|

सिन्धुली  : जनता आवास कार्यक्रमअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिकाको मुसहर बस्तीमा ६ वटा घर निर्माण गरिएको छ। आवासविहीन सिमान्तकृत, दलित र विपन्न मुस्लिम समुुदायलाई बसोवासका लागि आवास उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत दुधौली नगरपालिका ९ को मुसहर बस्तीमा यस आर्थिक वर्षमा उक्त घरहरू निर्माण गरिएको हो। 

जनता आवास कार्यक्रमअन्तर्गत मुसहरबस्तीका विल्टु सदा, सनिया मुसहर, रितलाल सदा, रमनी सदा, डब्कु सदा र रामबृद्ध सदाको घर निर्माण गरिएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ। जनता आवास कार्यक्रम समन्वयन समिति सिन्धुलीले दुधौली नगरपालिका ९ को मुसहरबस्ती, कमलामाई नगरपालिका १ डाडी गुराँसेका हायु बस्ती र साविक बाशेश्वर गाविसको सार्की दलित बस्तीमा कार्यक्रम संचालनका लागि अध्ययन, अवलोकन गरेको थियो। 

जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७३ का आधारमा समितिले अध्ययन, अवलोकन गरेका तीन स्थान मध्ये दुधौली नगरपालिका ९ को मुसहर बस्तीमा अधिकांश मुसहर, अति विपन्न, गाउँ बल्कमा बसोबास गरेका, फुसको छाना, माटा टाटीको घेरा बेरा र अव्यवस्थित बसोबास क्षेत्र भएकाले मुसहर बस्तीलाई छनोट गरी घरहरू निर्माण गरिएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सिन्धुलीका ईन्जिनियर दुर्गाप्रसाद घिमिरेले जानकारी दिए। 

दुधौली नगरपालिकाले सडक, खानेपानी र शौचालय व्यवस्थापन गर्ने, विपन्न परिवारको १० प्रतिशत श्रमदान र सरकारको ३ लाख ३२ हजार ५०० का दरले ६ वटा घर निर्माण गरिएको ईन्जिनियर घिमिरेले बताए। जनता आवासअन्तर्गत ५० वटा घरहरू निर्माणका लागि सिन्धुलीमा १ करोड २३ लाख रुपैयाँ बराबरको रकम सरकारले विनियोजन गरेको छ। यस आर्थिक वर्षमा निर्माण गरिएको ६ वटा घरबाहेक अझै ४४ वटा घरहरू निर्माण गर्न बाँकी रहेका छन्। बाँकी घरहरू आगामी आर्थिक वर्षमा निर्माण गरिने इन्जिनियर घिमिरेले बताए। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.