसैको घरआँगन रंग्याउने, उज्यालो बनाउन सक्दैनन्। ‘जीवन त बचे पनि अब अरूको सहारामा बाँच्नुपर्ने बेला आएको पीडित भण्डारीले गुनासो गरे' उनले भने, ‘यस्तो घटना कसैको परिवारसँग नहोस्।' घरधनीले बत्त्तीको लाइन काटिएको हुनाले डराउन नपर्ने बताएकोले आफूले ढुक्कले काम गर्न थालेको तर काम गर्दै जाँदा करेन्ट लागेर आफू भुइँमा खसेको उनले सुनाए।  उनले भने, ‘घरधनी दाहालको विद्युतको लाइन काटिएको छ, डराउनु पर्दैन रङ लगाउँदा हुन्छ भनेपछि रङ लगाउँदै जाँदा करेन्ट लाग्यो।’ 

करेन्ट लाग्‍नासाथ सँंगै रहेका साथी यादव भट्टराईले कपडाले बेरी करेन्टबाट तानेर बचाएको उनले बताए। उनले भने, ‘साथी नभएको भए म आज बाच्ने थिइनँ।’ उनले थपे, ‘आफूसँग भएको धनसम्पत्ति, बैंकबाट ऋण र अरुले जुटाइ दिएको रकम उपचार गराउँदै सकिसक्यो। अब फेरि काठमाडाैं गएर उपचार गराउने रकम छैन।’ त्यसैले मानवीय नाता ठानेर घनधनी दाहालले उचित क्षतिपूर्ति दिनुपर्ने उनले माग गरे।

आर्थिक अवस्था कमजोर भएका भण्डारी घाइते हुनेसाथ तत्काल उपचारका लागि भद्रपुरस्थित ओमसाई पाथिभरा अस्पताल लिएर गएका थिए। ओमसाईमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पातल लगेको उनका भाइ डेविड भण्डारीले बताए। भाइ डेविडले भने,  'बीएण्डसीमा उपचारको क्रममा सुरुमा दायाँ हात काट्नु पर्‍यो। त्यसको २० दिनपछि थप उपचारका लागि काठमाडौं लग्यो। काठमाडाैंको ट्रमा सेन्टरका चिकित्सकले बायाँ हात काटिदिए। त्यसपछि हातसँगै खुट्टाको पनि उपचार गराइयो। तिघ्राको मासु निकालेर हात, पेट र दायाँ खुट्टामा लगाए।'

अहिलेसम्म दाइको उपचार गराउँदा १५ लाख बढी खर्च भइसकेको उनले बताए। उनले भने, ‘कचनकचवल गाउँपालिका, स्थानीय संघसंस्था, राजनीतिक दल, समाजसेवीबाट आर्थिक संकलन गरी दाइको उपचार गराएको हो।’ ‘दाइ घाइते भएर अस्पतालमा मृत्युसँग लडिरहेको अवस्थामा पनि घनधनी दाहाल एकपटक पनि भेट्न गएनन् उनले भने, ‘उपचारका लागि रकम पनि दिएन। अरुमार्फत नै अस्पतालमा गएर कसैलाई नभनि एक लाख रुपैयाँ जम्मा गराए।’ ‘तर उचित्त क्षतिपूर्ति माग गर्दा कुनै चासो देखाएनन।’ अब दाजुको जीविका चलाउन र नाबालक छोराछोरीलाई पठनपाठन गराउन घरधनी दाहालसँग १० लाख रुपैयाँ क्षतिपूर्ति दिलाई दिन पहल गरिदिन उनले अनुरोध गरे। 

घरधनीले क्षतिपूर्ति दिन मानेनन् 

घरधनी तीर्थ दाहालकै लापरवाहीले एउटा मजदुरले हात गुमाउँदा समेत दाहाल परिवारले कुनै चासो नदेखाएको पीडित परिवारले आरोप लगाएका छन्। घाइते भएर अस्पातलको भर्ना हुँदादेखि अहिलेसम्म उपचार गराउन कुनै खर्च नदिएको घाइते टीकाराम भण्डारीले बताए।

उनले भने, ‘उपचारका लागि म अस्पतालमा थिए। यता परिवार र समाजले पटक-पटक घरधनी दाहाल र उनका छोरा निश्चलसँंग क्षतिपूर्तिसहित उपचार खर्चको बारेमा छलफल गर्दा पनि उनीहरू रकम दिने पक्षमा छैन। उचित न्याय दिलाइ दिनुहुन उनले सबै समक्ष माग गरेका छन्। मानवीय रुपमा समस्या समधानका लागि स्थानीय तह र प्रहरीमा क्षतिपूर्तिका लागि ठाडो निवदेन दिए पनि दाहाल परिवार सहमतिमा आउन नचाहेको उनका भाई डेबिट भण्डारीले बताए। 

हाइटेन्सन बिजुलीको तारले बजार क्षेत्र असुरक्षित

झापाको कचनकवल गाउँपालिका ६ स्थित बनियानी बजार पछिल्लो समय असुरक्षित बन्दै गएको छ। बजार क्षेत्रमा अग्ला घर तथा भवन निर्माण हुन थालेपछि घरसंगै जोडिएर लगिएका सडक छेऊका हाइटेन्सन बिजुलीको तारले सो क्षेत्र असुरक्षित बन्दै गएकोले यस्ता घटना हुन थालेको छ।

बजार क्षेत्रबाटै हाइटेन्सन बिजुलीको तारसँगै अग्लो घर तथा भवन निर्माण गर्न थालेपछि विगत ८ महिनाको अवधिमा तीन जना मजदुर करेन्ट लागेर घाइते भएका छन्। गत असोजमा तीर्थ दाहालकै निर्माणाधीन घरमा प्लाष्टर काम गरिरहेका कचनकवल गाउँपालिका ६ निवासी ३० वर्षीय बासिलाल राजवंशी र सोही ठाँउका २५ वर्षीय मोहन राजवंशीलाई हाइटेन्सन तारबाटै करेन्ट लागेर घाइते भएका थिए।

एउटै घरमा दुई पटक एउटै किसिमका घटना घरधनी दाहाल र नेपाल विद्युत प्राधिकरणको लापरवाहीले भएको घाइते टिकाराम भण्डारीले बताए। सम्बन्धित निकायले चासो नदेखाउँदा यस्ता घटनाले प्रोत्साहन पाइरहेको उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.