१५ स्थानीय तहमध्ये सात मात्रै खुला दिसामुक्त घोषणाा

|
फाइल फाेटाे

दमक (झापा) : खुला दिसामुक्त घोषणाको अभियानमा झापामा सहरी तथा सुगम क्षेत्र नै सुस्त पाइएको छ। विकट, विपन्न र पछाडि पारिएको समुदायको बढी बसोबास रहेका क्षेत्रभन्दा विकसित नगरहरू र बजारमा शौचालय बनाउन अटेर गर्ने बढी छन्।

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अनुसार झापाका ठूला र पुराना सहरहरूमा नै खुला दिसामुक्त अभियान सुस्त छ। जसमध्ये नेपालकै पुरानो नगरपालिकामध्येको एक झापा जिल्लाको सदरमुकाम समेत रहेको भद्रपुर नगरपालिकामा ५३४ घरमा चर्पी बन्न बाँकी छ। प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकाका सबै वडा खुला दिसामुक्त घोषणा गरिए पनि ४७२ घरधुरीमा चर्पी बनाउन बाँकी रहेको छ। यस्तै, मेचीनगर नगरपालिकामा ५५५ घरमा सुरक्षित चर्पी छैन। 

यस्तै गाउँपालिकामा पनि सबै घरमा चर्पी निर्माण हुन सकेका छैन। झापा गाउँपालिकामा अझै ४५६ घर चर्पीबिहीन छन्। यस गाउँपालिकामा साविकको शरणामति र कुमरखोदमा चर्पी बनाउन बाँकी रहेको हो। 

एक लाख ८२ हजार २१५ घरधुरी रहेको झापामा एक साताअघि जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले अध्यावधिक गरेको तथ्यांकअनुसार एक लाख ७९ हजार ८२२ घरधुरीमा सुरक्षित चर्पीको पहुँच पुगिसकेको छ भने दुई हजार ३९३ घरधुरीमा चर्पीको निर्माण हुन बाँकी छ।

जिल्ला समन्व्य समितिका प्रमुख सोमनाथ पोर्तेलले भौतिक विकासलाई मात्र विकास भएको ठान्ने प्रवृतिका कारण मानवीय र सामाजिक विकास कमजोर हुँदै गएको बताए। सोही कारण खुला दिसामुक्तको अभियानले अपेक्षित गति लिन नसकेको उनको भनाइ छ। उनले भने, ‘मानवीय र सामाजिक विकास नभएसम्म गाउँमा बनाएका सडकले कुनै पनि ठाउँका बासिन्दामा समुन्नति ल्याउन सक्दैन।’

गाउँमा छिटो प्रगति

सन् २०१७ भित्र खुला दिसामुक्त घोषणा हुन नसकेपछि पछिल्ला समय यो अभियानलाई तीव्रता दिइएको छ। पछिल्लो अवधिमा पनि सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा नै शौचालय निर्माणमा बढी प्रगति भएको पाइएको छ।

अभियानको पछिल्लो एक वर्षमा सबैभन्दा धेरै चर्पी बनाउनेमा कचनकवल र गौरीगञ्ज गाउँपालिका रहेका छन्। कचनकवल गाउँपालिकामा पाँच हजार ४३७ नयाँ चर्पी बनेका छन्। गौरीगञ्ज गाउँपालिकामा एक वर्षको अवधिमा चार हजार ८६८ चर्पी निर्माण भएका छन्। यस्तै, भर्खरै खुला दिसामुक्त घोषणा भएको बाह्रदशीमा दुई हजार ५१४,  गौरादह नगरपालिकामा चार हजार २६७ नयाँ चर्पी बनेका छन्।

पछिल्लो छ महिनाको तथ्यांकलाई आधार मान्ने हो भने गौरीगञ्ज गाउँपालिका चर्पी बनाउनेमा झापा जिल्लामा नै पहिलो स्थानमा आउँछ। यस गाउँपालिकामा साविक गौरीगञ्ज गाविसमा एक हजार ७५१ नयाँ चर्पी निर्माण गरिएको छ। यसैगरी झापा गाउँपालिकामा पछिल्लो एक वर्षको अवधिमा तीन हजार १२२, मेचीनगरमा तीन हजार १८४ नयाँ चर्पी बनेका छन्। साविक गाविसलाई अनुसार सबैभन्दा बढी चर्पी बाहुनडाँगीमा दुई हजार ५४ वटा नयाँ चर्पी बनेका छन्। दोस्रोमा गौरीगञ्ज रहेको छ। जहाँ एक हजार ७५१ नयाँ चर्पी बनेका छन्।

झापाका आठ नगरपालिका र सात गाउँपालिकामध्ये सात वटा स्थानीय तह मात्र खुला दिसामुक्त घोषणा भएका छन्। पछिल्लो पटक गौरीगञ्ज गाउँपालिका आइतबार मात्र खुला दिसामुक्त घोषणा भएको हो। यसअघि तीन नगरपालिका र तीन गाउँपालिका खुला दिसामुक्त घोषणा भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.