|

सिन्धुपाल्चोक : नेपालका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार ११६ जनाको जम्बो टोली लिएर चीनको भ्रमणमा निस्किएका छन्। नेपाल र चीनबीचको प्रमुख व्यापारीका तातोपानी नाका विनाशकारी भूकम्पपछि पूरै ठप्प छ। नाका नखुल्दा दुबै देशलाई अर्बौँको राजश्व घाटा व्यहोरिरहेको अवस्थामा नाका खुलाउने विषय चीन भ्रमणका बेला प्रधानमन्त्री ओलीको प्राथाकितामा पर्ला कि नपार्ला भन्नेमा सीमावासी गुनासो गरिरहेका छन्।

नाका खुलाउने विषयमा सरकारी निकायले पहल नगरेकाले तीन वर्षसम्म तातोपानी नाका सञ्चालनमा आउन नसकेको सीमावासीले गुनासो गरेका छन्। हालै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा सीमाक्षेत्रका सांसदहरूले तातोपानी नाकालाई भोट माग्ने हतियारको रूपमा प्रयोग गरेका थिए। तर, निर्वाचन सकिएको वर्षदिन पूरा हुन लाग्दासमेत तातोपानी नाका खुल्ने छाटकाट देखिएको छैन।

निर्वाचान विजयी भएपश्चात् जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले गरेको सम्मान कार्यक्रममा सिन्धुपाल्चोक प्रतिनिधिसभा १ का सांसद अग्नीप्रसाद सापकोटाले तीन महिनाभित्रमा तातोपानी नाका खुलाएरै छाड्ने उद्घोष गरेका थिए। नाकाको विषयमा सांसाद सापकोटाले पटक पटक संसद बैठकामा कुरा उठान गर्दै आएको भए पनि तातोपानी नाका सञ्चालनमा आउने निश्चित छैन। 

तातोपानी नाकाको विषयमा पटकपटक बैठक बस्दासमेत चिनियाँ पक्षले आश्वासन मात्र दिएको छ। प्रत्येक पटकको बैठकमा चिनियाँ पक्षले तातोपानी नाका खुलाउन जिब्रो चपाउँदै आएको छ। ‘चिनियाँ सरकारसँग पछिल्लो चरणमा बसेको बैठकले नेपाली प्रतिनिधिलाई नाको विषयमा पूर्ण रूपमा सुरक्षा प्रत्याभूतिको माग गरेको थियो। जुन सरकारले पूरा गर्न सकेको छैन’ प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने, ‘प्रधानमन्त्रीको भ्रमणमा तातोपानी नाका खुलाउने विषयलाई प्राथामिकताको साथ राख्ने विश्वास लिएका छौँ।’ 

०७१ साउन १७ गते जुरे पहिरोबाट अवरोध सुरु भएको तातोपानी नाकाको भविष्य नै अन्यौलमा परेको छ। जुरे पहिरोबाट विस्तारै व्यापारतिर लम्कदै गरेको तातोपानी नाकालाई २०७२ बैशाख १२ गतेको भूकम्पले निमेषमै ढाल्यो, थलायो। भूकम्पले क्षति पुर्‍याएको सडकलगायत अन्य पूर्वाधार पुनर्निर्माण भइसकेको थियो। तातोपानी नाकालाई नै एकपछि अर्को विपद्ले छोडेन ०७३ असार १७ गते भोटेकोसी उलिएपछि सबै निर्माण भएका भौतिक संरचना ध्वस्त पार्‍यो। गतसाउनका लार्चामा पहिरो गएपछि तातोपानी नाकाको सम्भावना मर्दै गएको थियो।

तर, चीनले सुख्खा बन्दगाहको काम तीव्र रूपले अगाडि बढाएकाले तातोपानी नाका खुल्नेमा ढुक्क भएको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडलले बताए। ‘चीनले नाका नखोल्ने भए यस्तो बन्दरगाहको काम गर्दैन थियो होला। तीव्र रूपमा बन्दरगाहको काम आगाडि बढेको छ अबको एक वर्षसम्ममा तातोपानी नाका खुल्लेमा विश्वस्थ छौँ’ उनले भने।

विनाशकारी भूकम्पको चपेटामा परेको मुलुकको प्रमुख उत्तरी नाका तातोपानी–खासा बजार अहिले विस्तारै सामान्य अवस्थामा फर्कदै छ। तर, फेरि बर्खाको मौसमा सुरु भएकाले भोटेकोसी आसपासका स्थानीयलाई फेरि समस्या नपर्ला भन्न सकिन्न। नेपाल–चीन जोड्ने सबैभन्दा चल्तीको यो नाकामा विगतमा बाह्रै महिना चहलपहल हुन्थ्यो। भूकम्प र बाढी–पहिरोले बस्ती जोखिममा परेपछि तातोपानीमा बस्ने हजारौँ वासिन्दा अहिले विस्थापित भएका छन्। बजार मानवरहित हुँदा त्यहाँ दैनिक हुने लाखौँको व्यवसाय पनि गुमेको छ। भूकम्प आएको अर्को दिन नै चीनले खासाको बस्ती उठाएर लगेका कारण अहिले नाकाको दुवै क्षेत्र मानवरहित बन्न पुगेको हो।

मुलुककै एक प्रमुख आयात–निर्यात तथा पर्यटकीय क्षेत्र बनेको यो नाकामा बस्ने हजारौँ स्थानीयले व्यापारिक कारोबार गर्थे। तातोपानी बन्द भएसँगै दैनिक करोडौँको व्यापार गुम्नुका साथै यस क्षेत्रमा बनाइएका करोडौँका भौतिक संरचनासमेत भूकम्प र त्यसपछिको बाढीले लपेटेर लगेको छ। वार्षिक लाखौँ पर्यटकको गन्तव्य बनेको उक्त क्षेत्र अहिले सुनसान छ। २०२७ सालमा खुलेको यो नाका नेपाल र चीनबीच सबैभन्दा महत्त्वको व्यापारिक मार्ग हो।

यो नाकाबाट मात्र सरकारले वार्षिक छ अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन गर्दै आएको थियो। यही नाका भएर नेपाली र भारतीय तीर्थालु तिब्बतको मान सरोवर जाने गर्छन्। पछिल्ला वर्षमा एक लाखभन्दा बढी पर्यटक यही नाका भएर तिब्बत गएको व्यापारी बताउँछन्। तातोपानी नाकामा ४५ वटा पर्यटकीयसहित ३५० वटा होटल खोलिएका थिए।

नाकाबाट जीवन निर्वाह गर्दै आएका साना ठूला व्यवसायी, मजदुर, व्यापारीसमेत गरी चार हजारभन्दा बढी प्रत्यक्ष मारमा परेका छन्। त्यत्तिकै संख्यामा होटल व्यवसायी विस्थापित भएका छन्। उनीहरू विस्थापित भएसँगै दैनिक भीडभाड रहने सीमा क्षेत्र अहिले सुनसान छ। नाकासँग आवद्ध भएर व्यापार गर्नेहरू पलायन भएका छन्।

नाका आसपास करोडौँको लगानीमा खोलिएको होटल अहिले सुनसान छ। त्यहाँ काम गर्ने कामदारहरूको रोजिरोटी गुमेको छ। नाकालाई लक्षित गरी थुप्रै बैंक तथा वित्तीय संस्थाहरू खुलेका थिए तर अहिले उनीहरू अन्य सहरहरूमा सरिसकेको छन्। नाका बन्द हुँदा यो मार्ग हुँदै चीनको मानसरोबर भ्रमणमा जाने विदेशी पर्यटक शून्यमा झरेका छन्। तातोपानी धारामा स्थान गर्ने, बन्जी जम्प गर्ने, र्‍याफ्टिङ गर्ने आन्तरिक र बाह्य पर्यटकहरू आउन छाडेको छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.