|

गोरखा :  वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएपछि उनले पढेको स्कूलमा मंगलबार पठनपाठन बन्द गरिएको छ। उनको शोकमा पालुंटार नगरपालिका ४ को अमरज्योति जनता मावि, लुईंटेल मंगलबार बिदा गरिएको हो।

विद्यालयका पूर्व विद्यार्थीको निधन भएकोले दिनभर पठनपाठन बन्द गरिएको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष प्रकाश न्यौपानेले जानकारी दिए। ‘आज दिनभर विद्यालयको पढाई बन्द गर्ने निर्णय ग¥यौँ’ उनले भने ‘हाम्रो विद्यालयको मात्रै होइन स्वास्थ्य क्षेत्र र देशकै एउटा सम्पत्ती हामीबाट खोसिएको छ। यस दुखद क्षणमा हामीले उहाँ आफैँले पढेको विद्यालयमा पठनपाठन गर्न सकेनौँ। मंगलबार बेलुका देवकोटाप्रति श्रद्धाञ्जली व्यक्त गरेर बुधबारबाट नियमित पठनपाठन सुरु गर्छाैँ।’ 

देवकोटाले स्कूले जीवन कक्षा ५ देखि कक्षा १० सम्म अमर ज्योतीमा पढेका थिए। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईका सहपाठी समेत रहेका देवकोटाले २०२६ सालमा अमरज्योतीबाटै एसएलसी  परीक्षा दिएका थिए। एसएलसीमा भट्टराई नेपालभरीबाटै बोर्डफस्ट भएका थिए भने देवकोटा टप टेनमा परेका थिए। 

देवकोटाले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न पटक–पटक बैठक नै राखेर सुझाव समेत दिने गरेको अध्यक्ष न्यौपानेले सम्झे। ‘गाउँ आउँदा त यसै यहाँ आइहाल्नुहुन्थ्यो’ उनले भने ‘विद्यालय परिवारसँग नियमित सम्पर्कमा रहनुहुन्थ्यो। देशकै नाम चलेको विद्यालयलाई पुरानै अबस्थामा फर्काउन मैले के गर्नुपर्छ भन्नु हुन्थ्यो। अब यसरी सल्लाह लिने र दिने मान्छे हामीले पाउदैनौँ। उहाँको सम्झनामा देवकोटा स्मृती उद्यान विद्यालय प्राङ्गणमै बनाउने सोच बनाएको छु। सल्लाह गरेर काम गर्छाैँ।’  देवकोटाकै पहलमा अंग्रेजी स्वेमसेवी शिक्षकहरुले अहिले समय–समयमा अमरज्योतीमा अध्यापन गराइरहेको न्यौपानेको भनाइ छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.