|

धनगढी : प्रदेश सरकारले ल्याएको आगामी अर्थिक वर्ष २०७५/०७६ को बजेटमाथि साेमबारबाट प्रदेश सभामा छलफल सुरु भएको छ। तर प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका संसादहरूले प्रदेश सरकारले ल्याएको बजेट झारा टार्ने खालको भनेर अाराेप लगाएका छन्।  

सत्तारुढ दल नेपाल कम्युनिष्ट दलका सांसदहरूले बजेटले समग्र विषयलाई समेटेको बताए। बजेट माथिको छलफलमा राष्ट्रिय जनता पार्टीका  कृष्णबहादुर चौधरीले थारु समुदायका प्रदेशसभा सदस्यहरूले दिएको सुझावलाई बजेटमा सम्बोधन नभएको गुनासो गरे। उनले बजेट कार्यकर्तामुखी र सत्तामुखी रहेको पनि आरोप लगाए। ‘एउटा समिति बनाउनुस् भनेर हामीलाई आह्वान गरियो। हामीले समिति निर्माण गरेर दिएको सुझावको एक अंश पनि बजेटमा समेटिएन,’ चौधरीले भने।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य डा. रणबहादुर रावलले सरकारले लक्ष्यहीन र गन्तव्यहीन बजेटल्याइएको टिप्पणी गर्नु गरे।उनले भने, ‘जहाँ, जे गर्दा उपलब्धि आउने हाे। त्यसै गर्न छोडेर सरकारले चालु पूँजी भइपरि आउने खर्च र सेवा सुबिधामा बजेट केन्द्रित भयो।’

सतापक्षी दलका प्रदेश सभा सदस्य तारा लामा तामाङले भने सरकारले ल्याएको बजेटमा सबै विषय वस्तु समेटिएको बताए। उनले बजेट कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखेका थिए। ‘प्रदेश सरकारले पहिलो पटक ल्याएको पूर्ण बजेटमा सबै जसो विषयहरू समेटिएको छ। अब पूर्ण बजेटको कार्यान्वयमा सबैले जोड दिनुपर्छ,’ तामाङले भने।

प्रदेश सरकारले असार १ गते २५ अर्ब ६ करोड ५६ लाखको बजेट विनियोजन गरेको थियो। बजेट माथिको छलफलका लागि प्रदेश सातमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बाेहराले सोमबार प्रस्ताव पेस गरेका थिए। बजेटले सवै क्षेत्रलाई समेट्ने र सम्बोधन गर्ने प्रयत्न गरेको बाेहराले बताए। 'यो बजेटले सवै क्षेत्रको पूर्ण विकासलाई समेट्न नसक्ने भए पनि प्रदेशको विकासको आधार तयार गरेको छ,' मन्त्री बाेहराले भने। 

बजेटमा स्वरोजगार,निजी क्षेत्र नपुगेका ठाउँमा यातायात, जलस्राेत, कर्जा प्रवाह लगायतका थुप्रै कार्यक्रमहरू समेट्ने प्रयास गरेको प्रदेश अर्थमन्त्री बोहराले संसदलाई जानकारी गराएका थिए। प्रदेश सरकारले ल्याएको बजेटमाथि सोमबारबाट छलफल सुरु भएको हो।

सोमबार पहिलो दिन तीनजना संसादहरूले धारणा राखेका थिए। अर्काे बैठक बिहीबार बिहान ८ बजेका लागि आह्वान गरिएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.