|

संखुवासभा : संखुवासभाको मकालु गाँउपालिका-५ मा निमार्ण भइरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइट निर्माणस्थको सुरुङमा शुक्रबार बेलुका ८ः४० तिर अचानक पहिरो गयो। पहिरोले निर्माणाधीन ड्यामसाइटको सुरुङमार्ग पूर्णरूपमा छोपियो। छोपिएको सुरुगमार्गमा दुर्इ नेपाली र दुर्इ भारतीय मुलका कामदारहरू कार्यरत थिए। सुरुङभित्र काम गरिरहेको अवस्थामा अचानक सुरुङको अगाडि पहिरो खसेको थियो।

सुरुङमार्गमा कामदार थुनिएको पुस्टि भएसँगै शुक्रबारबाटै उद्दारको थालनी भयो। उद्दार कार्यमा जिल्लाका  नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी चारवटा स्काभेटर परिचालन गरियो।

त्यसको भोलिपल्ट कतिपय सञ्चार माध्यमले पहिरोमा पुरिएर त्यहाँ काम गर्ने चारजना कामदारको मृत्युको खबर पनि लेख्न भ्याए। केही व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली र समवेदना दिए। त्यो खबर कामदारका आफन्तसम्म पुग्यो।

तर आयोजना स्थलमा  केही कर्मचारीहरू र सुरक्षाकर्मी  घटना स्थल पुगे। घटनास्थल पुगेका अरुण तेस्रोका कर्मचारी र सुरक्षाकर्मीले पहिरोका प्रत्यक्षदर्शीहरूको भनाइ सुन्दा उनीहरू केही आशावादी भए। जस्तो सोचेका थिए उस्तै साबित पनि भयो। भाग्यले बाँचेकाहरू भने जस्तै अरुण तेस्रो सुरुङमार्गमा पहिरो खसेपछि थुनिएकाहरू आइतबार बिहान ११ बजे सकुशल उद्दार गरिएको छ।

'एक्कासि गड्याङगुडुङ गर्दै पहाड नै सुरुङको मुखतिर झर्‍यो। हामी अँध्यारो सुरुङमा फसिसकेका थियौँ', भारत झारखण्डका ५५ वर्षीय बुधन मुण्डाले आफू सुरङमा थुनिदाको अनुभव सुनाए, 'भाग्यवश हाम्रो शरीरमा ठूलो चोट लागेको रहेनछ।'

मुण्डा अगाडि थप्छन्, ‘मुटु चिसो भयो। परिवार र आफन्तको याद आयो।  हामी चारजना एक आपसमा यति दृढ थियौँ कि हामीलाई बचाँउनेछन् भनेर एकसाथ बसेर एकले अर्काको आत्माबल बढायौँ। यदि मर्‍यौँ भने पनि एक साथ मर्ने प्रणका साथ हामी बस्यौँ। हामीसँग खानेकुरा केही थिएन, पानीका भरमा बाँच्यौँ। बाहिरको आवाज आएपछि अब भने बाँच्ने आशा पलायो। सुरुङमार्गको बाहिरी भागबाट थोरै पुवाल परेपछि बाहिरको हावाभित्र पस्न सुरु गरेपछि श्वास फेर्नसमेत सहज भयो। अनि थोरै उज्यालोले फेरि जीवनको आस गर्‍यौँ। पानीको भरमा ३९ घण्टा बसेर बाहिर निस्कदा पुनर्जन्म पाएको महसुस गरेँ।'

उद्दारपछि चारैजनालार्इ जिल्ला प्रशासन कार्यालयमा सम्मान गरिँदै


ड्यामसाइडमा  शुक्रबार राति  पहिरोले सुरुङ पुरिदियो त्यसमा  परी  दुई  नेपाली नागरिकसहित  भारतीय मुलका दुईजना सुरुङभित्रै थुनिए। पहिरोले थुनिएपछि उनीहरूले ३९ घण्टा सुरुङभित्रै बिताए।

सुरुङभित्र  सिउना गाउँपालिका ४ कालिकोटका ३२ वर्षीय प्रदीप शाही, चन्द्रनाथ नगरपालिका १ जुम्लाका ४४ वर्षीय प्रेम परियार, भारत बिहारका पम्प सहयोगी ४५ वर्षीय नन्द किशोर र बुधन म्न्डा  फसेका थिए।

उनीहरूको उद्दारको सुरुवात शनिबार बिहानबाटै गरिए पनि लगातारको वर्षा र  पहिरो खसेकाले उद्दार कार्यमा  ढिलाइ भएको थियो। उद्दार थप  प्रभावकारी बनाउन आइतबार रौताह कम्पनीको स्काईभेक्टरसमेत थप गरियो। 

सुरक्षाकर्मीको लगातारको खटाइपछि उनीहरूको उद्दार कार्य सफल भयो। लगातार दिन रात खटे र आइतबार ११ बजे पूर्ण रूपमा सफलता हात पारे। स्काईभेटरले पहिरो हटाएपछि सुरुङमार्गमा उनीहरू जीवितै भेटिएका थिए। उद्धारमा खटिएका सुरक्षाकर्मीले डोरीको सहायतामा उनीहरूलाई बाहिर निकालेका थिए।

प्रेम परियार र प्रदीप शाहीलाई आइतबार र दुई भारतीयलाई सोमबार मात्र सदरमुकाम  खाँदबारी ल्याइएको थियो। पुनर्जन्म पाएका चारजनाको एक कार्यक्रमबीच जिल्ला प्रशासन कार्यालयमा संखुवासभामा सम्मान गरिएको थियो। मकालु गाँउपालिका ५ फ्याक्सिन्दामा राष्ट्रिय गौरवको आयोजना अरुण तेश्रो  ९०० मेगावाटको निमार्ण कार्य धमाधम सुचारु भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.