|

त्रिपुराकोट(डोल्पा) : हिमाली जिल्ला डोल्पाका उच्च भू-भागहरूमा रहेका यार्सागुम्बा पाटनमा यार्सागुम्बा संकलनका लागि पुगेका सर्वसाधारणहरू धमाधम फर्कन थालेका छन्। जेठ एक गतेदेखि यार्सागुम्बा संकलनका लागि यार्सागुम्बा पाटन खुला गरिएको थियो। एक महिने यार्सागुम्बा संकलन अवधि सकिएपछि सर्वसाधारणहरू धमाधम घर फर्कन थालेका हुन्।

निकुञ्ज कार्यालयले यार्सागुम्बा संकलनका लागि एक महिनाको अनुमति मात्रै दिएकाले संकलन अवधि सकिएको शे-फोक्सुण्डाे राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए। 'निकुञ्ज क्षेत्रमा पर्ने भोक्पा,भाङ्का, कुनास, डोप्का लगायतका सयौँ पाटनबाट सर्वसाधारण फर्किन थालिसकेका छन्।संकलन इजाजत पत्रमा तोकिएको अवधि सकिँदा पनि पाटनमै बस्नेलाई कारवाही हुन्छ,' उप्रेतीले भने।

 सुरक्षासहितको निकुञ्जको टोलीले विभिन्न पाटनहरूमा गस्ती शुरु गरेको निकुञ्जले जनाएको छ। निकुञ्ज क्षेत्रमा नपर्ने यार्सागुम्बा पाटनहरूमा भने असार स्रो सादोतासम्म सर्वसाधारणहरू यार्सागुम्बा पाटन मै रहने गर्दछन्।
सामुदायिक बनमा पर्ने यार्सा पाटनहरूमा भने यार्सागुम्बा संकलन खुला गर्ने र बन्द गर्नेसम्बन्धी व्यावस्था बन समितिको निर्णय अनुसार हुने गर्दछ।

कमाउने भन्दा गुमाउने धेरै

यार्सागुम्बा सिजन सकिएपछि धमाधम सर्वसाधारणहरु फर्कदै छन्। उच्च हिमालस् भेगहरुमा मात्र पाईने बहुमुल्य जडिबुटी यार्सागुम्बाले कसैलाई सम्पन्न बनाई दिन्छ भने कसैलाई उल्टै ऋणको बोझ थपिदिन्छ। यार्सागुम्बाकै मोहले कतिपयले त अकालमै ज्यान गुमाउने गर्दछन् भने कसैलाई जीवनभरअशक्त हुनु पर्दछ।
यसवर्ष वर्ष पनि यार्सागुम्बा संकलनका लागि पाटन पुगेका दुईजनाले अकालमै ज्यान गुमाए भने दुईजना गम्भीर बिरामी परेपछि उपचारका लागि जिल्ला बाहिर पठाइयो। यार्सागुम्बाबाट आम्दानी गर्नका लागि यार्सा पाटनहरूमा सक्रिय हुने गुण्डा र चोरहरूको बिगबिगी समेत सहनु पर्दछ। यसवर्ष पनि थुप्रै सपना बोकेर पाटन पुगेका सर्वसाधारणहरू कोही पुरा गरेर फर्कने काछन् भने कोही उल्टै दुखि भएर फर्केका छन्।

बहुमुल्य जडिबुटी यार्सागुम्बा खोजीमा उच्च हिमाली क्षेत्रमा पुगेका अधिकांश सर्वसाधारणहरू रित्तो हात फर्केका छन् भने कतिपय सर्वसाधारण यार्सागुम्बाबाटै मनग्य आम्दानी गरेर फर्केका छन्। त्रिपुरा सुन्दरी नगरपालिका १ का लोकमान श्रेष्ठ यार्सागुम्बा संकलन गरेर फर्किसकेका छन्। वर्षभरिको आम्दानी र बेरोगारहरूको रोजगारीसँग जोडिएको यार्सागुम्बाबाट यसपाली राम्रै कमाई भएको बताए।

दुई दम्पतिसहित जेठ गते टिप्ने गरी यार्सागुम्बा पाटन पुगेका श्रेष्ठ दम्पतिले यसवर्ष एकमहिने अवधिमा ३०० बोट यार्सागुम्बा संकलन गरे। यसबाट झन्डै दुई लाखको हाराहारीमा आम्दानी गरेको श्रेष्ठले बताए। 'यार्सागुम्बा आम्दानी गर्न सोचे जतिको सजिलो छैन। ज्यान जोखिममा पारेर संकलन गर्नुपर्दछ।

पाटन पुगे जतिकालाई यार्सागुम्बा भेटाउने अवसर मिल्दैन श्रेष्ठले भने। 'माइनस तापक्रममा खेपेर यार्सागुम्बा खोज्नु पर्दछ। कोहीले यार्सागुम्बा टिपेरै लाखौँ आम्दानी गर्छन् भने कोही यार्साबाटै कमाउने सोच बोकेर पाटन पुगेकाहरू प्नि ऋण लगाएर आउँछन्। कसैले ज्यान नै गुमाउनु पर्दछ यही नै यार्सागुम्बा संकलनकर्ताको नियति हो' उनले थपे। त्यस्तै त्रिपुरा सुन्दरी नगरपालिकाका रत्नबहादुर बिष्टले पनि मनग्य आम्दानी गरे। यसवर्ष एकमहिने अवधिमा यार्सागुम्बा टिपेरै एकलाख पचास हजार कमाई गरेको बताए।

डोल्पाली मात्र नभई छिमेकी जिल्लाबासीको समेत बलियो आम्दानीको मुख्य स्रोतको रूपमा रहेको यार्सागुम्बाबाट अधिकांश सर्वसाधारण भने पीडित पनि बनेका छन्। रुकुम जिल्ला आठबीस कोटका लोकेन्द्र केसीले यार्सागुम्बाले धोका दिएको बताए। यसवर्ष आम्दानी भन्दा उल्टै ऋणको बोझ थपेर आएको बताए। 'यार्सागुम्बाबाट मनग्य आम्दानी गर्ने सपना बोकेर डोल्पाका यार्सागुम्बा पाटनमा पुगियो। तर तीन हप्ता यार्सागुम्बा खोजेर पन्ध्रवटा मात्र भेटाएँ। यसबाट आम्दानीको सट्टा स्थानीय व्यापारीबाट उदारो लिएको बन्दोबस्तीको सामानको मूल्य पनि उठेन। बरु उल्टै ऋण लाग्यो.' उनले भने। 'यार्सागुम्बा बेचेर उदारो पनि तिर्छु। थप आम्दानी पनि गर्छु भनेको त मजदुरी गरेर तिर्नुपर्ने भयो' उनले थपे।

जाजरकोट जिल्ला बारेकोट गाउँपालिका भिम सिंहले पनि यसवर्ष यार्सागुम्बा टिपेर आम्दानी गर्न सकेनन्। 'अघिल्लो वर्ष राम्रै कमाई भएको थियो। यसवर्ष पचास बोट मात्रै यार्सा भेटे यसबाट यार्सा टिप्ने जाँदाखेरी लागेको खर्च-पर्च पनि उठेन। उल्टै दश हजार घाटा लाग्यो,' सिंहले भने। 'जाजरकोट बारेकोट गाउँपालिका कै रामप्रसाद सिंह पनि यार्सा नपाएर पीडित बने। कमाउन गएको उल्टै ऋण थपियो,' उनले भने। यति मात्र होइन यसवर्ष अधिकांश सर्वसाधारणले यार्सागुम्बाबाट आम्दानी गर्न नसकेको बताएका छन्। त्रिपुरा सुन्दरी नगरपालिका १ का रुपेश सार्कीले पनि यार्सा टिपेर सोचे जत्तिको आम्दानी गर्न नसकेको बताए। बहुमूल्य जडिबुटी यार्सागुम्बाको स्थानीय मूल्य ५०० देखि एक हजारसम्म छ। यार्सा टिप्न पाटनमा पुगेका अधिकांश सर्वसाधारणले यार्सापाटन मै यार्सा बेचेर फर्केका छन्।

बड्यो चहलपहल

यार्सागुम्बा टिपेर मनग्य आम्दानी गर्न पाटन पुगेका सर्वसाधरणहरू धमाधम फर्कन थालेपछि सुनसान बस्तीहरूमा चहल पहल बड्न थालेको छ। यार्सागुम्बाको खोजीमा गाउँ बस्ती नै शुन्य पारेर सर्वसाधारणहरू यार्सागुम्बा पाटन पुगेपछि  एक साता अघिसम्म गाउँ घरमा बुढापाखा बाहेक अरु कोही थिएनन्। यतिसम्मकी बिरामी पर्दा अस्पतालसम्म लैजाने मान्छे र अरु बेला प्रसस्तै पाइने कामदारहरू पनि पाइन छाडेको थियो। एकमहिने यार्सागुम्बा सिजन सकिएसँगै यार्सा संकलकहरू धमाधम फर्कन थालेपछि गाउँघर र स्थानीय बजारहरूमा चहल पहल बढेको हो। यार्सागुम्बा सिजन सुरु भएसँगै एक महिनादेखि शुन्य भएका दुनै, जुफाल, त्रिपुराकोट जिल्लाका मुख्य बजारहरूमा सर्वसाधारणको भीडभाड बाग्लो छ।

जिल्लाका मुख्य बजारहरूमा आर्थिक कारोवार समेत बढेको त्रिपुराकोटका व्यापारी हरिप्रसाद पन्थीले जानकारी दिए। अहिले स्थानीय व्यापारीहरूलाई सामान बेच्नै भ्याई नभ्याई छ। 'अघिल्ला महिनाहरू भन्दा झण्डै चालीस प्रतिशत कारोवार बढेको छ। एक दिनमा बीस पचास हजारसम्म कारोवार हुने गरेको छ,' पन्थीले भने।

प्रत्येक वर्ष जेठ पहिलो सातादेखि चल्ने यार्सागुम्बा संकलनका लागि डोल्पा लगायतका विभिन्न जिल्लाबाट बिसौ हजार सर्वसाधारण डोल्पा पुग्ने गर्दछन्। ज्यानको बाजी लाउँदै यार्सागुम्बा पाटन पुगेका सबैलाई कमाई गर्ने सौभाग्य प्राप्त भने हुँदैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.