|

जुम्ला : मनाङ-मुस्ताङ-डोल्पा-जुम्ला राजमार्गको जुम्ला खण्डमा सुरु भएको निर्माण कार्य स्थगित भएको छ। जिरोप्वाइण्टमा बोहरागाउँका स्थानीयको विवादका कारण निर्माण सुरु गरिएको १० दिन बितिसक्दा पनि काम अगाडि बढ्न सकेको छैन्।

गाउँको बीचमा रहेको रत्नचुडेश्वर मावि माथिबाट कि मुनीबाट बाटो लैजाने भन्ने विषयमा दुर्इ पक्षको विवादका कारण काम रोकिएको इन्जिनियर श्रवण कुमार महतराले बताए। गाउँका दुवै पक्षले आ-आफ्नो क्षेत्रबाट सडक जानुपर्ने अडान राखेपछि निर्माण कार्य रोकिएको उनले जानकारी दिए। 

विवाद समाधानका लागि एक साता भन्दा बढी कुर्दासमेत सहमती न भएपछि सडक खन्न झिकाइएको स्काभेटर फिर्ता गरिसकेको जनाइएको छ। अब विवाद नभएको स्थानबाट सडक निर्माण कार्य थाल्ने तयारीमा रहेको इन्जिनियर महतराले बताए।

सडक विभागको बहुवर्षीय आयोजनाअन्तर्गतको यो राजमार्ग चन्दननाथ नगरपालिका-१० बोहरागाँउबाट सुरु भई मनाङ-मुस्ताङसम्म पुग्ने जनाइएको छ। स्वीकृत छ करोड बजेटमा घटिघटाउका आधारमा दुर्इ करोड ३० लाख रुपैयाँ बराबरको ठेक्का सम्झौता भएको भए पनि गुणस्तरीय निर्माणका आधारमा भुक्तानी हुने कार्यालयले जनाएको छ। जुम्ला बसपार्कसँगै जोडिएको निर्माणाधीन छिनासाँघु पुलबाट राजमार्गको सुरुवात हुने जनाइएको छ।

यो राजमार्गले जुम्लालाई पूर्वी नेपालसँग जोड्ने भएकोले निर्माणमा स्थानीयवासीको सहयोग हुनुपर्ने सरोकारवालाको भनाई छ। पहिलो चरणमा ट्रयाक खोल्नुका साथै सडक संरक्षण र स्तर उन्नतीका काम पनि क्रमैसँग गरिने सडक डिभिजन जुम्लाले जनाएको छ।

जुम्ला खण्डामा विवाद भए पनि मनाङ, मुस्ताङ र डोल्पा खण्डमा तीव्र गतिमा सडक निर्माण भइरहेको इन्जिनियर महतराले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.