​सरकारको जिम्मेवारी पोखरेललाई र संसदीय दलमा नेम्वाङ

|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)मा दुई अध्यक्ष हुँदाहुँदै कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुपर्ने परिस्थिति आएको छ। दुवै अध्यक्ष देशबाहिर जानुपर्ने भएका कारण नेकपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टी वरिष्ठ नेता माधवकुमार नेपालले पाउने भएका हुन्। 

नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली मंगलबारबाट पाँच दिने चीन भ्रमणमा जाँदै छन्। यस्तै, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीताको उपचारका लागि सिंगापुर गएका कारण नेकपामा दुई अध्यक्ष हुँदाहुँदै कार्यवाहकको जिम्मवारी दिनुपरेको हो।

अध्यक्षद्वयले पार्टीका वरिष्ठ नेता नेपाललाई कार्यवाहकको जिम्मेवारी दिएका छन्। उनले अध्यक्षपछिको वरिष्ठ नेताको वरीयताका कारण पार्टी अध्यक्षको जिम्मेवारी पाएको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको सचिवालयले थाहाखबरलाई जानकारी दिएको छ।

प्रधानमन्त्री ओली असार १० गते चीन भ्रमण पूरा गरेर फर्कनेछन्। उनी चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणमा चीन भ्रमणमा जान लागेका हुन्। पत्नी सीताको उपचारका लागि सिंगापुर गएका प्रचण्ड कहिले फर्कने भन्ने टुंगो लागेको छैन। उच्च रक्तचाप र मधुमेहकी बिरामी सीतालाई छोरा प्रकाशको निधनपछि झनै बिरामले च्यापेको थियो।

यस्तै, सरकारको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पाउने भएका छन्। प्रधानमन्त्री ओली मंगलबार बिहान चीन भ्रमणमा गएपछि रक्षामन्त्री पोखरेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउनेछन्। उनी सरकारमा पहिलो वरियाताका उपप्रधानमन्त्री भएका कारण कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाउँदै छन्। यसअघि प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री नराख्ने भनिएको भए पनि पोखरेलकै दबाबका कारण उपप्रधानमन्त्री राखिएको थियो।

स्रोतका अनुसार प्रधानमन्त्री बाहिर गएको समयमा उपप्रधानमन्त्रीको जिम्मेवारी आफूले नपाउने भएपछि त्यसबेला पोखरेलले असन्तुष्टि जनाएका थिए। ‘उपप्रधानमन्त्री नराख्दा दोस्रो वरीयता फोरम अध्यक्ष उपेन्द्र यादवले पाउँथे’, प्रधानमन्त्री सचिवालय स्रोतले भन्यो, ‘उपप्रधानमन्त्री राख्दा यादव तेस्रो वरीयतामा सहमत हुने भए। त्यस कारण ईश्वर पोखरेलले उपप्रधानमन्त्री चाहिन्छ भन्नुभयो। उहाँले असन्तुष्टि जनाएपछि दुई जना उपप्रधानमन्त्री बनाइएको हो।’

पार्टी र सरकारमा जस्तै संसदमा पनि कार्यवाहकको जिम्मेवारी दिएर ओली चीन जाँदै छन्। ओली नेकपाको संसदीय दलका नेता पनि हुन्। प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार संसदको जिम्मेवारी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पाउनेछन्।

प्रधानमन्त्री ओली मंगलबार विभिन्न क्षेत्रका प्रतिनिधि मण्डलको ११९ सदस्यीय टोलीसहित चीन प्रस्तान गर्नेछन्। यस्तै, प्रधानमन्त्रीसहितको टोली असार १० गते स्वदेश फर्कने कार्यतालिका रहेको छ। भ्रमण टोलीमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ पनि सहभागी हुनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.