|

जनकपुरधाम : महोत्तरीको एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेडमा प्रालिमा किसानहरूले तालाबन्दी गरेको मंगलबार एक महिना पुगेको छ। मिलले किसानहरूबाट उखु खरिद गरे बापतको भुक्तानी माग गर्दै किसानले गत बैशाख ६ गते तालाबन्दीको एक महिना पूरा भएको हो।

नेपालकै सबैभन्दा ठूलो चिनि उद्योगको रूपमा स्थापित रहेको एभरेष्ट सुगर मिलमा लागेको ताला खुलाउन मिल प्रशासनले अहिले सम्म कुनै चासो नलिएको र उनीहरू किसानसँग छलफल गर्नुको साटो सम्पर्क बाहिर बस्न थालेको किसानहरूको आरोप छ। चिनी मिलमा आ–आफ्नो उखु बिक्री गरी महिनौदेखि भुक्तानीको पर्खाइमा बसेका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहट, बारा र पर्साका २५ हजारभन्दा बढी उखु किसानहरूको भुक्तानी नदिएपछि मिल प्रशासनविरुद्ध आन्दोलित हुँदै आएका छन्।

हालसम्म किसानलाई झण्डै दुर्इ अर्ब रुपैयाँ नदिँदा उखु किसानहरू आन्दोलनमा उत्रन बाध्य हुँदै तालबन्दी गरेका हुन्। मिलले किसानसँग उखु किने बापतको दुर्इ अर्ब २२ करोड १५ लाख ६७ हजार ४०० रुपैयाँ भुक्तानी गर्नुपर्नेमा हालसम्म ४४ करोड १५ लाख ९४ हजार ६०९ रुपैयाँ मात्र भुक्तानी उपलब्ध गराउन सकेको छ।

गत पुस ६ गतेदेखि २९ गतेसम्मको सवा ४४ करोड रुपैयाँ उपलब्ध गराए पनि एक अर्ब ७७ करोड ९७ लाख ७२ हजार ६५७ रुपैयाँ भुक्तानी नदिएका कारण बाध्य भएर किसानहरूले मिलमा ताला लगाउनु परेको गौशाला नगरपालिका १ स्थित रामनगरका युवा किसान देव कुमार महतो बताउँछन्। उनले भने, 'ऋण काढेर उखु काट्ने कामदार र ढुवानीकर्तालाई पैसा दिनुपर्‍यो, अहिले मिलले उखुको भुक्तानी नदिँदा ब्याजले नै सात्तो लिने अवस्थामा पुगी सके।’

२०५३ सालमा स्थापना भएको सो उद्योगले चालु आर्थिक वर्ष २०७४/०७५ मा झण्डै ४३ लाख क्विन्टल उखु खरिद गरी प्रति क्विन्टल ९.०३ प्रतिशतका हिसावले चिनी उत्पादन गर्दै आएको छ। प्रतिक्विन्टल ५३१ रुपैयाँ २० पैसामा उखु खरिद गर्दै आएको चिनी मिलले यस वर्ष भारत र पाकिस्तान चिनी नेपाल आइसकेको र नेपालको चिनी विक्रि वितरणमा समस्या भएकोले हालसम्म किसानलाई भुक्तानी दिन नसकेको एभरेष्ट सुगर मिलका महाप्रबन्धक युगल किशोर चौरसियाले बताए। उनले भने, ‘विदेशी चिनि भित्रिएर नेपाली चिनि थन्कियो, अहिले चिनी सस्तो मूल्यमा बेच्ने कुरा पनि आएन, सबै चिनी गोदाममा नै थन्काएर राख्नपर्ने बाध्यता छ। त्यसैले चिनी विक्रि नभएसम्म कहाँबाट पैसा ल्याएर किसानलाई दिने?’

किसानले ऋण काढेर उखु खेती गरे पनि चिनी मिलले समयमा उखुको भुक्तानी दिन नसक्दा आफूहरू प्रत्येक वर्ष ऋणमा डुब्ने गरेको सोही स्थानका अर्को किसान हरिश्चन्द्र महतो बताउँछन्। नगदेबालीको रूपमा रहेको उखुखेती तर्फ किसान व्यवसायिक रूपले आवद्ध हुँदै आएकाले सो उद्योगबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा झण्डै ९० हजार किसान लाभान्वित हुँदै आएको छ। नेपाल सरकारको मन्त्रिपरिषद्बाट उखु मिलले किसानलाई प्रतिक्विन्टल ५३६ रुपैयाँ ४५ पैसाको रुपैयाँको दरले एक लटमा ५३१ रुपैयाँको दरले मात्र उपलब्ध गराएको थियो।

यता उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेश सिंहले मिलले आर्थिक वर्ष २०७४/०७५ मा उखु क्रसिङ सुरु गरेकै बेला नै पूर्ण भुक्तानी दिने भनिए पनि दुई किस्ता मार्फत २४ दिनको भुक्तानी उपलब्ध गराए पनि अन्य बाँकी तीन महिनाको भुक्तानी उपलब्ध गराउन नसकेको बताए। उनले भने, ‘समयमा भुक्तानी नदिँदा उखु किसानलाई जनमजदुर, ढुवानीका लागि ट्रयाक्टर, खाद्य मल, विषादीसमेतको भुक्तानी गर्न समस्या भएको छ।’

उखुलाई नगदेबालीका रूपमा चित्रण गरिए पनि केही वर्षयता उधारो बालीका रूपमा परिणत भएपछि हजारौं किसान निराश बनेको छ। ‘समयमा भुक्तानी पायो भने साहुबाट लिएको ऋण तिरेर दुई चार रुपियाँ हुन्थ्यो, चित्त बुझ्थ्यो’ उखु कृषक राजकिशोर महतो भन्छन्, ‘एक त साहुको व्याजको तिर्ने समस्या, अर्को तर्फ मिलले कहिले पैसा देला भन्ने चिन्ता सदैव लागि रहन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.