|

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली मंगलबारदेखि चीन भ्रमणमा छन्। चीन भ्रमणमा क्रममा खासगरी दुई देशको कनेक्टिभिटी विस्तारमा ध्यान दिन सरोकारवालाहरूले आग्रह गरेका छन्। प्रधानमन्त्रीका रूपमा दोस्रोपटक चीन भ्रणमा जान थालेका ओलीले यो समयमा केही महत्वपूर्ण सम्झौता हुने बताएका छन्।

यसै विषयमा केन्द्रित रहेर राजनीति अर्थशास्त्रमा चीनको इन्टरनेशनल युनिभर्सिटी अफ विजनेस एण्ड इकोनोमिबाट विधावारिधि गरेका कल्याण रोकासँग थाहाखबरका भागवत भट्टराईले मुलत: चीनले अघि सारेको ओविआर परियोजना र प्रधानमन्त्रीको चीन भ्रमणमा पर्नुपर्ने प्राथमिकताको विषयमा गरिएको कुराकानी सार:

प्रधानमन्त्री ओली चीन भ्रमणमा हुनुहुन्छ। केही महत्वपूर्ण विषयमा दुई देशबीच सम्झौतासमेत हुने कुरा छन्। खासगरी दुई देशबीच अहिले हुनुपर्ने काम के हो जस्तो लाग्छ?

केपी शर्मा ओलीको  प्रधानमन्त्रीको हिसाबले दोस्रो चीन भ्रमण हो।  पहिलो भ्रमण र अहिलेको भ्रमणमा धेरै फरक छ परिस्थिति नै फरक छ। पहिलो चीन भ्रमण ऐतिहासिक भएको हो। धेरै महत्वपूर्ण भयो। 

पहिलो भ्रमणमा सामुद्रिक सम्‍बन्ध विस्तारको विषयमा गरिएको सहमति धेरै महत्वपूर्ण विषय हो। हाम्रो देश भूपरिबेष्ठित मुलुक हो  त्यसमा पनि भारतबेष्ठित मात्रै हो। ओलीको चीन भ्रमणको विषयमा समुद्रसम्मको अधिकारको विषयमा सहमति भयो ।

 हाम्रो देश भूपरिवेष्ठित हो तर, छिमेकी देशसँग जोडिएका समद्रसँग पनि त हाम्रो पहुँच हुनुपर्ने थियो। पहिले हाम्रो मानसिकता हामी समुद्रसँगको मार्ग भारतसँग मात्रै जोड्नुपर्छ भन्ने थियो। यता, पनि त छिमेकी थियो चीनसँग जोडिएका समुद्रहरूमा हामीले किन नखोजेका थियौँ त अहिलेसम्म कसैको ध्यान गएको थिएन। त्यसकारणले सबैभन्दा महत्वपूर्ण कुरा त्यो बेला समुद्रसँगको कनेक्टिभिटीको कुरा नैं हो। 

अर्को कुरा ओलीको पहिलो भ्रमण नेपाल भूकम्प  र भारतीय नकाबन्दी समयमा थियो।  त्यसवेला १० वटा बुँदामा सम्झौता भयो त्यो सम्‍झौताका सबै १० बुँदा नै निकै महत्वपूर्ण थिए। 

तर समयका सम्झौता महत्वपूर्ण थियो, तर त्यसपछि यो विषयमा दुईतर्फबाट नै खासै चासो राखिएन नि ?

हो त्यो बेलाको भ्रमण र अहिलेको भ्रमण बाह्य पनि र आन्तरिक रूपमा पनि निकै फरक  रहेको छ। जस्तो बाह्‍य रूपमा चीनसँग जोडिएका अमेरिका चीनका बीचमा ट्रेड वार चलेको छ। चीन र भारत नजिकको सम्बन्ध कायम भएको छ। साथै आन्तरिक रूपमा सबल र स्थिर सरकार छ।

सरकारमा केही समस्या छैन। त्यो बेला र यो अवस्थामा फरक पनि देखिएको छ। त्यति बेलाको हाम्रो सरकारको २०१६ को प्रधानमन्त्री र २०१८ को प्रधानमन्त्रीमा धेरै फरक छ।

 त्यो समयमा त त्यति धेरै उपलब्धि भए महत्वपूर्ण विषयमा सहमति भयो भने यो भ्रमणमा त्योभन्दा बढी उपलब्धि हासिल हुन्छ। २०१६ सहमति भएका कुराको कार्यान्वयन  पक्षलाई अहिलेको भ्रमणले अघि बढाउनुपर्छ। अर्को कुरा  'बेल्ट एण्ड रोड एनिसियटिभ’ (विआरआई) कुरा पनि अघि बढ्ला। यस विषयमा हामीले सम्झौता गरिसकेको पनि हो। त्यसकारणले (विआरआइ) फ्रेम वर्कमा रहेर नेपालले के गर्न सक्छ भन्ने कुरा रेल वे कनेक्टिभिटीका कुरा पनि छन्।

नाकाहरूमा नौ वटा प्रमुख नाकाहरू पनि अहिले तातोपानि बन्द भएको अवस्था छ। रसुवा केरुङ मात्रै सञ्‍चालनमा छ। यो विषयमा पनि केही उपलब्धि हासिल हुने आशा गर्न सकिन्छ । 

यी पृष्ठभूमिका कुरा भए तर अहिले हाम्रो प्राथमिकता के हो?

हामी दुईवटा देशको बीचमा छौँ, तर हामी दुई देश ठूला छन् मात्रै भनेर हुँदैन यी देशको अर्थतन्त्र  बुझ्नुपर्‍यो राजनीति पनि बुझ्नुपर्‍यो। भन्नाले अर्थराजनीति बुझ्नुपर्छ ।

अहिले चीनमा बियरभन्दा पानी महँगो छ। सामान्य कनेक्टिभिटी गरियो र बोतल पानीको मात्रै व्यापार गर्दा पनि एक दिनमा एक करोड बोटल लाने र एउटा बोटल वाटरमा एल डलर कमाउँदा के हुन्छ व्यापार अवस्था

हाम्रो नेपालीले छिमेकीलाई हेर्ने दृष्टिकोण कस्तो छ भने चीनतिर हरेर ए तिब्‍बत ! भन्ने भारततर्फ हरेर ए बिहार ! भन्नेछ। भारतलाई हेर्ने बिहारी मस्तिष्क र  चीनलाई हेर्ने तिब्‍बती मानसिकता त्याग्नुपर्‍यो। अहिले बिहार कहाँ पुगिसक्यो तिब्‍बत कहाँ पुगिसक्यो। हिजो बिहारभन्दा माथि थियो तिब्‍बतलाई हामीले हराएको पनि हो।

अहिले हामीले पहिले दुई देश के हुन् भनेर बुझ्नुपर्‍यो। चीन विश्‍वको सबैभन्दा ठूलो जनसंख्या भएको देश हो। एक अर्ब ४० करोड जनसंख्या छ। दक्षिणतर्फ हेर्ने हो भने एक अर्ब २५ करोड जनसंख्या छ। यी हामी दुई अर्ब ६५ करोडको बीचमा छौँ। यस्तो अवस्थामा भूगोल जनसंख्या, आय र अन्तर्राष्ट्रिय सम्बन्धको हिसाबले हामी सानो देश भनेर हीनता पाल्ने स्थिति हैन। त्यसलाई हाम्रो बजार पनि हो भन्ने बुझ्नुपर्छ ।

हामी निरन्तर केनेक्टिभिटीका कुरा गर्छौं, तर कनेक्टिभिटी आयातको लागि मात्रै हुने देखिन्छ नि हैन?

हाम्रा पहिलेका मान्छेहरू भारतसँग प्रतिस्पर्धा गर्न सकिन्छ चीनसँग प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने सोचाइ राख्ने पनि थिए। अहिले हामी त आयातमा केन्द्रित हुने हो भन्ने मानसिकताबाट अघि बढेको देखिन्छ। तर, यो अवसर हामीले प्रयोग गर्न नसकेको हो। संसारका धेरै देश हामीभन्दा सानो देशले  धेरै गरेका छन्। त्यसकारणले हामी यी दुई देशको बजार हुन् पहिल्याएर काम गर्नुपर्‍यो। हाम्रो मानसिकता आयातमुखी अर्थतन्त्र मात्रै भयो।

 अहिले भारततर्फ हाम्रो व्यापार ६५ प्रतिशत छ। चीनबाट ११/१२ प्रतिशत रहेको छ। आयातमुखी अर्थतन्त्रमा पनि एकाधिकार देखिन्छ।

तर, चीनसँग पनि त हाम्रो व्यापार घाटा चुलिँदै गएको अवस्था छ हामीले चीनबाट चालु आर्थिक वर्षको १० महिनामा १२७ अर्बको सामान ल्याउँदा २७ अर्बको मात्रै पठाएका छौँ?

हामीले आयातमुखी व्यापार घाटाभन्दा पनि भारतसँग हाम्रो कनेक्टिभिटी हामीले भारतमा पठाउँदा भरी ट्रक पठाउनुपर्छ भन्ने कुरा त सोचेका छैनौँ । बजारमा एकाधिकार छ रहिरहनुपर्छ भन्ने भारतीय मानसिकता छ।  तर, बजार नै हो हाम्रो देश भने पनि त प्रतिस्पर्धी बजार त बनाउनुपर्‍यो। अरू देशका सामानहरू पनि  यहाँ सहज रूपमा आउनुपर्‍यो नि त। 

आयातमुखी नै अर्थतन्त्र हुनुपर्छ भन्ने हैन। तर, हुने व्यापारको मूल्यमा प्रतिस्पर्धा त हुनुपर्‍यो नि कुनै चीनतर्फ कनेक्टीभिटीमा गइयो भने बस चढेर जानसक्ने अवस्था रेलवे कनेक्टिभिटी, रोड कनेक्टीभिटी मात्रै भयो भने अहिले चीनबाट रेल चढेर युरोप पुग्छन्। यो कनेक्टिभिटी जोड्यौँ भने भोलि हाम्रो देशमा रेल आउँदा आफ्नो देशको रेल चढेर युरोप पुग्ने कुरा हामीले देख्नु पर्छ ।  

भारतबाट त भारतबाहेक समुद्र मात्रै छ। त्यसपछि कि समुद्र हो र हवाई मात्रै हैन। चीन तिरबाट दक्षिण पूर्वी देशमा जहाँ पनि पुगिन्छ। यो कनेक्टिभिटीलाई जोड्न सक्यौँ भने बजार धेरै हुन्छ। त्यसपछि बाहिरबाट आउने वस्तु तथा सेवामा पनि प्रतिस्पर्धा हुने भयो। हामीले उत्पादन गर्दा पनि त्यो बजार खोज्न पनि गाह्रो हुँदैन सहजै युरोपसँग कारोबार गर्न सक्छौँ। त्यसकारणले हामीलाई उत्तरतर्फको कनेक्टिभिटी आवश्‍यक हो। हो आयातको लागि मात्रैको कनेक्टिभिटीले नेपालीलाई फाइदा नगर्न सक्छ। 

हाम्रो अर्थतन्त्र बलियो बनाउनका लागि यी छिमेकी ठूला देशबाट हामीले कस्तो सहयोग लिन सक्छौँ?

हामीले अर्थतन्त्रलाई जीवत राख्नको लागि तीनवटा कुरा ध्यानमा राख्नुपर्छ। पहिलो उत्पादन हो। उत्पादनको लागि लगानी गर्नुपर्‍यो। घरेलु लगानी पनि उत्पादनमा लगाउनुपर्‍यो हाम्रो सेभिङ बेस इकोनोमी हैन निर्यातमा आधिकारिक बनाउनुपर्छ।

बाह्‍य लगानीबाट पनि उत्पादन ल्याउनुपर्छ। अमेरिका र चीनको एफडिआई (प्रत्यक्ष वैदेशिक लगानी)मा भर परेको छ। हामीले अन्तर्राष्ट्रिय लगानीलाई भित्र्याउनुपर्‍यो उत्पादनको लागि लगानी ल्याउनुपर्छ। 

दोस्रो उत्पादन गरेको कुरा देशभित्र उपभोग गरेर मात्रै भएन निर्यातमुखी बनाउनुपर्छ। उत्पादन र निर्यातलाई फोकस गर्न सक्यौँ भने यी विषयलाई कनेक्टिभिटी आवश्‍यक छ। 

चीनको लगानीमा ठूला आयोजना किन आउन सकेका छैनन् ?

हामीसँग एफिडिआई भित्र्याउन लगानी बोर्ड, उद्योग विभाग रहेका छन्। उनीहरूले नेपालमा हामी यति रोजगारी दिन्छौँ यसमा लगानी गर्छौं भनेका आधारमा गणना गरिएको छ। यसमा पनि पहिलेदेखि भारत अघि छ। अहिले यसमा चीन पनि देखिएको छ । 

तपाईंले भने जस्तो चीनियाँ लगानी ठूला आयोजनामा छैन। अहिले आएको लगानीले मुलुकलाई समृद्ध बनाउने गरी आएको छैन। सडक बनाउने कुरामा अन्तर्राष्ट्रिय लगानी आयो भने के फरक लगानी प्रत्यक्ष उपभोग्य वस्तु उत्पादनमा ध्यान दिनुपर्‍यो।अहिले जलविद्युत, बैंक लगायतका कुरामा निर्यातमुखी बनाउँदा मात्रै ध्यान दिनुपर्ने हो। लगानीको पहिलो सर्त यी कुरालाई बनाउनुपर्छ।

अहिले पनि हामी आधारभूत आवश्‍यकतामा भारतसँग निर्भर छौँ, चीनको व्यापार पनि भारत हुँदै आयात भएको तीतो यथार्थ छ यसको निराकरणको लागि कनेक्टिभिटी विस्तारका कुरा आउछन्, तर छिमेकीका स्वार्थ पनि जोडिन्छन् नि हैन ?

हो हाम्रो आधाभूत आवश्‍यकता भारत बेसमा मात्रै छ। हामीले यहाँ उत्पादन गरेका सामाग्रीभन्दा आयातमा केन्द्रित सामग्री सस्तो पर्ने कुरा छ। यी सबैको लागि नै हामी कनेक्टिभिटी बढाउनुपर्छ।

अहिले चीनमा वियरभन्दा पानी महँगो छ। सामान्य कनेक्टिभिटी गरियो र बोतल पानीको मात्रै व्यापार गर्दा पनि एक दिनमा एक करोड बोटल लाने र एउटा बोटल वाटरमा एल डलर कमाउँदा के हुन्छ व्यापार अवस्था । हाम्रा अथाह सम्भावना छन् ।

हाम्रो पहिलो प्राथिमकता चाहिं के हो त ?

 कनेक्टीभीलाई नै दिनुपर्‍यो यसमा राष्ट्रिय स्वार्थ पूरा गर्नु लाग्नुपर्‍यो। अहिले कुरा के भइरहेको छ भने चीनले आफ्नो स्वार्थ कनेक्टिभिटीमा हेरेको छ भनिएको छ। तर, बाटो भएपछि त्यसको प्रयोग गर्न त हामीले जान्नु‍पर्‍यो।  लाभ लिन सक्नुपर्‍यो। धनी मान्छेका १० वटा कार हुन्छन भन्ने सोचेर काम गर्नुपर्‍यो।

त्यसको लागि प्रतिस्पर्धी बजार विस्तार नगरी सम्भव छ?

हो हामीले प्रतिस्पर्धी बजार बनाउनै पर्छ । आफ्नो घरमा केही नभएपछि पल्लो घर तपाईंलाई बेच्न मात्रै लाग्छ, तर हामीले हाम्रो घरमा उत्पादन गरेपछि मात्रै पल्लो घर हामीसँग प्रतिस्पर्धा गर्ने हो। मुख्य कुरा उत्पादन नै ठूलो कुरा हो। अहिले पनि जिडिपी २७ प्रतिशत रहेको छ। अहिले पनि सबै कुरा आयातमा निर्भर हुनुपरि रहेको छ। यसरी कहाँ हुन्छ र प्रविधिको प्रयोग गर्नुपर्‍यो । आधुनिकीरकण गर्नुपर्‍यो यसका लागि लगानी ल्याउन सक्‍नुपर्‍यो। जंगलमा भएको कुरालाई पनि हामीले ध्यान दिन सकेका छैनौँ। हामी जसरी पनि कनेक्टिभिटी बढाउन सक्दा मात्रै यी विषय पूरा गर्ने देखिए।

वान वेल्ट वान रोड (ओवीआर)को विषयमा अहिले कसरी अघि बढ्नुपर्छ यसबाट हुने मुख्य लाभ के हो?

यसका केही पूर्वशर्त र मान्यताहरू छन्। यसले सहकार्यलाई जोड दिन्छ। यो भनेको सरकार सरकार बीचको संयोजन र सहकार्यमा हुने कुरा हो। तर यसले जनसहभागिता खोज्ने भएकाले जनता बीचको कुरा पनि हो।

दोस्रो विषय सडक सम्बन्ध अर्थात रोड कनेक्टिभिटीको कुरा हो। सञ्चार सम्बन्धको कुरा पनि छ। यसमा उर्जाका प्रविधिका कुराहरू रहेका छन्। यी सबै कुरा ओवीआरमा छन्। सबैभन्दा पहिलो कुरा देश हो राष्ट्रिय हित हो यसबाट नेपालले कति फाइदा उठाउन सकिन्छ भन्ने कुरा पहिलो हो।

यी कुरा ध्यानमा राखेर जे गर्न सकिन्छ त्यस विषयमा सरकारले गम्भीर रूपमा लाग्नुपर्‍यो। ओबीआरमा चीन मात्र छैन चीन लगायत ६५ वटा देशका कुरा छन्। मुख्य कुरा समुद्री कनेक्टिभिटी हो त्यसबाहेक ६/७ वटा कोरिडोर रहेका छन् हामीले अहिलेसम्मा बिआरआई फ्रेम वर्क २०१७ मा आधिकारिक सम्झौता गरेका छौँ। हामीले पोर्टहरू खोल्छौँ भन्यौँ  रेल कनेक्टिभिटीका कुरा गर्‍यौँ यसका लागि नेपालतर्फबाट कसरी अघि बढाउने भन्ने सवालमा ध्यान दिनुपर्छ। 

हामीले चीनबाट धेरै सहयोगको अपेक्षा गरेका छौँ। तर, चीनले बनाउने भनेका आयोजनाहरू समयमा हुन सकेका छैनन् कति अड्काएर राखेको अवस्था छ यसका कमजोरी के हुन्?

हामीले यो आयोजना कसले बनाउने यो देशले बनाइदिनुपर्छ भनेर काम अघि बढाउनु हुँदैन हुँदैनथ्यो।  सरकारले हामीसँग यो यो छ भनेर विस्तृत अध्ययन  गराएर अघि बढ्नुपर्छ। यहाँ विदेशबाट आउँदा पनि हामीले तर्साउने गरी अघि बढेका छौँ।  यी हाम्रा सम्‍भावना हुन् भनेर अघि बढाउन सकेको स्थिति छैन। हामीलाई माया गरेर कसैले लगानी गर्ने हैन।लिने र दिने कुरामा नाफा हरेर लगानी गर्नेतर्फ ध्यान दिनुपर्छ सरकारले भने पूर्वधार विकासमा ध्यान दिनुपर्छ। हाम्रो कमजोरी यही हो।

भारत  र चीनको व्यापारिक सम्बन्ध थप मजबुत भएको देखिन्छ यस्तो अवस्थामा नेपालले खेल्न सक्ने र लाभ लिन सक्ने कुरा के हुन सक्छ?

हाम्रो देशमा त्रिपक्षीय कनेक्टिभिटीका कुरा हामीले गर्नैपर्छ यसो हुँदा हामी कतै ढल्कने भन्ने हुँदैन। यहाँ कुरा के छ भने हामीले उत्पादन गर्न सक्दैनौँ किन चाहियो पनि भन्ने गरिन्छ। त्यसो गरेर भएन। हामीले उत्पादन गर्नुपर्‍यो। हामीसँग प्राकृतिक  स्रोत साधन छ यसको प्रयोग गर्न सकिन्छ। यसरी हामीले त्रिदेशीय कनेक्टिभिटीमा जोड दिनुपर्छ। प्रमुख कुरा उत्पादन बढाउनुपर्छ र निर्यात बढाउनुपर्छ। आफ्नो आवश्यकता र आयात भन्दा उनीहरूको आवश्यकता बुझेर हाम्रो उत्पादन क्षमतालाई बढाउनुपर्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.